logo
२०८१ बैशाख १२ बुधवार

अक्सिजन उत्पादन पर्याप्त, हजारौँ सिलिण्डर व्यक्ति र आयोजनामा 'होल्ड'

पढ्नै पर्ने |
राष्ट्रिय |
फोटो फिचर |


2021-05-01-36598


केदार तिमल्सिना
बनेपा, बैशाख १८ गते । काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योति ग्यासेस प्रालिका हजारौँ अक्सिजन सिलिण्डर विभिन्न आयोजना तथा सर्वसाधारणहरुको घरमा होल्ड भएर बसेका छन् । अक्सिजनका सिलिण्डर होल्ड भएर बसेपछि कोरोना सङ्क्रमित बिरामीहरुको लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन नसकिने हो कि भन्ने चिन्ता  बढेको छ ।
दैनिक रुपमा उत्पादन हुने अक्सिजन भर्ने सिलिण्डर कम्पनीमा नआईपुग्दा बिरामीको लागि आवश्यक पर्ने अक्सिजन समयमा नै उपलब्ध गराउन नसकिने सम्भावना समेत बढेको छ ।
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले देशभर अक्सिजन सिलिण्डर अभाव देखिएको बताउनुभयो । उहाँले अक्सिजन लिएर गएका डिलर, अस्पतालहरुले समयमा नै खाली सिलिण्डर फिर्ता नगरेका कारण सिलिण्डर अभाव देखिएको र ग्यास भर्न समस्या देखिएको बताउनुभयो ।
‘हामी अक्सिजनमा लगभग आत्मनिर्भरको अवस्थामा पुगेका थियौँ, महामारी नआउँदा अक्सिजनको मार्केट भएका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेका थिए, सङ्कट आएपछि आत्तिएर मात्रै समस्याको समाधान हुँदैन’ तिमल्सिनाले थप्नुभयो । उहाँले अक्सिजन उत्पादन गर्ने एभरेष्ट ग्यास र आइएमई ग्यास उद्योग पूर्ण रुपमा बन्द भएको बताउनुभयो । उहाँले अक्सिजन बेच्ने डिलर, अस्पताल तथा विभिन्न आयोजना र व्यक्तिहरुमा सिलिण्डर होल्ड भएर बसेको बताउनुभयो ।
नवज्योति ग्यासेस प्रालिका प्रबन्धक पद्मेशकुमार सुल्तानियाले कम्पनीसँग करिब १५ हजार अक्सिजन सिलिण्डर भएपनि अधिकाँश सिलिण्डर विभिन्न आयोजना र सर्वसाधारणहरुसँग होल्ड भएर बसेको बताउनुभयो । ‘कुनै अस्पतालमा एक सयदेखि पाँच सय सिलिण्डर अक्सिजन होल्ड भएर बसेको छ, मेलम्ची खानेपानी आयोजनामा एक सय दश, विभिन्न व्यक्ति तथा हाइड्रोपावरमा गरी हजारौँ सिलिण्डर होल्ड भएर बसेका कारण माग अनुसारको अक्सिजन भर्न सकेका छैनौँ’ सुल्तानियाले थप्नुभयो । उहाँले कम्पनीमा रहेका अक्सिजन सिलिण्डरमध्ये करिब दुई हजार व्यक्तिले धरौटी राखेर सिलिण्डर लगेको बताउँदै ५० प्रतिशतभन्दा बढी खाली सिलिण्डर बिना काम घरघरमा होल्ड भएर बसेको बताउनुभयो ।
‘चालु आर्थिक वर्षमा हामीले चार हजार नयाँ सिलिण्डर आयात गरेका थियौँ, कति अस्पताल, हाइड्रोपावर र व्यक्तिको घरमा छन्, अहिले कम्पनीमा करिब एक हजार जति मात्रै अक्सिजन सिलिण्डर रनिङ भइरहेका छन्’ प्रबन्धक सुल्तानियाले बताउनुभयो । उहाँले कम्पनीले एक हजार अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको भएपनि ती सिलिण्डर आउन दुई÷तीन महिना लाग्ने बताउनुभयो । उहाँले पहिला सरकारले ध्यान नदिएको कारण कम्पनीले सिमित मात्रै काम गरेको बताउँदै सरकारले समयमा नै ध्यान दिएको भए अक्सिजनको समस्या नह्ुने बताउनुभयो ।
कम्पनीमा आवश्यक पर्ने बिजुली र अक्सिजन भर्नको लागि आवश्यक पर्ने सिलिण्डर भएको खण्डमा कम्पनीबाट दैनिक करिब एक हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । सुल्तानियाले कम्पनीमा आवश्यक पर्ने बिजुली, विभिन्न आयोजनामा होल्ड भएर बसेका सिलिण्डर छिटोभन्दा छिटो उपलब्ध गराउनका लागि खानोपनी मन्त्रालय तथा विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरेपनि त्यो काम पुरा हुन नसकेको गुनासो गर्नुभयो । उहाँले करिब दुई दर्जन अस्पताल तथा मेडिकललगायतका स्वास्थ्य संस्था र व्यक्तिहरुमा गरी करिब दश हजार सिलिण्डर र विभिन्न हाइड्रोपावर तथा आयोजनामा करिब चार हजार सिलिण्डर होल्ड भएर बसेको बताउनुभयो ।
कोरोना सङ्क्रमणको दोस्रो चरण सुरु भएपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहितको एक टोलीले मङ्गलबार पनौती नगरपालिका–५ मा रहेको नवज्योति ग्यासेस प्रालिको अनुगमन गरेको थियो । प्रजिअ पोखरेलले अनुगमनका क्रममा उद्योगले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकिने बताएपनि सिलिण्डरको अभाव देखिएको बताउनुभयो । प्रजिअ पोखरेल नेतृत्वको अनुगमन टोलीले डाक्टरको सिफारिस बिना व्यक्तिगत रुपमा घरमा अक्सिजन राख्नेलाई नदिन तथा कुनैपनि कम्पनीको सिलिण्डर भर्न आएको खण्डमा भरेर पठाउन निर्देशन समेत दिएको थियो ।
नेपाल अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव तिमल्सिनाका अनुसार देशभरमा चालु अवस्थामा २० वटा अक्सिजन उद्योग सञ्चालनमा  छन् । उहाँले देशभर दैनिक सानो, ठुलो गरि करिब १२ हजार सिलिण्डर अक्सिजन उत्पादन हुने बताउनुभयो । उहाँले सरकार र स्थानीय प्रशासनले होल्ड भएर बसेका खाली सिलिण्डर फर्काउनका लागि द्रुत गतिमा (एक्सनमा) काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘सिलिण्डर भएर मात्रै समस्याको समाधान हुँदैन, सिलिण्डर भर्न समय लाग्छ, चार महिना अघि सरकारले हामीलाई सिलिण्डर व्यवस्था गरिदिएको भए अहिलेको अवस्था धेरै सहज हुने थियो’ उहाँले थप्नुभयो । उहाँले महामारीको यो अवस्थामा सरकारले सरोकारवाला सबै पक्षसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो ।

तस्बिर : सुजन गुरूङ