logo
२०८१ बैशाख १३ बिहीवार

घोरेपानीमा ढकमक्क गुराँस, पर्यटक पुगेनन् (फोटो फिचर)

प्रदेश |
फोटो फिचर |


2021-05-03-36698


अमृतप्रसाद पौडेल
बेनी, वैशाख २० गते । अन्नपूर्ण फेरो अन्तरगत पर्ने घोडेपानी तथा पुनहिल क्षेत्रको वन जङ्गलमा अहिले राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेर रौनक छाएको छ । हिमाली जिल्ला म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित घोरेपानी क्षेत्रमा यतिबेला लालिगुराँसका विभिन्न प्रजाति फुलेको हो ।
समुन्द्री सतहदेखि दुई हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेको छ । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोडेपानी क्षेत्रमा भने विभिन्न आठ प्रजातिका गुराँसहरु फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । नेपालको राष्ट्रिय फूल लालीगुराँससहित म्याग्दी जिल्लाको वनजङ्गल क्षेत्रमा १० प्रकारका गुराँस पाइने डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीका वनमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी भनेर घोडेपानी र पुनहिल क्षेत्रको वनजङ्गल क्षेत्रलाई चिनिन्छ । अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल र राम्चेमा गुराँसले ठूलो क्षेत्र ओगटेको छ । लालीगुराँसको फूलले ग्रामीण क्षेत्रको सौन्दर्य त बढाउँछ नै त्यस माथि यो मौसम पदयात्राका लागि पनि उत्कृष्ट समय भएकाले गुराँसले पर्यटकहरुलाई समेत लोभ्याउने स्थानीयवासिन्दा सुरेन गुरुङको भनाइ छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत अन्नपूर्ण–७, फुलबारीमा गुराँस पार्क निर्माणका लागि ११ लाख ६० हजार लागतमा काम भैरहेको निमित्त प्रमुख खनालले बताउनुहुन्छ । उक्त क्षेत्रमा गुराँस पार्कको स्थापना गरी नेपालमा पाइने ३१ ओटै प्रजातिका गुराँसहरु रोप्ने तयारी गरिएको उहाँले बताउनुभयो । गुराँस पार्क स्थापना गर्न विनियोजित बजेटबाट आवश्यक काम भैरहेको छ । गुराँस पार्क निर्माण गर्नुको उद्देश्य लालीगुराँसको संरक्षण र प्रवर्भन गर्ने तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षिक गर्ने रहेको प्रदेश सरकारसहित वन कार्यालयको योजना छ ।
घोडेपानी र पुनहिल क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु आकर्षित भएका छन् । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै फोटो र भिडियो खिच्न पर्यटक पुग्छन् । वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमिमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि पर्यटकहरूको आकर्षण बढ्छ । घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणका साथै लालीगुरासँसित टाँसिएर फोटो खिच्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको ईलामबाट घोडेपानीको भ्रमणमा निस्किएकी टिका उप्रतीले अनुभव छ ।
अन्नपूर्ण राउण्ड अन्तर्गत पर्ने घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गर्नका लागि हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको नयाँपुल–घान्द्रुक–पुनहिल–घोडेपानी, म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर–शिख–घोडेपानी तथा मुस्ताङबाट म्याग्दी निस्किएर भूरुङ–तातोपानी–घार–शिख हुँदै जाने गर्दछन् । बेलुका घोडेपानी पुगेर बास बसेका पर्यटकहरु बिहान सबेरै उठेर पुनहिल जान्छन् । म्याग्दी भित्रिने पर्यटकहरु अधिकांश घोडेपानी र पुनहिल भ्रमणमा जाने गरेको अन्नपुर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनको भनाइ छ ।