logo
२०८० चैत्र १५ बिहीवार



कोरोना उपचारमा बहुविधि उपयोगी

स्वास्थ्य |
मुख्य समाचार |


कोरोना उपचारमा बहुविधि उपयोगी


यलु जोशी

काठमाडौँ, जेठ ३१ गते । कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।
केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने बताउनुभयो । “आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट)सहितको आइसोलेसन सेन्टरमा रहेका सङ्क्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग सुरु गरेको जानकारी उहाँले दिनुभयो । विभिन्न रोग र जटिल अवस्थाका बिरामीलाई पनि १० दिनमा निको गर्न सफल भएको दाबी गर्दै डा. केसीले यो एकीकृत चिकित्सा प्रणाली कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी देखिएको पनि प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालमा भर्ना भएका सङ्क्रमितमध्ये करिब ९० प्रतिशत मध्यम र जटिल अवस्थाका थिए । सामान्य खालका बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत ज्येष्ठवासादि मिश्रण काँडा, सितोपलादी, गौदन्ती, महासुवर्ण चूर्ण मिश्रित औषधि तथा लक्षणअनुसार आयुर्वेदिक फर्मुला ‘एक’ र ‘दुई’ दिइएको थियो ।”
मध्यम र जटिल अवस्थाका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यकताअनुसार स्टेरोइड, रेम्डेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गरिएको पनि उहाँले जानकारी दिनुभयो । डा. केसीका अनुसार शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुक्खा खोकी लागेका बिरामीलाई कपिङ थेरापी उपयोगी देखिएको छ ।
आयुर्वेदिक चिकित्सकले पनि आयुर्वेद मात्र राम्रो वा एलोपेथिक चिकित्सकले पनि आधुनिक चिकित्सा मात्र राम्रो भन्ने भनाइ छोड्नुपर्ने उहाँको सुझाव छ । दैवव्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, सङ्कटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, सङ्गीत चिकित्सामा राग, भजन, वाद्यवादन गराएको पनि डा. केसीले जानकारी दिनुभयो । आधुनिक चिकित्साअन्तर्गत कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल अफिसरले बिरामीको स्वास्थ्य जाँच र सिफारिसअनुसारको उपचार गरिएको जानकारी उहाँले दिनुभयो ।
यसैगरी कोरोना सङ्क्रमितलाई दिइने औषधिमा असुरो, तालिसपत्र, पर्पटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटी अधिक मात्रामा हुन्छन् । यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्ध नाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तत्त्व रहेको कुरा वैज्ञानिक अनुसन्धानमै देखिएको डा. केसीले बताउनुभयो ।
कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ । आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रूपमा जनाइएको छ । काठमाडौँ महानगरको अनुदानमा नरदेवी आयुर्वेदिक अस्पतालमा एचडीयूसहित ५० शøयाको आइसोलेसन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?