logo
२०८१ बैशाख ६ बिहीवार

राष्ट्रपतिद्वारा हनुमानढोकामा वसन्त श्रवण (फोटो फिचरसहित)

मुख्य समाचार |
फोटो फिचर |


2021-02-16-32120
तस्बिर : सुजन गुरूङ


काठमाडौँ, फागुन ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गर्नुभएको छ । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।
समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराउनुभएको थियो । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो ।
मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो । कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख गरिएको दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।
भक्तपुरमा रहेको जितामित्र मल्लको विसं १७४५ को अभिलेख र भूपतीन्द्र मल्लको विसं १७५५ को अभिलेखमा भने श्रीपञ्चमीमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने गरेको उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । शाहकालदेखि भने हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा शुरु भएको हो ।
कार्यक्रममा नेवारी भाषाको ‘बियाँचली’ रागसमेत गाइने गरिन्छ । सो अवसरमा कलाकारले सितारवादन पनि गरेको जनाइएको छ । वसन्त श्रवणपछि विशिष्ट अतिथिले मूल पुरोहितबाट टीका र प्रसाद ग्रहण गरी फर्कनुभएको हेरचाह अड्डाले जनाएको छ । वसन्त पञ्चमीका दिन नासलचोकमा पूजाको व्यवस्था निवृत्तिभरण कार्यालयले गर्ने गरेको छ । सुरक्षाको प्रबन्ध गृह मन्त्रालय र वसन्त श्रवण कार्यक्रमको व्यवस्थापन हनुमानढोका दरबार हेरचाह अड्डाले गर्ने गरेको छ ।