logo
२०८१ बैशाख ७ शुक्रवार



गाउँगाउँमा जोखिम न्यूनीकरण जरुरी

मुख्य समाचार |


गाउँगाउँमा जोखिम न्यूनीकरण जरुरी


सरोज ढुङ्गेल

काठमाडौँ, जेठ ९ गते । दोस्रो लहरको कोरोना (कोभिड–१९) सङ्क्रमणबाट गाउँसमेत असुरक्षित बनेको छ । सुरुको महामारीमा सहरी क्षेत्रमा सङ्क्रमण फैलिए पनि गाउँ सुरक्षित थियो तर दोस्रो लहरको सङ्क्रमणमा गाउँ असुरक्षित बनेको छ ।
कोरोना महामारीमा काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि गाउँ फर्किएका धेरै मानिसबाट कोरोना गाउँगाउँमा पुगेको छ । गाउँमा भौतिक दूरी र मास्कको प्रयोग न्यून छ । यसले गर्दा गाउँ बिस्तारै असुरक्षित हुँदैछ ।
ओखलढुङ्गाको लिखु गाउँपालिका, सत्लुङमा लक्षण देखिएका २० जनाको पीसीआर परीक्षण गर्दा १८ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमध्ये काठमाडौँबाट गाउँ गएका र गाउँमै रहेका व्यक्ति छन् । गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेलले सङ्क्रमितमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
लिखु गाउँपालिका–६ मा १० जनाको पीसीआर गरिएकोमा आठ जनालाई कोरोना पुष्टि भएको छ । उहाँले गाउँमा ज्वरो आउने, खोकी लाग्ने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या भएका धेरै मानिस रहेको बताउनुभयो  । केही दिनअघि रामेछापको मन्थलीमा गरिएको परीक्षणमा ३० जनामध्ये २७ जनालाई कोरोना पुष्टि भएको थियो ।
लिखु गाउँपालिका–६, ७ र ८ मा एक/एक जना गरी तीन जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । गाउँपालिका उपाध्यक्ष ढुङ्गेलले भन्नुभयो, “अहिले सहरमा भन्दा पनि गाउँको अवस्था भयावह छ । कोरोना लक्षण नदेखिएको कुनै घर छैन ।” उहाँले सहरबाट आएकाहरू टोलटोलमा घुम्ने, जुवातास खेल्ने, मदिरा सेवन गर्ने, कुखुरा, खसी काटेर मोजमस्ती गर्ने गरेकै कारण गाउँ कोरोना भाइरसले भयावह स्थितिमा पुगेको बताउनुभयो ।
सहरबाट आएकाहरूलाई नघुम्नुहोस् भनेर आग्रह गर्दा आफूहरूलाई लक्षण नभएको र बल्लबल्ल आएको गाउँ किन नघुम्नु भन्ने जवाफ दिने गरेको उहाँले सुनाउनुभयो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव उपाध्यायले निषेधाज्ञा कडाइ नहँुदा गाउँमा समस्या देखिएको बताउँदै अहिले पनि गाउँमा मानिस निर्धक्क गइरहेकाले कोरोना सङ्क्रमण फैलन मद्दत पुगेको बताउनुभयो । निषेधाज्ञा सुरु भएको २५ दिन हँुदा पनि सङ्क्रमणमा कमी नआउनु मानिसको लापरबाही र सरकारको कमजोरी हो भन्दै उहाँले निषेधाज्ञा कडाइ नहँुदा सङ्क्रमण फैलने मौका पाएको बताउनुभयो  ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सहरबाट गाउँ जाने मानिसलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने बताउनुभयो ।
“अब गाउँमा पनि जटिल अवस्था आउनसक्ने सम्भावना छ,” उहाँले भन्नुभयो, “गाउँपालिका वा वडाले कम्तीमा १० दिन क्वारेन्टाइनमा राखेर लक्षण भएका व्यक्तिको पीसीआर परीक्षण गराउनुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?