logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय सेनाको जागिरबाट अवकासपछि व्यावसायिक कृषिमा रमाउँदै पोखरेल

फिचर |
पढ्नै पर्ने |


भारतीय सेनाको जागिरबाट अवकासपछि व्यावसायिक कृषिमा रमाउँदै पोखरेल


सागर शर्मा

झिमरुक, फागुन १३ गते । झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो ।

नेपालमै केही गर्ने मनसायले व्यवसायमा जोडिएको उहाँँको भनाइ छ । प्रिसा पशुपक्षी तथा कृषि फार्ममार्फत २०७५ मङ्सिर २४ गतेदेखि लेयर्स कुखुरापालन शुरु गरेको उहाँले बताउनुभयो । फार्ममा अहिले सात हजार लेयर्स जातका कुखुरा  छन् । पालेको साढे पाँच महिनामा लेयर्स जातको कुखुराले अण्डा दिन शुरु गर्दछ । सोहीअनुसार फार्ममा दैनिक २८ पेटी (पाँच हजार ८८० गोटा) अण्डा उत्पादन हुने गरेको फार्मका व्यवस्थापक वियजकुमार गुप्ताले बताउनुभयो । यहाँ उत्पादन भएको अण्डा जिल्लासँगै छिमेकी जिल्ला अर्घाखाँची, गुल्मी तथा भैरहवा, नेपालगञ्ज र काठमाडौँमा पनि खपत हुने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीको समयमा बजारका लागि केही समस्या भए पनि हाल धेरै ठाउँबाट माग हुने हुँदा अण्डा पुर्याउन धौधौ भएको उहाँको भनाइ छ ।

रु साढे चार करोड लगानीमा लेयर्स कुखुरा फार्मसँगै तरकारी खेतीसमेत गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । “शुरुमा १० हजार कुखुरा फार्ममा हालेका थियौँ”, गुप्ताले भन्नुभयो, “हाल सात हजार छन् ।” अबको केही समयमा कुखुरा थप्ने योजना रहेको उहाँले बताउनुभयो । कुखुरा थप्नका लागि रु छ करोड लगानीमा संरचना निर्माण हुँदै गरेको उहाँले जानकारी दिनुभयो । नयाँ संरचना निर्माणपश्चात दुई लाख कुखुरा अट्नेछन् । बाइस रोपनी क्षेत्रफल जग्गामा फार्म सञ्चालन गरिएको छ । सात रोपनी जग्गा वार्षिक रु ६० हजार तिर्ने गरी लिजमा लिएको व्यवस्थापक गुप्ताले बताउनुभयो । फार्म सञ्चालनका लागि आफ्नै लगानीमा लिफ्टमार्फत खानेपानी, बिजुलीको ट्रान्समिटर, ७०० मिटर सडक निर्माण गरिएको छ । त्यस्तै ढुवानीका लागि एउटा पिकअप, एउटा कार र १ ट्र्याक्टर रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कुखुरालाई दाना भैरहवाबाट खरिद गर्ने गरिएको छ । फार्म सञ्चालनका लागि १८ कर्मचारी समेत राखेको उहाँको भनाइ छ । फार्मबाटै विभिन्न क्षेत्रको खर्च कटाएर वार्षिक रु ५० लाख आम्दानीसमेत हुँदै आएको व्यवस्थापक गुप्ताले बताउनुभयो ।

विसं २०७६ साउन २ गते आएको अविरल वर्षाका कारण गएको पहिरोले कुखुरा राखेको टहरा पुर्दा फार्ममा रहेका एक हजार २०० कुखुरा नष्ट हुनुका साथै टहरा क्षतिग्रस्त हुँदा करिब रु ५० लाख बराबरको क्षति भएको फार्म सञ्चालक पोखरेलले बताउनुभयो । हालसम्म कुनै पनि निकायबाट फार्म सञ्चालनका लागि सहयोग नपाएको र जिल्लास्थित स्थानीय निकाय, सरकारी तथा गैरसरकारी संस्थाबाट सेवा सुविधा नपाएको उहाँले दुखेसो पोख्नुभयो ।

पोखरेलले तरकारी खेती पनि गर्दै आउनुभएको छ । गत वर्षको मङ्सिरदेखि नौ वटा टनेलमा टमाटर, भाण्टा, करेला, काउलीसँगै मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित तरकारी जिल्लामै बिक्री हुँदै आएको छ । हालसम्म रु १० लाखको तरकारी विक्री गरेको व्यवस्थापक गुप्ताले बताउनुभयो । त्यस्तै नर्सरीका लागि हरितगृहसमेत निर्माण हुँदै गरेको गुप्ताले बताउनुभयो ।

चालीस वर्षीय पोखरेलले २०६३ सालदेखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ । मकवानपुरको चित्लाङमा बाख्रापालन, चितवनमा गाईफार्म र कपिलवस्तुमा ४० हजार लेयर्स कुखुरापालन गर्दै आएको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा गरेर ३५० व्यक्तिलाई रोजगारी दिएको पोखरेलले बताउनुभयो ।

लेयर्स (कुखुरा) फार्म र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले पोखरेलले रु १३ करोड लगानीमा अत्याधुनिक फार्म स्तरोन्नति गर्दै हुनुहुन्छ । रु आठ करोडको भवन निर्माण र रु पाँच करोडको स्वचालित केज गरी जम्मा रु १३ करोडको अत्याधुनिक प्रविधिजन्य भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

भवन दुई वर्षभित्र निर्माण हुनेछ । भवन निर्माण पश्चात् एकैैपटकमा तीन लाख लेयर्स पालेर दैनिक तीन लाख अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?