logo
२०८० चैत्र १६ शुक्रवार



सन्थाल बस्ती निर्माण योजना

मुख्य समाचार |


सन्थाल बस्ती निर्माण योजना


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १८ गते । सरकारले अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ ।
उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गर्नुहुने कार्यक्रम तय भएको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको त्यस बस्ती निर्माणका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको प्रवक्ता दवाडीले जानकारी दिनुभयो । सो बस्ती निर्माणको डीपीआर तयार गर्न मन्त्रालयले मङ्सिरमा एक प्राविधिक टोली उर्लाबारी पठाएको थियो ।
सहरी विकासमन्त्री प्रभु साहले लोपोन्मुख र सीमान्तकृत सूचीमा रहेका सन्थालको उत्थानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले मङ्सिर ९ गते उर्लाबारीस्थित सन्थाल बस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेपछि सो एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढाइएको थियो ।
समग्र बस्तीका लागि आवश्यक पर्ने सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, विजुलीबत्ती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना निर्माण गर्ने गरी सो बस्तीको डीपीआर निर्माण गरिएको प्रवक्ता दवाडीले बताउनुभयो ।
प्रवक्ता दवाडीका अनुसार सन्थालका लागि सात बिघा क्षेत्रफलमा १३२ घर निर्माणसहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवार ३५ वर्गमिटर क्षेत्रफलमा दुईवटा कोठा, एउटा भान्सा कोठा, एउटा चर्पी र स्नानघरसहितको घर निर्माण गरी वितरण गरिने सहसचिव तथा प्रवक्ता दवाडीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कुल १८ करोड रुपियाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा दुई वर्षभित्र घर वितरण भइसक्छ ।”
सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास छ । राष्ट्रिय जनगनणा–२०६८ अनुसार मुलुकभर सन्थालको कुल जनसङ्ख्या करिब ५२ हजार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?