logo
२०८० चैत्र १५ बिहीवार



देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास, दैनिक सातहजार शिलिण्डर भर्न सकिने

पढ्नै पर्ने |
मुख्य समाचार |


देशकै पहिलो लिक्विड अक्सिजन प्लान्ट शिलान्यास, दैनिक सातहजार शिलिण्डर भर्न सकिने
फाइल तस्बिर



काठमाडौं, जेठ ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल शिलान्यास गर्नुभएको प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

कोभिड–१९ महामारीको ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्री ओलीले बताउनुभयो । देशमा अक्सिजनको अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम  गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शैय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था ल्याएको पनि प्रधानमन्त्रीले बताउनुभएको छ । कोरोना महामारीको समयमा त्यसबाट पनि अक्सिजन आपूर्ति नपुग्ने देखिएकोले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने र छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढ्ने बताउनुभयो ।

रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्टबाट प्रतिदिन कुल ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट दैनिक सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

जिल्ला समाचारदाता लक्ष्मण पौडेलका अनुसार यो प्लान्ट निर्माण सम्पन्न भएपछि दैनिक सातहजार वटा ठूला सिलिण्डर अर्थात ६० टन अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन हुनेछ ।

जिल्लामा तीन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । ती उद्योगको दैनिक क्षमता ११ सय अक्सिजन सिलिण्डर भर्ने छ । भारतबाट केही दिनअघि लिक्विड ल्याएपछि क्षमता बढेर १४ सय पुगेको छ । पहिला दैनिक १७ सय सिलिण्डर खपत हुनेमा अहिले आठसय मात्रै छ ।
शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरी तीनवटा प्लान्टसँग दैनिक एक हजार १५० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता छ ।

तर विद्युत् आपूर्तिमा अवरोध र प्लान्ट बिग्रिनाले क्षमता अनुरूपको उत्पादन छैन । शंकर अक्सिजन ग्यासले भारतबाट लिक्विड अक्सिजनको ट्यांक आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको छ । उक्त प्लान्टले पछिल्लो एक सातामा मात्रै तीनवटा ट्यांकमा तीन हजार ५०० सिलिन्डर अक्सिजन आयात गरेको छ ।
ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी अक्सिजन इण्डष्ट्रिज प्रालिले दैनिक बढीमा तीनसय सिलिण्डर, तिलोत्तमा–१४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिले दैनिक २५० सिलिण्डर उत्पादन गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?