logo
२०८१ बैशाख ८ शनिवार

जब जंगलको राजा चिडियाखाना भित्र पस्यो...(फाेटाे फिचरसहित)

राष्ट्रिय |
फोटो फिचर |


2021-04-06-35051
तस्बिर: सुजन गुरूङ्ग


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, चैत २४ गते । करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा राज गरेको पाटे बाघ मंगलबार ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानाभित्र पसेको छ ।
ब्रिटिस इण्डिया सरकारले राणा प्रधानमन्त्री जंगबहादुर राणालाई फिर्ता दिएको नयाँ मुलुकभित्रको बर्दिया जिल्लाको घना जंगल राणाकालीन जंगल हो । त्यो चारकोसे सालको जंगलमा करिब १० वर्ष अघि जन्म लिएको यो पाटे बाघले गत आइतवार हात्तीको माउते पुलिसराम थारुलाई आक्रमण गरेपछि यसलाई नियन्त्रणमा लिइएको थियो ।
बर्दियाको घना जंगलमा यो बा सहित कम्तीमा ८५ वटा बाघ रहको अनुमान गरिएको छ । यो बाघसँगै पाँच वटा बाघ समस्याग्रस्त भएपछि नियन्त्रणमा लिइएको छ भने एउटा बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको छ ।
आइतवार साँझ यो बाघको आक्रमणमा परेका पुलिसराम थारुको तत्काल निधन भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले डार्ट गरी नियन्त्रणमा लिएको थियो । यो बाघले यही चैत ३ गते एउटी महिलालाई पनि आक्रमण गर्दा उहाँको निधन भएको थियो । दुई जनाको ज्यान लिएको यो बाघको व्यवस्थापन नगर्दा झन समस्या आउन सक्ने भएकाले नियन्त्रणमा लिएर चिडियाखानामा राख्नु पर्ने बाध्यता भएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।
मंगलबार बिहाना बर्दियाबाट ल्याइएको बाघलाई चिडियाखानमा राख्ने क्रममा मन्त्री आलेले मानव वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका सबै उपायहरु फिल्डस्तरमा अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले निकुञ्ज भित्रका समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर चिडियाखानामा व्यवस्थापन गर्दै समस्याग्रस्त बाघबाट पर्यटकीय गतिविधिमा सघाउन पुर्याउन सकिने धारणा राख्नुभयो ।
बाघ पस्दाको दृश्य
सोमवार रातभरि ट्रकभित्र केजमा राखेर बर्दियाबाट काठमाडौँ ल्याइपुर्याइएको बाघलाई चिडियाखानामा एक घण्टा जति आराम गर्न दिइएको थियो । एकदमै थकित मुद्रामा देखिएको पाटे बाघ राखिएको केजको ढोका जब कोषका प्राविधिक कर्मचारीले खोले, कम्तीमा पाँच मिनेट जति बाघले टाउकोमात्र बाहिर निकालेर चिडियाखानाको वातावरण नियाल्यो । एक पटक निकै जोरसँग डुक्रियो अनि बल्ल केजबाट पाइला बाहिर निकाल्यो । बाघ राख्न बनाइएको कोठाको भुइँ सुँघ्दै बिस्तारै पाइला चालेको बाघले जंगलभन्दा अर्कै ठाउँमा आएको महसुस गरिरहेको जस्तो देखिन्थ्यो ।
पक्की सानो कोठाको सबै वातावरण नियाल्दै बिस्तारै झ्यालतिर निस्केको बाघ निकै आक्रामक देखिन्थ्यो । पाइला पाइलामा निकै जोरसँग कराएको बाघलाई आधा घण्टाको अवधिमा कम्तीमा पाँच ÷ छ पटक झ्यालमा राखिएका फलामका डण्डीमा दाँतले टोक्न खोज्यो । अनि बाहिर रहेका प्राविधिकहरुले झ्यालमा कालो कपडा झुण्ड्याइदिएपछि शान्त भएको खोरमा जंगलका राजा पाटे बाघ सुत्यो ।
सदर चिडियानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलका अनुसार बाघको तौल कम्तीमा १६० किलो रहेको अनुमान गरिएको छ । यो बाघलाई अब चिडिखानामा राखिएका अरु बाघ जस्तै आहारविहारको व्यवस्थापन गरिनेछ ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र राती डार्ट गर्न सफल भएको टोलीमा प्रमुख भूमिका खेल्नुभएका डार्ट प्राविधिक फिरुलाल थारुका अनुसार यो बाघ अरु बाघभन्दा निकै बलियो र जोस भएको छ । बर्दियामा योसहित पाँच वटा बाघ डार्ट गरेर नियन्त्रणमा लिइसकिएको छ । थारु सबै बाघ डार्ट गर्ने समूहका संलग्न हुँदै आउनुभएको छ ।

तस्बिर सुजन गुरूङ्/केशब गुरूङ्