logo
२०८१ बैशाख १३ बिहीवार

दृश्यावलाेकनका लागि उत्कृष्ट झाँक्रीपानी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-05-10-37176


अमृतप्रसाद पौडेल
बेनी, वैशाख २७ गते । चारैतिर लहरै देखिने हिमशृङ्खला हेर्नका लागि मानव बस्तीभन्दा माथि रहेको अग्लो जमिन छ । त्यो मानिसले बनाएको होइन प्राकृतिले नै आफैं निर्माण गरिदिएको हो । त्यसैमा केही समथर जमिनमा मानिसले मात्र भ्युटावर निर्माण गरेका छन् । त्यही भ्यु–टावरमा चढेर हेर्ने हो भने मङ्गला गाउँपालिकाको साथै बेनी नगरपालिकाका पनि धेरै ग्रामिण भेक अनि धौलागिरी अन्नपूर्णलगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
जिल्ला सदरमुकाम बेनीबाट नजिकै पर्ने मनोरम दृश्यावलोकन गर्न मिल्ने गज्जबको ठाउँ यो हो, बराङ्जाको झाँक्रीपानी । बराङ्जा गाउँभन्दा माथि पर्दछ झाँक्रीपानी । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–३, नम्बर वडामा पर्ने बराङ्जाको झाँक्रीपानी क्षेत्र पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल स्थल हो ।
झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्ने गर्दथे । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र रोजाइमा परेको झाँक्रीपानीमा बरङ्जामा विभिन्न कार्यक्रम लगेर जानेहरु पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । झाँक्रीपानीबाट म्याग्दीको ग्रामीण सौन्दर्यको अवलोकन, मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र भेषभूषाको अध्ययन गर्न पाइन्छ ।
परापूर्वकालमा झाँक्रीले त्यस स्थानमा पानी निकालेको भएर झाँक्रीपानी नाम रहन गएको किम्बदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले बताउनुभयो । उहाँले झाँक्रीपानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरु हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको बताउनुभएको छ । उहाँले दिएको जानकारीअनुसार झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, मनास्लु, माछापुच्छ्रे लगायत दर्जनौं हिमालहरुको अवलोकन गर्न सकिन्छ ।
झाँक्रीपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै जान थालेपछि वडा कार्यालय र मंगला गाउँपालिकाले पर्यटकलाई लक्षित गरेर भ्यु–टावर निर्माण गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारबाट १० लाख, गाउँपालिकाको पाँचलाख ५० हजार, वडा कार्यालयको एकलाख ५० हजार तथा स्थानीय श्रमदान तीनलाख ६६ हजार सातसय ५० गरी कुल २० लाख ६६ हजार सातसय ५० रुपैयाँको लागतमा भ्यु–टावर बनाइएको गाउँपालिकाले जनाएको छ । झाँक्रीपानीमा दृश्य नियाल्नका लागि भ्यु–टावर निर्माण गरेपछि अहिले पर्यटकको आगमनमा वृद्धि भएको स्थानीयले बताएका छन् ।
समुद्री सतहदेखि झण्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्रीपानी छ । इलामबाट म्याग्दीको भ्रमण गर्न आएकी आन्तरिक पर्यटक टीका उप्रेतीले बराङ्जाको झाँक्रीपानी क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव बताउँदै झाँक्रीपानी पर्यटन प्रवर्धनका लागि उपयुक्त स्थल रहेको बताउनुभएको छ । उहाँले गाउँमा पर्यटन प्रवर्धन गर्न सकेमा स्थानीयको जीविकोपार्जनमा समेत सुधार आउने बतानुभयो ।
झाँक्रीपानी गाउँ नजिकै ऐतिहासिक चिनाकोट दरबार पनि छ । झाँक्रीपानीदेखि आधा घण्टाको दूरीमा रहेको उक्त दरबारबाट पनि मनोरम हिमश्रृङ्खलासहितको दृश्यावलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकामा बराङ्जाको झाँक्रीपानी, चिनाकोट, कुहुँको टोड्के, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीय स्थलहरु छन् । पर्यटकीय स्थलको प्रचारप्रसार तथा विकासमा जोड दिइएको मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।