logo
२०८० चैत्र १५ बिहीवार

कोरला नाकामा पूर्वाधार बनाउन स्थलगत अध्ययन सम्पन्न (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |


2021-03-04-33086


अमृतप्रसाद पौडेल
बेनी, फागुन २० गते । मुस्ताङको चीन सँगको सीमानामा कोरला भन्सार लगायत पूर्वाधार निमार्णका लागि प्रारम्भिक अध्ययन कार्य सकिएको छ । सितारा कन्सल्ट प्रालिले प्रारम्भिक अध्ययन सकेको भए पनि रिपोर्ट आउन भने केही समय लाग्नेछ ।
भौतिक पूर्वाधार निर्माणका लागि कोरला नाकाको अध्ययन गर्नका लागि नेपाल सरकार सँगको सम्झौता अनुरुप सितारा कन्सल्ट प्रालिको टोलीले पछिल्लो तीन दिन मुस्ताङको कोरला नाकामै बसेर प्राविधिक पक्ष अध्ययन पछि फर्केको छ ।
सितारा कन्सल्ट प्रालिका निर्देशक इञ्जिनियर टीका कोइरालाका अनुसार नेपाल सरकारसँग तीन महिनाभन्दा पहिला सम्झौता भएको भए पनि मुस्ताङमा हुने चिसो र हिमपातले गर्दा सम्बन्धीत स्थानमा पुगेर काम गर्न कठिन भएकोले अहिले मात्रै पुगिएको हो । इन्जिनियर कोइराला सहितको टोलीले आइतबार कोरला नाका पुगेर तीन दिन सोही क्षेत्रको अध्ययनपछि बिहीबार मुस्ताङ सदरमुकाम जोमसोम फर्किएको छ ।
निर्देशक कोइरालाले भन्नुभयो –‘सम्झौता पहिला नै भएको थियो र हामीले अफिसियल काम काठमाडौंमै गरेका थियौं, मौषममा अहिले सहज भएपछि नापजाँच, भौगोलिक अवस्था अध्ययन, सडक पूर्वाधार लगायतको स्थानीय बस्तुस्थिति हेरियो ।’ स्थलगत अध्ययन सकेर फर्केको टोलीले जमिनको अवस्था, वातावरणको अवस्था के कस्तो छ, आर्थिक अनि टेक्निकल रुपमा सम्भव छ छैन भन्ने बारेमा नापजाँच गरेर फर्केको निर्देशक कोइरालाले बताउनुभयो ।
कोरला नाकाको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन तथा सर्वेको जिम्मा सितारा कन्सल्ट प्रालिले लिएको मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो । गौचनका अनुसार सरकारले टेन्डर मार्फत् सम्भाब्यता अध्ययनको जिम्मा सितारा कन्सल्ट प्रालिलाई दिएको थियो । ’कोरला नाकामा भौतिक संरचना निर्माणका लागि प्रारम्भिक अध्ययन सकेर टोलीले कोरला नाकाको भूगोल र जग्गाको अध्ययन गरेको र त्यसैको आधारमा डिपिआर निर्माण हुने सांसद गौचनले बताउनुभयो ।
इन्जिनियर कोइरालाले कोरलाले प्रारम्भिक सम्भाब्यता अध्ययन तथा सर्वे गर्ने कार्य सकेर आफूहरु फर्केको बताउनुभयो । उहाँले भन्नुभयो –‘कोरला नाकामा समग्र भूगोल र जगाको अध्ययन गरियो र काठमाडौँ फर्किएपछि त्यसका आधारमा विस्तृत प्ररियोजना प्रतिबेदन तयार हुनेछ ।’
नेपालका लागि निकै उत्कृष्ट मानिएको चीन सँगको सीमाक्षेत्र कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुख्खा बन्दरगाह लगायत भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको भए पनि नेपाल तर्फबाट भने हुन सकेको थिएन । चीनतर्फ पूर्वाधार निर्माण हुँदै गर्दा नेपालतर्फ कुनै काम राम्रोसँग अघि बढेको थिएन । चीनले २०७४ सालदेखि कोरला नाका क्षेत्रको आफ्नो भूगोलमा सरचना निर्माण सुरु गरेको थियो ।
गत २०७२ मा नेपालको संविधान जारी भएपछि भारतीय पक्षले नाकाबन्दी गरे पश्चात चर्चामा रहेको मुस्ताङ, उत्तरी कोरला नाकामा सरकारले खाली जग्गा भन्सारको स्वामित्वमा लिन जग्गा प्राप्ति प्रक्रिया अघि बढाएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समितिले नेपाल चीन सीमास्तम्भको २४ नम्बर पिल्लरको सडक दायाँबायाँ एक हजार रोपनी जग्गा नापी गरी प्राप्त गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताउनुभयो ।
प्रजिअ पौडेलका अनुसार उत्तरी कोरला नाकाको २४ नम्बर सीमास्तभको नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्ड छोडेर भन्सार, क्वारेन्टाइन, सुरक्षा पोस्ट सुख्वा बन्दरगाह अटाउन सक्ने जमिनको लालपूर्जा करिब दुई वर्ष अगाडि बनेको छ ।
यस्तै कोरला नाका सञ्चालन गर्ने दीर्घकालीन योजना अनुसार सरकारले २०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना सुरु गरेको मुस्ताङका प्रतिनिधिसभा सांसद प्रेम तुलाचनले बताउनुभयो । आयोजनाका अनुसार बेनी–जोमसोम तथा जोमसोम–कोरला सडक खण्डमा सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको सांसद तुलाचनले बताउनुभयो ।