logo
२०८१ बैशाख ६ बिहीवार



तराईको वनमा दुई दशकपछि देखिए हिमाली गिद्ध

प्रदेश |


तराईको वनमा दुई दशकपछि देखिए हिमाली गिद्ध


अविनाश चौधरी
धनगढी, माघ २६ गते । मध्यपहाडी क्षेत्रदेखि माथि हिमालसम्म पाइने हिमाली गिद्ध कैलालीका सामुदायिक वनमा देखा परेका छन् ।
भजनी नगरपालिका–२ रजवारास्थित राधाकृष्ण सामुदायिक वनमा २४ वटा हिमाली गिद्ध देखा परेका हुन । ती गिद्धहरु एक महिनादेखि सो सामुदायिक वनमा बसिरहेको जनाइएको छ ।
पहाडी क्षेत्रमा पाइने हिमाली गिद्ध जाडो मौसममा हरेक वर्ष तराई झर्ने गरेका पक्षीविद् हिरुलाल डङ्गौराले बताउनुभयो । ‘आहाराको खोजीमा उनीहरु हरेक वर्ष यहाँसम्म आइपुग्ने गर्छन्’, उहाँले भन्नुभयो ।
नेपालमा पाइने गिद्ध प्रजातिमध्ये सबैभन्दा बढी करिब १० हजारभन्दा माथि हिमाली गिद्धको सङ्ख्या रहेका पक्षी संरक्षण सङ्घ (बीसीएन) जनाएको छ । यिनीहरुमध्ये अर्ध वयस्क हिमाली गिद्ध जाडोको बेला तराईसम्म आउने गरेका डङ्गौराले बताउनुभयो ।
उहाँका अनुसार वयस्क हिमाली गिद्ध भने हिमाली क्षेत्रमै रहने गर्दछन् । ‘तराई आएका हिमाली गिद्ध मार्च, अप्रिलतिर फेरि आफ्नो थातथलोमै फर्कने गर्दछन्’, उहाँले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा र अछाममा हिमाली गिद्धको बसोबास रहेको छ । तर, यो प्रदेशमा रहेको हिमाली गिद्धको सङ्ख्या भने यकिन भइसकेको छैन ।
राधाकृष्ण सामुदायिक वनमा विश्वमै दुर्लभ सात वटा डङ्गर गिद्धसमेत गरेर जम्मा ३१ वटा गिद्ध एक महिनादेखि बसोबास गर्दै आइरहेको जनाइएको छ । झन्डै दुई दशकपछि सो क्षेत्रमा गिद्ध देखा परेको स्थानीयको अनुमान छ ।
‘यसअघि, पहिले प्रशस्त मात्रामा गिद्ध देखिने गरेका थिए’, भजनीका संरक्षणकर्मी खुमबहादुर खड्काले भन्नुभयो । ‘बिचमा हराए, फेरि अहिले सामुदायिक वनमा देखा परेका छन् ।’

आहाराको खोजीमा सो ठाउँमा हिमाली र डङ्गर गिद्ध आएको बताइएको छ । वडा नम्बर २ मा भजनी नगरपालिकाले गौ रक्षा केन्द्र निर्माण गरेको छ । जाडोको बेला गौ रक्षा केन्द्रका गाईगोरु अलि बढी सङ्ख्यामा मर्ने गरेकाले सिनो खानका लागि गिद्ध एक महिनादेखि सो ठाउँमा बस्दै आएका छन् ।
यसअघि, चार वर्ष अगाडि भजनी नगरपालिकाकै–४ को बिजुलियामा पनि डङ्गर गिद्ध देखा परेका थिए । सामुदायिक वनमा गिद्ध देखिएपछि स्थानीय संरक्षणकर्मीदेखि लिएर वनका उपभोक्ता खुशी भएका छन् । त्यहाँ बस्दै आएका गिद्धहरु वनदेवी सामुदायिक वनमासमेत पुग्ने गरेको जनाइएको छ । वनमा गिद्धको बसोबासले आफूहरुलाई खुशी बनाएको खड्काले उल्लेख गर्नुभयो ।
गिद्धलाई प्रकृतिका कुचिकार मानिन्छ । यिनीहरुले सिनो खाएर वातावरण दुर्गन्धित हुनबाट जोगाउने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?