logo
२०८१ बैशाख १३ बिहीवार

   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग   



पौने दुई लाख बिरुवा रोपिए

मुख्य समाचार |


पौने दुई लाख बिरुवा रोपिए
फाईल तस्विर


देवबहादुर कुँवर

काठमाडौँ, जेठ २९ गते । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २० हजार रुख तथा बोट बिरुवाको शोधभर्ना स्वरूप ती बिरुवा रोपिएका हुन् ।
दु्रतमार्ग निर्माण गर्ने क्रममा काटिएको एक रुख/बिरुवाको सट्टा २५ बिरुवा रोप्ने सहमति वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग निर्माण परियोजनाबीच भएको थियो । द्रुतमार्ग परियोजना प्रमुख सहायक रथी विकास पोखरेलका अनुसार दुई वर्षको अवधिमा बिरुवा रोपणलाई व्यापकता दिइएको छ । दु्रतमार्ग निर्माणमा काटिएका रुखको शोधभर्नाबापत सरकारी तथा सामुदायिक वनको खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्नुपर्छ ।
बाराको कछडिया–नागमणि, लालगाउँ–जनहित, सहजनाथ–कोहल्वी र रामवन सामुदायिक वनको १६६.३७ हेक्टरमा रोपिएका कतिपय बिरुवा दुई मिटर अग्ला भइसकेका छन् । ती वनमा फलफूल जातिका १९ हजार र वन प्रजातिका एक लाख ५७ हजार पाँच सय बिरुवा रोपिएका छन् ।
द्रुतमार्ग निर्माणको जिरो प्वाइन्ट निजगढ बारा भएकाले वृक्षरोपणमा स्थानीय सामुदायिक वन विशेष प्राथमिकतामा परेका हुन् । आर्थिक वर्ष २०७७/७८ भित्र २०१ हेक्टरमा वृक्षरोपण गरिसक्ने लक्ष्य अनुरूप तीव्र गतिमा काम भइरहेको परियोजनाले जनाएको छ ।
“त्यहाँका नौवटा सामुदायिक वनको ३६८ हेक्टर खाली जमिनमा पाँच वर्षभित्र पाँच लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ । द्रुतमार्गलाई वातावरणमैत्री, हरियाली र आकर्षक बनाउन वृक्षरोपण अनिवार्य छ,” परियोजनाका प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले भन्नुभयो ।
रोपिएका बिरुवा संरक्षण तथा रेखदेख गर्न नियमित रूपमा १७ जना कर्मचारी खटाइएको छ । खयर, सिसौ, साल, इपिल, सिमल, जमुना, टिक, बर्रो, साज, रिठ्ठा तथा फलफूलहरूमा आँप, लिची, कटहरलगायतका बिरुवा, बेर्ना उत्पादन गरी वृक्षरोपण गर्ने गरेको जानकारी उहाँले दिनुभयो ।
द्रुतमार्ग निर्माणका लागि ३८ हजार ६६४ रुख कटानको छपान गरिए पनि २७ हजार मात्र काट्नुपर्ने अवस्था देखिएको थियो । तर परियोजनाले सो सङ्ख्या घटाएर २० हजार मात्र काटेको दाबी गरेको छ । काटिएका रुख तथा काठ व्यवस्थापनको जिम्मा स्थानीय सामुदायिक वनले लिएका छन् । परियोजनाले शोधभर्ना स्वरूप रोपिएका बिरुवा हुर्किएपछि त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सामुदायिक वनलाई दिने योजना छ ।
‘रुख रोपौँ, वन जोगाऔँ’ अभियानलाई सार्थक तुल्याउन नेपाली सेनाले प्रत्येक वर्ष वृक्षरोपण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सैनिक संरचना परिसरभित्र मात्र नभई सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी खाली जमिनमा वृक्षरोपण गर्दै आएको छ । आगामी आर्थिक वर्षभित्र तीन लाख बिरुवा रोप्न बेर्ना तयार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?