logo
२०८१ बैशाख ८ शनिवार



शुक्लाफाँटा निकुञ्जमा पहिलो पटक हिमाली घोरल फेला प-यो

पढ्नै पर्ने |
प्रदेश |


शुक्लाफाँटा निकुञ्जमा पहिलो पटक हिमाली घोरल फेला प-यो


अबिनाश चाैधरी 
धनगढी, फागुन ११ गते । बाह्रसिङ्गाका लागि प्रसिद्ध सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो पटक हिमाली घोरल फेला परेका छन् ।
निकुञ्जको चुरे क्षेत्रमा केही सङ्ख्यामा घोरल देखिएका हुन । पहिलो पटक घोरल फेला परेपछि निकुञ्जमा पाइने स्तनधारी वन्यजन्तुको प्रजाति सङ्ख्यामा बढोत्तरी भएको छ । कञ्चनपुरको चुरे क्षेत्रदेखि तराईको मैदानी फाँटसम्म फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसअघिसम्म ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने गरेका थिए ।
घोरल फेला परेसंगै निकुञ्जमा पाइने स्तनधारी वन्यजन्तुको प्रजाति सङ्ख्या थपिएर ५७ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले बताउनुभयो । ‘हिमाली घोरल पहिलो पटक अभिलेख भएको छ’, उहाँले भन्नुभयो । ‘यो हाम्रो लागि अत्यन्त महत्वपूर्ण विषय हो ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र घोरलको बसोबासका लागि उपयुक्त स्थान रहेको जनाइएको छ । हिमाली घोरल दुर्लभ वन्यजन्तु नरहे पनि शुक्लाफाँटामा देखिनु भनेको स्तनधारी प्रजाति थपको हिसाबले महत्वपूर्ण रहेको प्रमुख चौधरीको भनाइ थियो ।
हिमाली घोरल शुक्लाफाँटाको कृष्णसार संरक्षित क्षेत्र हीरापुर मैदानदेखि उत्तर चुरे क्षेत्रमा देखिएका हुन । शुक्लाफाँटाका तत्कालीन प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालसहितको टोलीले बडेपानी खोलामा पानी खान आएका बेला घोरल देख्नु भएको थियो । तर, उहाँहरुले करीब एक वर्षसम्म फोटो खिच्न सक्नु भएन ।
गएको कार्तिक २ गतेमात्रै बडेपानी क्षेत्रमा हिमालयन घोरलको फोटो खिच्न सफल भएको हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा कार्यरत पौड्यालले बताउनुभयो । ‘बडेपानी खोलामा पानी खान आएको बेला घोरलको फोटो खिचिएको हो’, उहाँले भन्नुभयो ।
शुक्लाफाँटामा घोरल रहेको पुष्टि भएपछि पौड्याल र याम रावतद्वारा लिखित ‘फस्ट रिपोर्ट अफ हिमाली घोरल फ्रम नेपाल्स शुक्लाफाँटा नेशनल पार्क’ शीर्षकको अनुसन्धानमूलक लेख प्रकाशित भएको छ ।
बडेपानी खोला क्षेत्रमा पहिलो पटक सन २०१९ नोभेम्बर २९ मा एउटा घोरल देखिएको लेखमा उल्लेख छ । त्यसैगरी, २०२० अक्टोबर १९ मा दोस्रो पटक तीन वटा घोरल र नोभेम्बर २ मा एउटा घोरल देखिएको उल्लेख गरिएको छ । नोभेम्बर ७ मा चौथो पटक दुई वटा घोरल देखिएको र फोटोसमेत खिच्न सफल भएको पौड्यालले बताउनुभयो ।
‘तर, लेख प्रकाशित नहुँदासम्म शुक्लाफाँटामा घोरल रहेको कुरो बाहिर ल्याएका थिएनौं’, उहाँले भन्नुभयो । सन २०१३ देखि २०१४ सम्म नेपालमा भएको बाघ सर्वेक्षणको क्रममा क्यामरामा परेका वन्यजन्तुको विश्लेषण गरेर शुक्लाफाँटामा ५६ प्रकारका स्तनधारी वन्यजन्तु पाइने गरेको निष्कर्ष निकालिएको थियो । त्यो अध्ययन विश्लेषणको छ वर्षपछि यो निकुञ्जमा स्तनधारी वन्यजन्तुको एउटा प्रजाति थपिएको हो ।
शुक्लाफाँटाको चुरे क्षेत्रमा घोरल बस्ने गरेको र चुरेबाट बगेर आउने बडेपानी खोलामा पानी खान आउने गरेको पौड्यालले बताउनुभयो । उहाँले नेपालमा घोरलको सङ्ख्या कम हुँदै गएको अवस्थामा शुक्लाफाँटामा पनि घोरल भेटिनु खुशीको कुरो रहेको उल्लेख गर्नुभयो ।
यो निकुञ्जमा बाह्सिङ्गेसहित बाघ, एकसिङ्गे गैंडा, हात्ती, कृष्णसार, चितुवा, सालक जस्ता स्तनधारी वन्यजन्तु रहेका छन् । यसैबीच, केही दिनभित्रै निकुञ्जमा गैंडा गणनाको कार्य हुने सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हालसम्म गैंडाको सङ्ख्या १७ रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?