logo
२०७८ बैशाख ५ आईतवार

  मानव वन्यजन्तु द्वन्द्व  



बाघको पुर्ख्याैली थातथलो मासिएपछि आक्रमण बढ्यो

पढ्नै पर्ने |
प्रदेश |


बाघको पुर्ख्याैली थातथलो मासिएपछि आक्रमण बढ्यो


अविनाश चौधरी
धनगढी, फागुन १२ गते । २०७१ साल जेठ १९ मा कैलालीका ५७ वर्षीय कालुराम डङ्गौराको बाघले ज्यान लियो । साविकको पहलमानपुर गाविस–९ नकफोरुवाका डङ्गौरा वसन्ता वन क्षेत्रमा ‘महुवा’ बटुल्न गएको बेला बाघसँग जम्काभेट भएको थियो ।
घटनाको भोलिपल्ट शव भेटिंदा डङ्गौराको खुट्टातर्फबाट बाघले शरीरको कम्मरसम्मको भाग खाइसकेको थियो । मृतकको शरीरमा देखिएको निशान र लाश रहेको ठाउँमा फेला परेको पाइला छापका आधारमा डमरुसहितको पोथी बाघले डङ्गौराको ज्यान लिएको र बच्चालाई समेत आहारा खुवाएको पुष्टि भएको थियो ।
त्यो घटनाको साढे छ वर्षपछि कैलालीकै वनमा फेरि बाघले अर्को मानवीय क्षति गरेको छ । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी कला धामीको बाघसँगको जम्काभेटमा गत आइतबार ज्यान गएको थियो । त्यसको दुई दिन अगाडिमात्रै सीताकुवा सामुदायिक वनमा बाघले आक्रमण गरी कैलारी गाउँपालिका–८ दुधियाका दुर्गाप्रसाद चौधरीलाई घाइते बनाएको थियो ।
कैलालीमा दुर्लभ पाटेबाघ र मान्छेबीचको द्वन्द्व पछिल्ला केही प्रतिनिधि घटनामामात्रै सीमित छैन । २०४२ सालमा हालको भजनी नगरपालिकाको रजवारास्थित भजनी बाँध क्षेत्रमा शिकारीले मारेको अवस्थामा वयस्क बाघ मृत फेला परेको थियो । त्यो घटनाको दुई दशकपछि २०६२ सालमा साविकको लालबोझी नगरपालिका–१ हिम्मतपुरका छेद्दुराम चौधरीलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । यसैगरी, २०७५ को असारमा जोशीपुर गाउँपालिका–३ स्थित शङ्कर सामुदायिक वनमा शिकारीले गोली हानेर मारेको अवस्थामा मृत पाटेबाघ फेला परेको थियो ।
यसरी, मान्छे र बाघबीचको विगतदेखिको द्वन्द्वमूलक प्रतिनिधि घटनाले कैलालीमा बाघको बसोबास विगतदेखि नै हुँदै आएको पुष्टि भएको छ । स्थानीय संरक्षणकर्मी र स्थानीयले त यहाँका वनहरु दुर्लभ पाटेबाघको प्राकृतिक बासस्थान रहेको बताउँदै आएका छन् ।
‘यो जिल्लामा पाटेबाघ पहिल्यैदेखि बस्दै आएका छन्’, लामो समयदेखि संरक्षणमा क्रियाशील संरक्षणकर्मी विजयराज श्रेष्ठले भन्नुभयो । ‘बड्का बनुवाँसहितका वन क्षेत्र बाघको प्राकृतिक बासस्थान हो ।’
बड्का बनुवाँ अर्थात बसन्ता जैविकमार्गमा मान्छे र बाघबीच जम्काभेटका थुप्रै घटना छन् । जसमध्ये कतिपय अभिलेखीकरण भए त कतिपय घटना स्थानीयका अनुभवमै सीमित रहे । काठ दाउरा खोज्ने क्रममा वा गोठाला गएको बेला ग्रामीण भेगका कैयौं मान्छेका बाघसँग जम्काभेट भएको कैलारी गाउँपालिका–७ का फूलराज चौधरी बताउनुहुन्छ ।
‘तिथिमिति याद भएन तर, पात टिप्न गएको बेला हाम्रै हजुरबुबाको पनि बड्का बनुवाँमा बाघसँग जम्काभेट भएको थियो’, उहाँले भन्नुभयो । ‘बाघसँग लडेर हजुर बुबाले आफ्नो ज्यान जोगाए पनि चोटका कारण उहाँले आवाज गुमाउनु प¥यो । हजुरबुबाको मृत्यु भइसकेको छ ।’
वसन्ता जैविक मार्ग नजिकै भारतको दुधुवा नेशनल पार्क छ । तर, बढ्दो मानव बस्तीले बसन्ता–दुधुवाबीचको ‘कनेक्टिभिटी’ धेरै ठाउँमा छैन । यद्यपि, बेला–बेलामा वन्यजन्तुको ओहोरदोहोर भने भइरहने गर्दछ । बाघ, हात्ती र गैंडा जस्ता जनावरले कैलारी गाउँपालिकाको पवेरा, बसन्ता, भुईयाँफाँटा, रामपुर क्षेत्र हुँदै भजनी नगरपालिकाको हिम्मतपुरसम्मको बाटो ओहोरदोहोरका लागि प्रयोग गर्दै आएका छन् ।
यसैगरी, सोही गाउँपालिकाको मोहनपुर, भितरिया र धनगढी उपमहानगरपालिकाको ललितपुर, खेदा हुँदै घुरहा नदीको किनारैकिनार बाघले चुरे क्षेत्र–दुधुवासम्म ओहोरदोहोर गर्ने गरेको जनाइएको छ । ‘यी क्षेत्रहरु बाघका पुख्र्यौली मार्ग हुन र अहिलेसम्म प्रयोग गर्दै आइरहेका छन्’, सामुदायिक वन समन्वय समिति गौरीगङ्गाका अध्यक्ष ओमप्रकाश सापकोटाले भन्नुभयो । ‘बाघले आफ्नो पुख्र्यौली बाटो प्रयोग गरी अण्डैया नदीमा पानी खान जाने क्रममा पछिल्लो घटना भएको देखिन्छ ।’
कैलालीका वन क्षेत्र बाघको प्राकृतिक बासस्थान रहेको तर, मानवीय हस्तक्षेप बढ्दा बाघ तनावमा परेको सापकोटाको बुझाइ छ । ‘तनावमा रहेका बाघ स्थायी बसोबासको खोजीमा पुरानो बाटो हिंडिरहेका हामीले बुझेका छौं’, उहाँले भन्नुभयो । ‘अण्डैया–लिक्मा शिविर मसानघाट–मटकौना हुँदै तालबन्द र चुरेसम्म बाघ पहिल्यैदेखि हिंड्दै आएका छन् । अण्डैया, राजघाट, चुरे क्षेत्र, तालबन्द उनीहरुको पुख्र्यौली मार्ग हो ।’
प्राकृतिक बासस्थान बिग्रेर बाघ विचलित भइरहेको वनकर्मीको बुझाइ छ । सब–डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत चन्द्र भण्डारीले बाघको प्राकृतिक बासस्थान र आहारा मासिँदै जाँदा आहाराको खोजीमा बाघ मान्छेको बस्तीसम्म पुग्न थालेको बताउनुभयो ।
‘त्यसकारण, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि निश्चित क्षेत्रलाई संरक्षित क्षेत्र बनाउन जरुरी छ’, संरक्षणकर्मी विजयराज श्रेष्ठले भन्नुभयो ।