logo
२०८१ बैशाख ८ शनिवार



पेट्रोलियम पदार्थ : बिक्री ४० प्रतिशतले घट्यो

अर्थ |


पेट्रोलियम पदार्थ : बिक्री ४० प्रतिशतले घट्यो


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । काठमाडौँ उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी साधन ठप्प प्रायः भएपछि पेट्रोलियम पदार्थको बिक्री घटेको हो ।
नेपाल आयल निगमका अनुसार वैशाख २० गते २७० किलोलिटर पेट्रोल बिक्री भएको छ । सामान्य अवस्थामा झन्डै छ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको थियो । त्यस्तै करिब एक हजार किलोलिटर डिजेल बिक्री हुँदै आएकामा निषेधाज्ञापछि दैनिक ५१९ किलोलिटर बिक्री भएको थियो । निषेधाज्ञा हुने जिल्लाहरू बढ्दै गएको र कोरोनाको प्रभाव बढिरहेकाले पेट्रोलियम पदार्थको बिक्री वितरण घट्दै जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।
हवाई यातायात पनि सञ्चालन नगरिएपछि हवाई इन्धनको समेत माग घट्ने छ । जिल्लाहरूमा पनि डिजेल पेट्रोलको बिक्री वितरणमा कमी आएको छ तर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको निगमले जनाएको छ । प्रवक्ता उपाध्याय भन्नुहुन्छ, “भारतमा कोरोनाको प्रभाव निकै छ, नेपालमा पनि बढिरहेको छ तर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ । हामी पूर्ण भण्डारणमा पनि छौँ । ”
कोरोना महामारीको प्रभाव बढ्दै गएकाले निगमले पछिल्लो पटक मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनबाट वैशाख १८ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ तर हाललाई मूल्य यथावत् राखिएको र घाटा भइरहेको निगमले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?