logo
२०८१ बैशाख ८ शनिवार



घरमै चिकित्सकीय सेवा

खुला |


घरमै चिकित्सकीय सेवा


यलु जोशी

काठमाडौँ, जेठ २३ गते । कोरोना सङ्क्रमणको दोस्रो लहर तथा निषेधाज्ञाका कारण अस्पतालमा सेवा लिन जान नसक्नेहरूका लागि अनलाइनबाटै परामर्श सुरु भएको छ । मेरो डाक्टर एपबाट चिकित्सकसँग सम्पर्क गर्न सकिने व्यवस्था छ ।
भिडियो कलबाट परामर्श दिनुका साथै रगत जाँच गर्न पनि घरमै आएको सो सेवा लिइरहनुभएकी बानेश्वरकी ६६ वर्षीया रमिला राजभण्डारीले जानकारी दिनुभयो । यो एपमार्फत सम्पूर्ण जानकारी सजिलै मोबाइलमा नै उपलब्ध हुने गरेको छ । भक्तपुरका अमन पुरीले पनि आफ्नी छोरीको उपचार गराउनुभयो । छालामा एलर्जी र ज्वरो आएकी छोरीको जाँच यही एपबाट उहाँले गराउनुभयो । कुनै समस्या परे अनलाइनबाटै परामर्श हुनुका साथै औषधि पनि घरमै ल्याइदिने गरेको उहाँले बताउनुभयो ।
मेरो डाक्टर एपका प्रबन्ध निर्देशक छत्र कार्कीले भन्नुभयो, “कतिपय दीर्घरोगीको औषधि किन्न जान नसकेर औषधि सेवन छुटिरहेको छ भने कतिपय सामान्य बिरामी पनि उपचार नगरी घरमै बस्न बाध्य छन् ।” यस्तो समस्या समाधानकै लागि घरबाटै स्वास्थ्य जाँच गराउन मिल्ने गरी मेरो डाक्टर एप बनाएको उहाँले बताउनुभयो ।
मेरो डाक्टरमा देशभरका सयौँ विशेषज्ञ चिकित्सकले इन्टरनेटद्वारा भिडियो परामर्शमार्फत बिरामीको स्वास्थ्य जाँच गर्ने गरेको उहाँले प्रस्ट पार्नुभयो । मेरो डाक्टरबाट बिरामीले आफ्नै घरबाट वा नजिकैको क्लिनिक वा फार्मेसीमा गएर आफूले चाहेको विशेषज्ञ डाक्टरसँग समय लिएर भिडियो परामर्श गरेर स्वास्थ्य जाँच गर्न सकिने कार्कीले जानकारी दिनुभयो ।
यसैगरी ल्याब रिपोर्ट र औषधि प्रयोग गर्ने विवरण सजिलै प्राप्त गर्न पनि सकिन्छ । अहिले अस्पताल तथा क्लिनिकले बिरामीको घरमै पुगेर सेवा दिइरहेका छन् भने ल्याब तथा फार्मेसीले घरमै पुगेर सामान्य परीक्षणदेखि औषधिसम्म पु-याउँदै आएका जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रो डाक्टर अनलाइनमार्फत तीन सयभन्दा बढी विशेषज्ञ चिकित्सकले सेवा दिइरहनुभएको छ ।”
कार्कीका अनुसार हाल छ जना मेडिकल अफिसर र १८ जना नर्सले २४ घण्टा सेवा प्रदान गरिरहनुभएको छ, जुन अहिलेलाई निःशुल्क गरिएको छ । योसँगै कोरोना सङ्क्रमित बिरामीलाई पनि चिकित्सकको सल्लाहबमोजिम औषधि घरमै पु-याउनुका साथै निगरानी गर्ने काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
नेपाल मेडकी सञ्चालक सुप्रिया शाक्यले पनि घरघरमै पुगेर औषधि पु-याउँदै ल्याबसम्बन्धी सम्पूर्ण परीक्षण गर्दै आउनुभएको छ । गत वर्षको बन्दाबन्दीको समयदेखि ग्राहकलाई घरसम्म पुगेर स्वास्थ्य सुविधा दिँदै आएको नेपाल मेडले डेलिभरी चार्ज पनि निःशुल्क गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
शाक्यले भन्नुभयो, “सु्रुमा हामीलाई बजार लिन गाह्रो भए पनि गुणस्तरीय औषधि तोकिएकै बजार मूल्यमा, डेलिभरी शुल्कबिना सहजै उपलब्ध गराउन थालेपछि बिस्तारै हामीलाई ग्राहकले विश्वास गर्न थाल्नुभयो । अहिले ग्राहकले विश्वास गरेर औषधि मगाउने क्रम पनि बढेको छ ।” नेपाल मेडले स्वास्थ्य सेवा घरमै पुगेर दिँदा पीपीई, मास्क, पञ्जा र सेनिटाइजर लगाएर सामान घरघरै पु¥याउँदै आएको छ ।
यसैगरी मानसिक स्वास्थ्य सेवा अनलाइनमार्फत दिने उद्देश्यका साथ ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ले सो कार्य गरिरहेका छन् । ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने गरिन्छ । ह्याप्पी माइन्डस्का प्रबन्ध निर्देशक श्रेया गिरीले कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको जानकारी दिँदै नेपालमा पनि यो अवस्था निकै गम्भीर रूपमा देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यही समस्याको न्यूनीकरण र निराकरणको उद्देश्यका साथ मनोचिकित्सकको समूहमा सेवा दिन सुरु गरेका हाँै ।” उहाँका अनुसार आफ्नो सेवा अनलाइन माध्यमबाटै गोपनीयताका साथ जुम र अनलाइनको सहायताले विशेषज्ञहरूमार्फत सञ्चालन गरिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?