logo
२०८० चैत्र १५ बिहीवार



सर्लाहीमा सशस्त्र प्रहरीको दुईवटा बीओपी थपियो

प्रदेश |


सर्लाहीमा सशस्त्र प्रहरीको दुईवटा बीओपी थपियो


जनार्जन खत्री
सर्लाही, फागुन १९ गते । सर्लाहीमा वुधवार एकैदिन सशस्त्र प्रहरीको दुईवटा बोर्डर आउट पोष्ट (बीओपी) थप भएको छ । विष्णु गाउँपालिका–१, बाराउद्योरण र सदरमुकाम मलङ्गवा नगरपालिका–९, टावर चौकमा बीओपी थप गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो । दुवै ठाउँका बीओपीको प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख (डीआईजी) चन्द्रप्रकाश गौतमले उद्घाटन गर्नुभएको हो ।
बाराउद्योरणको बीओपीका लागि विष्णु गाउँपालिका कार्यालयले तीन कठ्ठा पाँचधुर जग्गा उपलब्ध गराएको छ । देशको सीमा रक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई गाउँपालिकाले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताउनुभयो ।
बाराउद्योरणको बीओपीलाई तत्कालका लागि वडा कार्यालयको निर्माणाधीन भवनमा राखिएको र केही महिनाभित्रै गाउँपालिकाले उपलब्ध गराएको जग्गामा आफ्नै भवन बनाएर सारिने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभएको छ । सदरमुकाम मलङ्गवामा भने यसअघि टावर चौकमा रहेको क्याम्पलाई नै बीओपीमा रुपान्तरण गरिएको हो ।
दुवै ठाउँको बीओपीको उद्घाटन गर्दैै सशस्त्र प्रहरीको प्रदेश २ प्रमुख डीआईजी गौतमले सीमाको रक्षा र चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीलाई सहयोग गर्न स्थानीयसँग आग्रह गर्नुभयो । बुधबार एकैसाथ बाराउद्योरण र मलङ्गवामा बीओपी थपिएपछि सर्लाहीमा बीओपीको सङ्ख्या ११ पुगेको छ ।
यसअघि गएको कात्तिक ६ गते एकैदिन जिल्लाको गोडैता नगरपालिका–३, बहादुरपुर, मलङ्गवा नगरपालिका–५, भाडसर र ब्रह्मपुरी गाउँपालिका–५, सखुअवामा तीनवटा बीओपी थप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?