logo
२०८१ बैशाख ८ शनिवार



ग्यारेजले बदलिएको जीवन

फिचर |
पढ्नै पर्ने |


ग्यारेजले बदलिएको जीवन
सांकेतिक तस्बिर


विराटनगर, फागुन २१ गते । मोटरसाइकल ग्यारेज सञ्चालन गरेर मनग्य धन आर्जन गर्ने विराटनगरमा प्रशस्त देखिन थालेका छन् । ग्यारेज सञ्चालनका लागि पर्याप्त अध्ययन नपर्ने र चार/पाँच महिना तालिम लिइसकेपछि ग्यारेज सञ्चालन गर्न कुनै समस्या नभएकाले यस काममा लाग्नेको भनाइ छ ।

शुरुमा प्रशिक्षार्थीलाई बिना पारिश्रमिक काममा लगाउने र काम सिकिसकेपछि पारिश्रमिक पनि दिने गरेको विराटनगरको रोडशेष चोकमा सञ्चालित युनिक मोटरसाइकल ग्यारेजका सञ्चालक तनवीर हुसेनले जानकारी दिनुभयो । उहाँले ‘विगतमा साझेदारीमा काम गर्दा व्यवसाय राम्रै चले पनि पैसा हातमा हुँदैन्थ्यो तर अहिले आफैंले काम सिक्नका लागि तनवीरलाई कम्पनीले कोलकता पठायो । त्यहाँबाट उहाँले काममा दक्षता हासिल गरेर कम्पनीमै काम शुरु गर्नुभयो तर कामअनुसारको दाम नदिएपछि, कम्पनी छाडेर आफ्नै ग्यारेज स्थापना गर्नुभयो ।

विदेशको तातो घाममा काम गर्नुको सट्टा स्वदेशमा नै काम गर्नाले मनग्य आम्दानी गर्नुका साथै घर निर्माण गरी परिवारका सदस्यलाई उचित पालनपोषण र छोराछोरीलाई स्तरीय शिक्षा प्रदान गर्न सकिने विराटनगरस्थित मोटरसाइकल मर्मत केन्द्रका अरु सञ्चालकको भनाइ छ । उहाँहरूका अनुसार काम कुनै पनि ठूलो, सानो हुँदैन र यसलाई जीवनमा उतार्न सक्नुप-यो अनिमात्र त्यसबाट लाभ लिन सकिने ग्यारेज सञ्चालकको भनाइ छ । केही औजार र सटर भाडामा लिई सञ्चालन हुने यो व्यवसायमा लाग्नेको सबै सामान मोटर पार्टस् पसलेले उलब्ध गराउँछ । यस्ता पार्टस्बाट पनि उहाँहरूले राम्रै कमिसन पाउने गरेको विराटनगर भट्टीचोकस्थितका कमल मोटरपार्टस् सञ्चालकले जानकारी दिनुभयो । ग्यारेजवालाले एक महिनासम्म उधारोमा सामान लैजान्छ र पछि एकमुष्ट पैसा बुझाउन आउँदा कमिसन पनि पाउने गरेको बताइएको छ ।

विराटनगर महानगरपालिका–११ बसपार्क छेउमा मोटरसाइकल र स्कुटर मर्मत केन्द्रका नवीन पौदार भन्नुहुन्छ, “बिहानदेखि बेलुकासम्म काम गर्दा कम्तीमा रु पाँच हजार दैनिक कमाउँछु । यसबाट मेरो परिवार राम्रोसँग चलेको छ ।” उहाँले विदेशमा लाखौँ खर्च गरेर तातो घाममा काम गर्नुका सट्टा स्वदेशमै यस्ता व्यवसाय गरेर आम्दानी पनि हुने र ऋण पनि नलाग्ने उहाँको भनाइ छ ।

उहाँले विगतमा आफूलाई पनि यो सीपबारे केही जानकारी थिएन, पछि मैले एउटा ग्यारेजमा निःशुल्क काम गरेर र सीप सिकेर यो ग्यारेज खोल्दा म पनि मालिक भएको छु र अन्य युवालाई पनि यो सीप सिक्न हौसला प्रदान गरिरहेको जानकारी दिनुभयो । यो व्यवसायमा कहिले पनि घाटा हुँदैन, सधैँ नै आम्दानी यो व्यवसाय पछिल्लो समयमा निकै चल्नुको कारण मोटरसाइकल चढ्ने सौखिन एवं उपभोक्ता बढ्नु नै हो पोदारको भनाइ छ ।

आफ्नो दक्षतासँगै ग्यारेज खोल्दा यसमा निकै रमाइलो भइरहेको उहाँको अनुभव छ । पोदारका अनुसार इञ्जिन खोल्दा मात्र गहिरिएर काम गर्नुपर्ने नभए सामान्य ढङ्गले यो पेशा चलेको छ । इञ्जिन खोल्दा मोटरसाइकलअनुसार रु पाँच हजारदेखि १५ हजारसम्म खर्च हुने र सामान्य सर्भिस गर्दा रु ५०० मात्र लिन गरेको मेकानिक पोदारको भनाइ छ । विराटनगरमै लगभग १०० जति ग्यारेज छन् । सबै उत्तिकै चलेका छन् । कोही पनि हात बाँधेर बस्नुपर्ने अवस्था छैन । धेरै वर्ष पहिले मोटरसाइकलवालाले इञ्जिन बनाउन भारत विहारको फारबिसगञ्ज जान्थे तर अहिले हाम्रै देशमा प्रशस्त ग्यारेज भएकाले कसैले पनि देश बाहिर गएर मोटरसाइकल बनाउनुपर्ने अवस्था छैन । सीप सिकेर काम गरेमा कसैले पनि भोकै बस्नु नपर्ने ग्यारेजवाला विराटनगरका लागि उदाहरण बनेका छन् ।

यस्तै वडा नं १२ मा शर्मा रिपेयरिङ सेन्टर सञ्चालक विवेक शर्माले रु पाँच लाख खर्च गरेर ग्यारेज सञ्चालन गर्नुभएको छ । “यो व्यवसायमा कहिले पनि फुर्सद हुँदैन र आम्दानी पनि राम्रै हुने गरेको छ”, उहाँले भन्नुभयो । शर्माले आफ्नो ग्यारेजमा अन्य दुईलाई समेत रोजगार दिँदै आउनुभएको छ । यो व्यवसायमा पुरुष मात्र देखिएका छन्, महिला देखिएका छैनन् । महिला पनि यो सीप सिकेर काम गर्यो भने सुनमा सुगन्ध हुने विवेक शर्माको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?