logo
२०८० चैत्र १५ बिहीवार



दैनिक ध्यानले स्वास्थ्यलाई फाइदा

स्वास्थ्य |
खुला |


दैनिक ध्यानले स्वास्थ्यलाई फाइदा


यलु जोशी

काठमाडौँ, जेठ ८ गते । तपाईंहरू ध्यान गर्नुहुन्छ ? गर्नु हुन्छ भने कसरी ? सबैजसोको एउटै भनाइ हुन्छ, पलँेटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर कमैलाई थाहा होला । यसरी गरिने ध्यानलाई चक्रमण ध्यान भनिन्छ । पलेँटी कसेर ध्यान गर्न नसक्नेहरूलाई हिँडेरै गरिने चक्रमण ध्यान उपयोगी हुने योग गुरुहरूको भनाइ छ ।
आजभन्दा २५ सय वर्षअघि नै गौतम बुद्धले सुरु गर्नुभएको यो ध्यान विधिबारे रजनीश ओशोले आफ्नो पुस्तक ‘गहरे पानी पैठ’मा चर्चा गर्नुभएको छ । पहिले बौद्ध भिक्षु वा आनीले मात्रै गर्ने यो ध्यान अचेल गैर बौद्धधर्मावलम्बीहरूले पनि गर्न थालेका छन् । चापागाउँस्थित योग केन्द्रका गुरु सागरमान श्रेष्ठका अनुसार यो चक्रमण ध्यान अहिले धेरैले गर्ने गरेको जानकारी दिनुभयो । योग गर्ने समयमा धेरैलाई पलेँटी कसेर गर्न गाह्रो हुन्छ तर ध्यानपूर्वक हिँडेर गरिने चक्रमण ध्यान त्यस्तो व्यक्तिलाई उपयोगी हुने उहाँको भनाइ छ ।
गौतम बुद्धले ‘धर्मचक्र प्रवर्तन सूत्र देशना’मा यसको विधि बताएपछि उहाँका अनुयायीले यो विधि पछ्याउन थालेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चक्रमण ध्यान गोलो गरेर हिँडेर वा सीधा हिँडेर दुवै तरिकाबाट गर्न सकिन्छ । “यो ध्यान गर्दा आफ्नो ध्यान खुट्टामा केन्द्रित गर्नुपर्छ, मेरुदण्ड र टाउको सीधा राख्नुपर्छ, तलमाथि नभई आफूभन्दा चार फिट अगाडि हेर्नुपर्छ, पेटमा वा पछाडि देब्रे हत्केलामाथि दाहिने हत्केला राखेर विस्तारै हिँड्नुपर्छ,” गुरु श्रेष्ठले भन्नुभयो ।
उहाँले यो ध्यान गरेपछि स्मरणशक्ति बढ्नुका साथै शारीरिक रूपमा फाइदा गर्ने भएकाले मानिस यसतर्फ आकर्षित भएको जानकारी दिनुभयो । जसरी जीवन स्वस्थ राख्न स्वच्छ पानी, हावाको आवश्यकता पर्छ त्यसरी नै मनलाई स्वच्छ राख्न ध्यानको आवश्यकता पर्ने गुरु श्रेष्ठको अनुभव छ । उहाँले भन्नुभयो, “दिनमा एक घण्टा ध्यान गरौँ, सकिँदैन भने बिहान बेलुका १५ मिनेट भए पनि गर्नुपर्छ । यसले मनका साथै शरीरलाई पनि फाइदा गर्छ । ”
योग गुरुआमा बिना आचार्यले चक्रमण ध्यान आफूले पनि सिकाएको जानकारी दिँदै यसमा तीन तरिकाबाट हिँड्न सकिने बताउनुभयो । उहाँका अनुसार पहिलो तरिकामा विस्तारै एकपछि अर्को गर्दै गोडा अगाडि बढाउने, दोस्रोमा एक पटकमा एउटा खुट्टा मात्रै सक्रिय हुन्छ । जस्तै एउटा खुट्टा उचालेर अगाडि बढुन्जेल अर्को खुट्टा स्थिर राखिन्छ । तेस्रो विधिमा भने खुट्टा उचाल्दा, खुट्टा अगाडि सर्दा र खुट्टा भुइँमा छोएको गरी तीन अवस्थामा होस पु¥याउनुपर्छ । सुरुमा यो ध्यान गर्दा खुट्टा झम्झमाउने, निदाउने, दुख्ने हुन्छ । तर त्यो सहेर ध्यान गर्नुपर्ने उहाँले बताउनुभयो ।
आयुर्वेदका कविराज हेमकुमारी सुवेदीले ध्यानले जुनसुकै रोगलाई पनि फाइदा गर्ने जानकारी दिँदै भन्नुभयो, “चक्रमण ध्यानले रगत प्रवाह बढाउँछ । लामो समय बसिरहने मानिसले चक्रमण ध्यान अपनाउँदा राम्रो हुन्छ । किनकि लामो समय बसिरहँदा मानिसको शरीरमा रगत प्रवाह कम हुन सक्छ । यो ध्यान गरेमा शरीरमा रगत प्रवाह बढाउन मद्दत गर्छ । ” उहाँले थप्नुभयो– “हिँडेपछि पाचन प्रक्रियामा सुधार हुन्छ, खाना खाइसकेपछि हिँड्यो भने यसले खानालाई पचाउन मद्दत गर्छ । चिन्ता कम हुन्छ र रगतमा चिनीको मात्रा सन्तुलन गर्छ । ”
सन् २०१६ मा गरिएको एक अध्ययनमा चक्रमण ध्यान गर्ने मानिसको रगतमा चिनीको मात्रा सन्तुलन भएको देखिएको हेल्थलाइनको एक रिपोर्टमा उल्लेख छ । परम्परागत हिँड्ने र चक्रमण ध्यान गरी हिँड्नेहरूबीच गरिएको उक्त अध्ययनमा चक्रमण ध्यान गरी हिँड्नेहरूको रगतमा चिनीको
मात्रा सन्तुलन भएको देखिएको हो । सो अध्ययनका अनुसार वृद्धहरूमा देखिएको डिप्रेसनको सामान्य लक्षण पनि यो चक्रमण ध्यान गरेपछि हटेको उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?