logo
२०८१ बैशाख १३ बिहीवार

घुमन्ते हात्ती (फोटो फिचर)

फोटो फिचर |
शनिवार |


2021-06-12-39526


गन्तव्यहीन यात्रामा निस्केका १५ वटा हात्तीको चर्चाले यतिखेर सामाजिक सञ्जाल तताएको छ । पाँच सय किलोमिटर पार गरिसकेका यी हात्तीले के खान्छन्, कहिले सुत्छन्, कहाँ जान्छन् भनेर ड्रोनद्वारा प्रहरीले निरीक्षण गरिरहेको छ । अनि ड्रोनले यसरी खिचेको भिडियो र फोटोचाहिँ सामाजिक सञ्जालमा लाखौँले हेरिरहेका छन् भनेर पनि सीएनएनले जनाएको छ ।
घटना चीनको दक्षिण–पूर्वमा रहेको युनान प्रान्तकोे हो । आफ्नो प्राकृतिक वासस्थान छाडेर १५ महिनाअघि नै यी हात्ती युनान राज्यको दक्षिण–पश्चिममा पर्ने मेन्याङ्जी क्षेत्रबाट यात्रामा निस्केका हुन् । हात्ती सहर–बजार र खेतबारीमा देखिन थालेपछि यसको निरीक्षण गर्न ड्रोन र २० टन हात्तीको खानासहित प्रहरीलाई खटाइएको थियो ।
गएको सोमबार चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले ड्रोनबाट खिचेको हात्तीको सो समूह सुतेको, पाखातिर हिँडेको भिडियो सार्वजनिक गरेको थियो । यो युनान प्रान्तको राजधानी कुनमिङनजिकैको एउटा जङ्गलको दृश्य थियो ।
नयाँ वासस्थानको खोजी गर्दै हात्तीको समूह जुन २ तारिखमा युनानको राजधानी कुनमिङनजिक पुगेका थिए । साउथ चाइना मर्निङ पोस्टका अनुसार हात्ती सहर पसेपछि तिनको यात्रा रोक्न र बाटो परिवर्तन गराउन कुनमिङ सरकार र यसको छिमेकी सहर युक्सीले आवश्यक तयारी गरेको थियो । कुनमिङ सरकारले एक सूचना जारी गर्दै स्थानीयलाई हात्तीबाट सुरक्षित बस्न र नजिस्क्याउन अनुरोध गरेको थियो ।
आफ्नो प्राकृतिक वासस्थान मेन्याङ्जी क्षेत्रबाट झन्डै १०० किलोमिटर पर पुगेपछि हात्तीको यात्राबारे सरकार र सर्वसाधारणले चाल पाएका थिए । यसरी हात्ती किन निस्किएका होलान् भनेर सरकार र सर्वसाधारणमा उत्सुकता छाएको थियो । तर, हात्तीले लामो समयसम्म आफ्नो यात्रा जारी नै राख्यो । यसबीचमा एउटा छावा जन्मियो भने दुईवटा हात्ती फर्किए । यात्राको थालनीमा भने १६ वटा हात्ती थिए । युक्सी सहरमा ४० दिन रहँदा हात्तीको समूहले सानातिना बिगार गर्नुका साथै ६० लाख वर्गफिटमा लगाइएको बालीमा क्षति पु¥यायो । यसबाट झन्डै १० लाख ६० हजार डलरबराबर आर्थिक क्षति पुगेको अनुमान छ ।
हात्तीको समूहले गरेको यात्रा र विध्वंशलाई ठट्टाको विषय बनाउँदै सामाजिक सञ्जालमा थरीथरीका धारणा पनि पोखिए । यसैक्रममा वीबो (सामाजिक सञ्जाल)मा एकजनाले लेखेका छन्– यी हात्ती कुनमिङमा हुने युएन जैविक विविधता सम्मेलनमा भाग लिन हिँडेका होलान् ।
अन्तर्राष्ट्रिय स्तरमै एसियाली हात्ती सङ्कटपूर्ण जनावरको सूचीमा छ । यसलाई चीनले पनि संरक्षणको पहिलो प्राथमिकतामा राखेको छ । चीनमा करिब तीन सयवटा जङ्गली हात्ती रहेका छन् । मुख्यगरी युनान प्रान्तको दक्षिणमा यी हात्ती रहेका छन् । पछिल्ला वर्षहरूमा चीनमा पनि जङ्गलबाट मानव वस्तीमा हात्ती पस्नेक्रम बढ्दो छ । यसले मानवीय तथा आर्थिक क्षति बढाइरहेको छ । संरक्षणविद्हरूका अनुसार हात्ती नयाँ वासस्थान खोजीमा एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् । यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्छ ।

शनिबार डेस्क