logo
२०८१ बैशाख ८ शनिवार

कालिगण्डकी करिडोर सडक : म्याग्दी खण्डको निर्माणले गति लिँदै

पढ्नै पर्ने |
प्रदेश |
फोटो फिचर |


2021-02-18-32242


ठाकुरप्रसाद आचार्य
बेनी, फागुन ६ गते । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम सडक खण्डको कामले गति लिन थालेको छ । आयोजना निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले यतिखेर सडक निर्माणलाई गतिदिन थालेका छन् । केही खण्डमा जेठसम्म कालोपत्रे गर्न तयारी थालिएको आयोजनाले जनाएको छ ।

म्याग्दी खण्डका केही भागमा सडक फराकिलो,रिट्रेनिङवाल,नाली र ग्राभेल गर्न लागिएको छ । साथै गतवर्षको वर्षातका कारण क्षति पुगेको सडकको मर्मत सम्भारबाल लगाउने,ग्यावियन झाली भर्ने,नाली बनाउने र सडक चौढा बनाउन थालिएको आयोजनाका सूचना अधिकारी अस्विनकुमार यादवले जानकारी दिनुभयो । म्याग्दी खण्डमा धेरै स्थानमा भीर, पहरा र चट्टान काटेर सडकको ट्रयाक खोल्नुपर्ने भएकाले यो खण्डको सडक निर्माणमा समय लागेको आयोजनाले उहाँले बताउनुभयो । जोखिमयुक्त भीर फुटाएर सडकको ट्र्याक बनाउनुपर्ने भएकाले पनि काम गर्न कठिन छ । दानाको बादरजुङ्गे भिर,रुप्से छहरा र जलथले खण्डमा सडक निर्माण गर्न जोखिमयुक्त छ ।

अायोजनाका अनुसार मुस्ताङदेखि कोरला खण्डको काम आगामी जेठ भित्रै सम्पन्न गर्ने तयारी गरिएको छ भने बेनी–जोमसोम खण्डको गलेश्वरदेखि नारच्याङ पुल सम्मको १९ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्रे गर्ने तयारी गरिएको छ । म्याग्दी खण्डको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै गुनासो आउन थालेपछि आयोजनाले पछिल्लोपटक सडक निर्माणलाई गति दिन थालेको हो ।

गलेश्वरदेखि नारच्याङ पुलसम्मको जिम्मा लिएको शर्मा युनाइटेढले बेगखोला देखि महभिरसम्मको खण्डलाई कालोपत्रे गर्ने गरी तयारी गरिएको शर्मा युनाइटेढका सर्वेयर सन्तोष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार शर्मा युनाइटेढले ओमकार्यश्वर निर्माण कम्पनिलाई जिम्मा दिएको गलेश्वरदेखि बेखखोलासम्म पनि कालोपत्रे गर्ने योजना छ ।

२०७६ मंसिर सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरि ७६ किलोमिटरको बेनी–जोमसोममा चार वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजसहित निर्माणकार्यलाई अघि बढाइएको थियो ।

अहिलेसम्म बेनी–जोमसोममा जम्मा ५५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी यादबले जानकारी दिनुभयो । बर्खायाममा बाढी र पहिरोले गतवर्ष बनाएका संरचनामा समेत ठुलो क्षति पु¥याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ ।
जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडकमध्ये ५५ किलोमिटर सडक स्रोन्नतीको काम सकेर हस्तान्तरण भैसकेको छ भने बाँकी रहेको ५५ किलोमिटर सडकमध्ये ३१ किलोमिटरको काम अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम पनि केही महिनामा सम्पन्न हुने उहाँले बताउनुभयो ।

आयोजनाको गलेश्वरदेखि नारच्याङ पुलसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ५८ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ५२ प्रतिशत, कोइकुखोलादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत, कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।

जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङवेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गतवर्ष नै स्तरोन्नतीको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् । चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोसी एण्ड न्यौपानले ८५ प्रतिशत निर्माणकार्य सक्दा भेनादेखि भैmटेसम्म कन्चनजंगा लामा विरुवाले सबै काम सकेको छ ।

झैटेदेखि चराङसम्म कन्चनजंगा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेरदेखि कोरलासम्मको १६ किलोमिटर सडक दिवा रौतहा एपेक्स जेभिले दोस्रो बर्षमै स्तरोन्नतीको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।

करिडोर अन्तर्गत अहिलेसम्म पनि काम सुरु हुन नसकेको पर्वतको मालढुंगादेखि बेनीसम्मको १३ किलोमिटर सडक टेण्डर भई ठेक्का सम्झौताको चरणमा छ । फागुनदेखि नै यस खण्डमा पनि निर्माण कम्पनि परिचालन भैसक्ने आयोजनाले जनाएको छ ।

चार वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनामा कुल सात अर्ब ७५ करोड लागत रहेको यस सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । आयोजना अन्र्तगत सडक स्तरोन्नती संगै विभिन्न खोलाहरुमा पक्की पुल समेत निर्माण कार्यले तीव्रता पाएको छ ।

बेनीदेखि कोरला नाकासम्मको यस सडक खण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि २० ठाउँको पुल ठेक्का लगाइसकिएको र अहिलेसम्म चार स्थानको पुल निर्माण सम्पन्न भैसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।

२०७३ मंसिरदेखि उक्त करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो ।