logo
२०८१ बैशाख ६ बिहीवार

  जापानबाट फर्केका युवाको योजना  



जङ्गल बनेको जमिनमा कृषि फार्म, गाउँ नछाडौं, शहर जोडौं अभियान

पढ्नै पर्ने |
प्रदेश |


जङ्गल बनेको जमिनमा कृषि फार्म, गाउँ नछाडौं, शहर जोडौं अभियान


भोटराज राई
उदयपुर, वैशाख ४ गते । जङ्गलको बीचमा एउटा आकर्षक घर निर्माण गरिएकाे छ । काठ र च्यादरले बनेको आधुनिकउक्त घरलाई जो कोही सवारी साधन रोकेर केहीबेर हेर्ने गर्छन् ।
उदयपुरको छिमेकी जल्ला खोटाङको बाराहा पोखरी गाउँपालिका वडा नं. २ सुन्तलेको हर्रेचुङ डाँडामा एउटा जंगलबीचमा यस्तो घर निर्मित छ । उदयपुरको सदरमुकाम गाईघाटदेखि धाप्लाङ हुदै डेड÷दुई घण्टामै पुगिने उक्त ठाउँ अहिले सबैको चासोको केन्द्र बनेको छ ।
जङ्गलबीचको उक्त घर जापानबाट फर्किआएका स्थानीययुवा मुकेश राईले निर्माण गर्नुभएको हो । गाउँघरमै केही गर्ने इच्छाशक्ति भएका राईले लामाे समय बाँजो रहदा जंगलमा परिणत भएको नम्बरी जग्गालाई जङ्गलकै अवस्थामा सदुपयोग गर्नेगरी कृषि फर्म थाल्नु भएको छ । होमस्टे सञ्चालन समेतको भावी योजना बनाएका राईले कालिज, माछापालन र अर्गानिक कृषि उत्पादनको लक्ष लिनुभएको छ ।
“गाउँ नछाडौं, सहर जोडौं” भन्ने नाराका साथ उहाँले गाउँको अर्गानिक उत्पादन शहरमा पठाउने र सहरका मानिसहरुलाई वास्तविक नेपाली जीवनको अनुभूति दिलाउन भ्रमणमा गाउँबोलाउने योजना छ ।
पछिल्लो समय युवामा वैदेशिक रोजगारमा जाने, दुईचार पैसा कमाई भएपछि शहर बसाइँ झर्ने प्रबृत्ति बढेपछि गाउँघरका जमिन बाँझो हुने गरेको छ । गाउँ रित्तिदै जाँदा नेपाली अर्गानिक उत्पादन र नेपाली मौलिकता हराउँदै गएको छ । यही कुरालाई बुझेका राईले गाउँमै राम्रो सम्भावना देखेर उदाहरणीय काम थाल्नुभएको हो । उहाँले जङ्गल एकीकृत कृषिफर्म दर्ता गर्नुभएको छ ।
जापान गएपछि समय र श्रमको महत्व बुझेका राईले त्यतिको मिहिनेत आफ्नै ठाउँमा गर्नसके दुईचार पैसाका लागि देश छाडेर जानु नपर्ने बताउनुभयो । “त्यतिका श्रम र मिहिनेत गर्ने हो भने विदेशभन्दा बढी कमाइ यहीँ गर्न सकिन्छ, त्यो पनि अाफ्नै गाउँघर र परिवारसंग बसेर” उहाँले भन्नुभयो ।
नेपाली युवालाई सबैभन्दा पूँजीको समस्या रहेको र आफुले जापानमा काम गरेर केही पूँजीजम्मा गरेपछि नेपालमै ब्यवसाय गरेर सेवासंगै कमाई गर्न सम्भव रहेको उहाँको भनाइ छ । गाउँमा सडक, विजुली, संचार पुगिसकेको अहिलेको अवस्थामा गाउँमै ब्यवसाय, कृषिकर्म गरेर सफल हुन उहाँ लागिपर्नु भएको छ । भोलिका दिनमा ब्यवसायमा नाफा कमाउन नसके पनि यहाँबाट पाएको अर्गानिक खाना, अर्गानिक जीवनशैली र गाउँको समाजसेवाबाट आत्मसन्तुष्टि भने पक्कै मिल्ने राई बताउनुहुन्छ ।
“पैसा मात्र कमाउने उद्देश्यभन्दा पनि गाउँप्रतिको मोह जगाउने, अर्गानिक अभियान र जन्मे हुर्केको ठाउँको सेवाले प्रेरित भएर काम थालेको हुँ ।” उहाँले भन्नुभयो “त्यसैले भोलिका दिनमा नाफा नभ एपनि गुनासो रहने छैन ।”
हाल घर निर्माण गरिसकेका राईले छिट्टै पोखराबाट कालिज ल्याएर पालन थाल्ने बताउनुभयो । कालिजका लागि घर वरिपरि तारले घेराबेरा गर्ने र फराकिलो ढङ्गले जङ्गलमै चरिचरण गराउने, गाउँको अर्गानिक कोदो, धान, मकै मात्र खुवाउने योजना छ । मानिसलाई एक, दुई दिनसम्म पारिवारिकरुपले बसेर समय कटाउन, प्रकृतिको अवलोकन गर्न र आनन्द लिन, अर्गानिक खानामा रमाउन, जङ्गलयात्रा, पैदलयात्रा गरेर रमाउने ठाउँ बनाउने उहाँको योजना  छ ।
राईको गाउँप्रतिको मोह र सिर्जनशिल योजनालाई गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले प्रशंसा गर्नुभएको छ । उहाँले पालिकाको तर्फबाट पनि सहयोग रहने बताउनुभयो । “गाउँमै केही गर्छु भनेर थालिएको यो काम सराहनीय छ ।” अध्यक्ष बन्जराले भन्नुभयो “ यस्ता युवालाई सहयोग गर्नु मेरो कर्तब्य पनि हो ।”
राईको काम अनुकरणीय रहेको नेपाल पत्रकार महासङ्घ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङले बताउनुभयो । प्रारम्भिक अवस्थाको अवलोकन पछि चामलिङले भन्नुभयो “मुकेशको यो भिजनले गाउँको समृद्धिमा ठूलो टेवा पुग्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?