logo
२०८१ बैशाख ८ शनिवार

  राउटे युवतीहरू माथिको दुर्व्यबहार प्रकरण  



फिरन्ते समुदायको संवेदनशीलता नबुझ्दा राउटे असुरक्षित बन्दै

पढ्नै पर्ने |
प्रदेश |
समाज |


फिरन्ते समुदायको संवेदनशीलता नबुझ्दा राउटे असुरक्षित बन्दै


मुना हमाल
सुर्खेत, जेठ २४ गते । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुव्र्यवहार गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । भिडियो सामाजिक संजालमा बाहिरिएको केही समयपछि प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा उनीहरु छिटै पक्राउ परे ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन छन् । उनीहरु माथि जबरजस्ती करणीमा जाहेरी दर्ता भएको छ । यसरी राउटे समुदायलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर उनीहरु माथि यौनदुर्व्यवहार भएको हो । उक्त भिडियो हे¥यो भने युवाले उनीहरुलाई दुर्व्यवहार गरेको प्रस्ट देख्न सकिन्छ । यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय राउटे बस्तीमा अरु समुदायका मानिसको घुलमिल हुन थालेपछि बस्ती नै असुरक्षित छ ।

बाहिर सुमदायसँग घुलमिल नहुने राउटे समुदाय अहिले खुलेर सबैसँग घुलमिल हुन्छन् । समुदायमा पनि मान्छेहरु धेरै जान थालेका छन् । अहिले राउटे समुदाय गुर्भाकाट नगरपालिका वडा नं ११ आँपसोतीमा बस्दै आएका छन् । उक्त होटल र राउटे समुदाय दुरीका हिसाबले वारिपारि छ । करिब दश मिनेटमको बाटो छ । बिशेष गरेर भिडियो फोटो खिच्नेको राउटे बस्तीमा आउने र राउटे समुदाय पनि गाउँघरमा जाने बढ्दो छ । यसले झन जोखिम बढेको छ अधिकारकर्मी बताउँछन् । यो कारणले केही सेवा गर्ने इच्छाभन्दा पनि गलत दृष्टिले जाने व्यक्तिहरुबाट बढी जोखिममा पर्ने गरेको सरोकारवाला उनीहरु बताउँछन् ।

लामो समयदेखि राउटे समुदायको हकहितमा काम गर्दै आएकी राउटे लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले नराम्रो दृष्टिले जाने मान्छेले असुरक्षित रहेको बताउनुभयो । भाइरल बनाउने नाममा र उनीहरुलाई आर्र्थिक र मदिरको प्रलोभनमा पारेर दुर्व्यवहार गरेको उहाँको भनाई छ । ‘अब राउटे सुरक्षित रहेनन् । तर उहाँहरुलाई आफूलाई के भएको थाहा छैन’ उहाँले भन्नुभयो, जाँडरक्सी र आर्थिक लोभनमा पारेर उनीहरुलाई दुर्व्यवहार गर्ने काम भइरहेको छ । उनीहरुको मौलिकतालाई सिध्धाउने काम भको छ । ’ राउटे बस्तीमा सहयोग भन्दा पनि टिकटक, फोटो , भिडियो बनाउन जानेको भीड लाग्दा स्थानीय प्रशासन र प्रदेश सरकारलाई समेत पटक पटक ध्यानाकर्षण गराए पनि वेवास्ता भएको उहाँको गुनासो छ ।

महिला र बालबालिका जोखिम
राउटे समुदायमा सबैभन्दा बढी महिला तथा बालिका जोखिममा  छन् । शनिबारको घटनाले पनि यसको पुष्टी गर्छ । बस्ती नजिकै राउटे बस्ती भएकाले पनि बढी जोखिम छ । आवाज संस्थाको कार्यकारी निर्देशक एवंम अधिकारकर्मी पवित्रा शाहीले राउटे समुदायमा महिला र बाललिका झन असुरक्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय राउटे मदिराको लतम फसेका छन् । बस्ती नजिकै भएकाले केटाहरु पनि त्यहाँ गएर जाडरक्सी, चुरोट खाने गरेको पाइयो । राउटे समुदायलाई अझ प्रलोभनमा पार्ने गरेकोले उनीहरु सुरक्षित छैनन् ।’ भिडियो, फोटो भाइरल गराउने नाममा राउटे बस्तीमा जाँदा पनि यस्तो समस्या आएको हुन सक्ने उहाँको भनाई छ । उहाँले आवाज संस्थाको तर्फबाट पिडित युवतीको न्यायको लागि प्रहरीमा जाहेरी दिएको जानकारी दिनुभयो । उहाँले अब राउटे समुदायको सुरक्षामा सबैको ध्यान केन्द्रीत भएर छलफल गर्न आवश्यक रहेको उहाँले औल्याउँनुभयो । अहिले राउटे समुदायमा कसैलाई पनि जान दिइएको छैन् ।

युवतीहरुको ज्यान खतरामा
यौन दुव्र्यवहारमा परेका दुई जना युवतीहरुको ज्यान असुरक्षि छ । भिडियो भाइरल भए पछि र सबैतिर समाचार आए पछि राउटे समुदाय थाहा पाए उनीहरुको ज्यान खतरामा हुने सम्भावना बढी छ । राउटे समुदाय उक्त कुरालाई स्वीकार नगर्ने भएकाले उनीहरुलाई आफ्नै समुदायबाट कार्वाही हुने सम्भावना बढी छ । अहिलेसम्म राउटे समुदायले घटनाका बारेमा जानकारी पाएका छैनन् । सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले उनीहरु आफ्नै समुदायबाट असुरक्षित हुने भएकाले समुदायमा जानकारी नदिएर केश अघि बढाइएको जानकारी दिनुभयो ।

किन असुरक्षित हुँदै गए राउटे ?
जङ्गलमा फिरन्ते जीवन बिताउँदै आए राउँटे पहिले अन्य समुदायका मान्छेहरुसँग घुलमिल हुन्थेनन् । पैसा छोयो भने पाप लाग्छ भन्ने राउटे समुदाय काठका सामाग्री बनाएर अन्नसँग साटेर जीविको पार्जन गर्थे । तर जगलमा काठ काट्न नपाए पछि उनीहरुको पेशा संकटमा प¥यो । उनीहरुलाई प्रकृतिसँगै रम्न नदिएर सामाजीकरण गर्न थालियो । तर पछिल्लो समय उनीहरुले आफ्नाो पम्परागत पेशा सकटमा परे पछि मागेर र सरकारले भत्ता दिएपछि जीविकोपार्जन गर्दै आएका छन् । राउटे समुदायको परिवर्तनका लागि काम गरेका विभिन्न सङ्घसंस्थाले पनि उनीहरुलाई खाद्यनन्, पैसा सहयोग गर्दै आएका छन् । पहिले मदिरा नखाने राउटे मदिराको लतमा लागे । पैसा तथा अन्नपात माग्नका लागि गाउँ शहर पसे । उनीहरुले पैसा पाउन थालेपछि मदिरा खान थालेका छन् । जसले गर्दा आर्थिक प्रलोभनमा पर्दा उनीहरु असुरक्षित बन्दै गएका छन् ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौँ खर्च गरे पनि उनीहरुको संरक्षण भने हुन सकेको छैन् । झन राउटे समुदाय मदिराको लतमा फसेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकि तथा समाजिकशास्त्रका सहायक डिन तथा उपप्रध्यापक कमलेश डिसी आधुनिकका नाममा समाजमा देखिएका विकृतिको छाया राउटे समुदायमा पनि पर्न थालेको बताउनुहुन्छ । राउटे समुदायको परिवर्तनको नाममा गरिएका गतिविधिको असर समेत रहेको उहाँको भनाइ छ । जसले गर्दा राउटे समुदाय असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो । ‘राउटे समुदाय सामाजिक मूलधारमा आउन सकेका छैनन् ।

उनीहरुको संरक्षण र परिवर्तनको नाममा गरिएका असर उनीहरुको जीवनमा प¥यो’ उहाँले भन्नुभयो, ‘राउटेहरुलाई देखाएर भजाएर खान पल्केका केही समाजिक तत्वहले सरक्षण् र सहयोगको नाममा यस्ता व्यवहार गरेका छन् ।’ आफ्नै मौलिक परम्परामा बाँचिरहेका राउटे समुदायलाई विकृतिको छाँया परेको उहाँले बताउनुभयो । यसमा राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘राउटे समुदायको सुुरक्षा, प्राकृतिक बासस्थान र उनीहरुको संरक्षण गर्नु अहिलेको आवश्यकता हो । तर आधुनिक समाज र पराम्परागत समाजका समिश्रण हुँदा यस्तो असर देखिएको छ ।’ उनले युट्बुरमा समेत राउटे समुदायलाई देखाए अतिरञ्जित रुपमा ल्याउँदा पनि उनीहरुलाई असर परेको उहाँले बताउँनुभयो ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?