logo
२०८१ बैशाख १३ बिहीवार



शिवकलीलाई पुत्री लाभ, सुत्केरीलाई १३ दिनसम्म ज्वानाे राखेको खीर

पढ्नै पर्ने |
प्रदेश |


शिवकलीलाई पुत्री लाभ, सुत्केरीलाई १३ दिनसम्म ज्वानाे राखेको खीर


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, जेठ ४ गते । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा शिवकली हात्तीले पाँचौ बच्चाको रुपमा छोरी जन्माएकी छन् । नेपालमा प्रजातन्त्र आएको बेला २०४६ सालमा जन्मिएकी शिवकलीको यो एउटा मात्र छोरी हो भने अरु सबै छोरा रहेको जानकारी बर्दिया राष्ट्रिय निकुञ्जले दिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार शिवकलीले गर्भधारण गरेको २२ महिनामा छावाको जन्म दिएकी छन् । यसको सबैभन्दा जेठो छोरा गणेशगज बाँके राष्ट्रिय निकुञ्जमा छ ।
शिवकलीसँग अढाई वर्षको छोरा चञ्चलगज पनि साथमै  छ । हालसम्म पनि उसले आमाको दूध खाइरहेको हुँदा अब नयाँ बच्चाको स्याहार गर्न आमा शिवकलीलाई अलि गाह्रो हुने भएको छ ।
आज जन्मिएको बच्चाको तौल र उचाई सामान्य  छ । बच्चा र आमाको स्वास्थ्य अवस्था पनि ठिक रहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
कर्मचारीको अभाव, स्याहार व्यवस्थापनमा समस्या
बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी छ । एउटा हात्तीको स्याहारका लागि तीन जना कर्मचारी रहने गर्छन् । अहिले बच्चासहित १३ वटा हात्ती हात्तिसारमा छन् ।
अघिल्लो महिना गैँडा गणनाका बेला हात्ती माउते पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएपछि झन समस्या भइरहेको छ । १० वटा हात्तीको लागि भएको जनशक्तिले १३ वटा हात्तीको स्याहार सुसार गर्दा व्यवस्थापनमा अलि गाह्रो भइरहेको  प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।
पहिले हात्तीको अवस्था हेरेर निकुञ्जले नै स्याहारसुसारका लागि कर्मचारी राख्ने पाउने व्यवस्था थियो । अहिले लोकसेवा आयोगबाट दरबन्दी स्वीकृत गराउनुपर्ने भएकाले निकुञ्जमा तत्काल भइपरी आउने समस्या र दरबन्दी स्वीकृतिको समय नमिल्दा असहज हुने गरेको उहाँले बताउनुभयो ।
बच्चा जन्मिएपछि सुत्केरी शिवकली र छावाको स्याहारका लागि तीन जना कर्मचारी खटाइसकिएको छ । जङ्गली हात्तीको संसर्गबाट जन्मिएकोले यो छावाको बाउ को हो भन्ने एकिन गर्न निकुञ्ज प्रशासनलाई गाह्रो भएको छ ।
बच्चा कम्तीमा १३ दिनसम्म आमाको दूधको भरमा बाँच्ने भएकाले आमालाई खीर, उखु लगायतका पौष्टिक आहार दिइने भएको छ । आमालाई खीरमा ज्वानु, मेथी, कालो तिल, दाल राखेर खुवाइन्छ । यो क्रम कम्तीमा दुई हप्तासम्म चल्ने गर्छ ।
छावालाई १२ दिनसम्म आमासँगै सानो डोरीले बाँधेर राखिन्छ । जब छावा अलि हिँडडुल तथा खेल्न सक्ने भएपछि डोरी खोलेर छाड्ने गरिन्छ ।
यो छावालाई न्वारानपछि हिँड्ने, खेल्ने लगायतका कुराको तालिम दिइनेछ भने शिवकलीको अढाई वर्षको अर्को बच्चालाई अरु हात्तीसँग जङ्गलतिर चर्न पठाउने, डुलाउने योजना हात्तीसारले बनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?