logo
२०८० चैत्र १६ शुक्रवार



संरक्षित वन्यजन्तु गौरी गाईको गणना सुरु,२२ वटा हात्ती प्रयोग 

पढ्नै पर्ने |
खुला |


संरक्षित वन्यजन्तु गौरी गाईको गणना सुरु,२२ वटा हात्ती प्रयोग 


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, बैशाख २९ गते । नेपालको संरक्षित प्रजातिमा रहेको जङ्गली गाई ( गौरी गाई ) को बुधवारबाट चितवन राष्ट्रिय निकुञ्जमा गणना सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षपछि यो प्रजातिको गणना गर्न थालेको हो । यस अघि सन् २०१६ मा गौरी गाईको गणना गरिएको थियो । गौरी गाई चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । सन् १९५० का दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरी गाई पछिल्ला दिनमा देखिन छाडेका छन् ।
सन् २०१६ मा गरिएको गणनामा चितवनमा ३६८ वटा र पर्सामा १०५ वटा गौरी गाई रेकर्ड गरिएका थिए भने सन् २०११ को गणनामा ३१२ वटा गौरी गाई रेकर्ड भएका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गौरी गाईको प्रमुख बासस्थान मानिएको त्रिवेणी क्षेत्र, चुरे तथा टाइगर टप्स क्षेत्रमा २२ वटा हात्तीको प्रयोग गरि गणना गरिन थालिएको छ ।
विशेष गरी सुख्खा भागमा बस्न रुचाउने गौरी गाईको सरदर आयु २० देखि ३० वर्ष हुने गरेको छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाँही बाघको आहार पनि पर्ने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले बताउनुभयो ।

नेपालमा सरकारले यो गाई सहित केही प्रजातिका वन्यजन्तु संरक्षितको सूचीमा राखेर संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उच्च हिमाली क्षेत्रका कस्तुरीमृग र हिउँ चितुवा, पहाडी भेगको ध्वाँसे चितुवा र तराईमा पाइने बाघ, हात्ती, गैँडा र गौरी गाई संरक्षित प्रजातिका वन्यजन्तु हुन् ।
गौरी गाई नेपाल लगायत चीन, भारत, भूटान, बर्मा, थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया र मलेसियामा मात्र अस्तित्वमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?