logo
२०८० चैत्र १६ शुक्रवार

हिमशृङ्खलाको काखमा मालिका धुरी (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-22-32481


ठाकुरप्रसाद आचार्य
बेनी (म्याग्दी), फागुन १० गते । आँखै अगाडि लहरै देखिने हिमशृङ्खला र काखमा अवस्थित मालिका देवी मन्दिर । यो प्रख्यात धार्मिक एवम् पर्यटकीय स्थल हो । यहाँबाट धौलागिरी, चुरेन, गुर्जा, अन्नपूर्ण निलगिरि, माछापुच्छ्रे लगायत दर्जनौँ हिमालहरु नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ ।
मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा पर्ने मालिका मन्दिर तीनहजार तीनसय ५० मिटर उचाइमा छ । जिल्लाका उच्च स्थानमा रहेका धार्मिक स्थलहरु मध्यमा मालिका धुरी पनि प्रख्यात छ । धार्मिक पर्यटकीय स्थल मात्र होइन प्राकृतिक हिसाबले पनि मालिका धुरीको राम्रो सम्भावना छ ।
मालिकाधुरीमा त्रिदेवीहरू मालिका, कालिका र जालिकाको बास छ । त्रिदेवीको दर्शनले मनोकामना पूरा विश्वास छ । त्यसैले वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला मालिका धुरीमा ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।
सन्तान, रोजगारी, शिक्षा, व्यपार, व्यवसाय, वैदेशिक रोजगारी र राजनीतिमा सफलता प्राप्तीका लागि भाकल लिएर मालिका दर्शन गर्न भक्तजनहरु आउने मालिका देवि मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । पछिल्लो समय सडक, पदमार्ग, धर्मशाला र मन्दिरको पूर्वाधार विकास गरिएकाले भक्तजनहरुको संख्यामा वृद्धि हुनथालेको उहाँले बताउनुभयो । पहाडको टुप्पोमा रहेकाले खानेपानीको समस्या छ उहाँले भन्नुभयो ‘खानेपानीको व्यवस्था, भक्तजनका लागि व्यवस्थित धर्मशाला, पदमार्ग र मन्दिर स्थलमा घेराबार लगायतका पूर्वधारको आवश्यकता छ ।’
धेरै भक्तजनहरु मनोकामना पुरा भएर दोस्रो पटक पनि दर्शन गर्न आउने गरेको उहाँले बताउनुभयो । बागलुङ, पर्वत, पोखरा, काठमाण्डौं, चितवन लगायतका जिल्लाबाट भक्तजनहरु आउने गरेको उहाँले बताउनुभयो । यहाँ जेष्ठी, चण्डी पूर्णिमा र भाइटीकाका दिन बली चढाउन आउनेको ठूलो भीड लाग्छ ।
मालिका गाउँपालिका ७ बिमबाट करिब २ घण्टाको पैदलयात्रापछि यहाँ पुग्न सकिन्छ । यसका साथै बेनीदेखि जगन्नाथ मन्दिर, टोड्के हुँदै दुई दिनको पदयात्रापछि पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । साथै मंगला गाउँपालिका २ हिँदी र रघुगंगाको ठाडाखानी भएर पनि मालिका धुरी पुग्न सकिन्छ ।

मालिका धुरीको पर्यटन प्रवर्धन हाइकिङ
लायन्स क्लब अफ बेनी पिस सिटिले मालिका धुरीको पर्यटन प्रर्वद्धन गर्न शुक्रबार र शनिबार जिल्लाका पत्रकार र क्लबका पदाधीकारी र मालिका गाउँपालिका ७ बिमका अगुवाहरु सहित मालिका धुरीमा हाइकिङ कार्यक्रम गरेको छ । शनिबार विहान मालिका धुरी पुगेका उनीहरुले मालिका देवीको दर्शन गर्नुका साथै स्थानीयहरुसँग पर्यटन प्रवर्धनका विषयमा छलफल गरे । प्रख्यात धार्मिक स्थल मालिका धुरीलाई देश विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा सघाउने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरिएको बेनी पिस सिटीको अध्यक्ष खमबहादुर थापाले बताउनुभयो । मालिका धुरी धार्मिक एवम् प्राकृतिक हिसावले सुन्दर र रमणीय स्थान भएकाले सरोकारवालाहरुले यहाँको विकासमा ध्यान दिनुपर्ने मालिका दर्शनका लागि पुग्नुभएका म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । पूर्वाधारको विकास गरि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने थुप्रै संभावना रहेको स्थानीयवासी दल शेरपुन्जाले बताउनुभयो ।

मालिकाको विकासका लागि पूर्वाधार निर्माण गरिँदै
मालिका धुरीको पर्यटन प्रवर्धनमा टेवा पु-याउन केही वर्ष यता मालिका र रघुगंगा गाउँपालिकाले पदमार्ग, सडक, आश्रयस्थल लगायतका पूर्बाधार निर्माण गरेका छन् । प्रदेश सरकारको पर्यटन मन्त्रालयको करिब ४० लाख बजेटमा गत वर्ष बिम हुँदै मालिका धुरी जाने एक हजार दुई ७२ मिटर पदमार्ग निर्माण भएको छ । साथै मालिका गाउँपालिकाले बिम हुदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ ।
८३ लाख रुपियाँ लागतमा बाइन्दफाँट देखि धौलागंगा र नागीथलाको बिचसम्म सडक पु-याइएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिनुभयो । मालिकाको पर्यटन प्रवर्धन गर्न गाउँपालिकाले डिपिआर बनाएर पूर्वाधार विकास गर्न लागेको उहाँले बताउनुभयो ।