logo
२०८१ बैशाख ७ शुक्रवार

माधवनारायणका व्रतालु पशुपतिमा (फोटो फिचर)

पढ्नै पर्ने |
समाज |
फोटो फिचर |


2021-02-11-31820
तस्बिर सुजन गुरूङ्ग 


यलु जोशी
काठमाडौं, माघ २९ गते । शालीनदीमा माधवनारायण व्रत गरेका व्रतालुले बिहीवार विहानै बागमती नदीमा स्नान गरी पशुपति नाथ मन्दिरको दर्शन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि माघकृष्ण चतुर्दशीका दिन बुधबारसाँझ ७ बजेतिर पशुपति आइपुगेका थिए ।
व्रतालुले बिहान १० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाएको थियो । औंसी परेका कारण व्रतालुहरुलाई मन्दि दर्शन गराउन लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार माधवनारायण व्रतालु पशुपति आएका बेला आर्यघाटमा शव जलाउन नदिने पुरानै प्रचलन हो । उनीहरु पशुपति आएपछि नफर्किएसम्म शव जलाउन रोक्ने गरिएको छ । भष्मेश्वरतर्फ भने शव जलाउन दिने गरिएको ढकालले बताउनुभयो ।
शेषनारायण मन्दिरमा बास
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठको अनुसार सानो गौचरणबाट नारायणहिटी हुँदै वसन्तपुरबाट नख्खु जेलको बाटो भएर दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा माघकृष्ण औंसीको राति बास बस्ने गरिन्छ । उहाँले नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुन्जेल राजाले दर्शन गर्ने गरेकामा हाल कलश राष्ट्रपतिलाई दर्शन गराइने पनि जानकारी दिनुभयो ।
उहाँले माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ भन्नुभयो, पूजा आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शंखमूल क्षेत्रमा गर्छन् । माघशुक्ल प्रतिपदाको राति शंखमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने प्राचीन परम्परा छ ।
विगत वर्षमा करिब चारसय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण थारैलाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । महिला ३५ र पुरुष १४ मात्रगरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्रेष्ठले बताउनुभयो ।

तस्बिर सुजन गुरूङ