logo
२०८१ बैशाख १३ बिहीवार



जुम्ल्याहा सन्तान : हुर्काउन दुःख, चरम पारिवारिक सुख

पढ्नै पर्ने |
समाज |


जुम्ल्याहा सन्तान : हुर्काउन दुःख, चरम पारिवारिक सुख


यलु जोशी
काठमाडौं, माघ २३ गते । बच्चा जन्मनु भनेको परिवार पूर्ण हुनु र एउटा त्यस्तो सुखको प्राप्ति गर्नु हो, जसको बयान शब्दमा गर्न सकिंदैन । परिवारमा कसैको जुम्ल्याहा बच्चा भयो भने त झन् यो खुशी दुई गुणा धेरै हुन्छ । तर जुम्ल्याहा बच्चाहरु हुर्काउँदा आमाबुवाले भने धेरे सकस खप्नुपर्ने हुन्छ ।
इमाडोलको नेहा श्रेष्ठले तीन जना बच्चा (तिम्ल्याहा) एकै पटक जन्माउनुभयो । बच्चा जन्म भएको खुसी त बयान नै गर्न सक्दिन श्रेष्ठले भन्नुभयो, गर्भवती भएको थाहा पाएपछि अस्पतालमा जचाउन गएँ सबै ठीक छ भनेपछि खुसी भएँ फेरि दुई हप्तापछि जचाउन जाँदा तीन जना छ भनेपछि त्यो खुसी डरमा परिणत भयो ।
उचाइ कम भएको कारण तीनजना बच्चा जन्म दिन सक्दिन जस्तो लाग्यो जागिर नै छोडेर पूर्णरुपमा आराम गरेँ । जव बच्चा सात महिनामा जन्मियो त्यो दिन मेरो अर्को जन्म भएको महसुस भयो उहाँले सम्झनुभयो,
हामी श्रीमान श्रीमतीमात्र बस्ने भएकोले संयुक्त परिवारको महत्व सम्झे । परिवार भएको भए मलाई धेरै मदत हुनेथियो उहाँले भावुक हुँदै भन्नुभयो, हप्ता दिनमा नै एक जना बच्चाको निधन हुँदा मेलै केही सोच्नै सकिन । बच्चा कसरी हुर्काउने भन्दा पनि खाली दिमागमा मेरो सन्तानलाई कसरी बचाउँ मात्र सोचीरहेको थिएँ ।
अस्पतालमा हुँदाखासै समस्या भएन तर घर आएपछि म पनि सुत्केरी हो भन्ने कुरा विर्से । एक छोरा र छोरीको लालनपालनमा यति धेरै ब्यस्त भएँ । रातमा सुत्ने भनेको नै विर्से जस्तो भयो श्रेष्ठले भन्नुभयो, श्रीमान र म पालैपालो सुत्थ्यौ । एक रात त मज्जाले सुत्न पाए हुन्थ्यो भनेर मनमा आउँथ्यो ।
अहिले साढे दुई वर्षका बच्चा भए, खुसी हुँदै थप्नुयभो, अस्पतालबाट ल्याएपछि अहिलेसम्म कुनै पनि विमारी परेर अस्पताल लानुपरेको छैन ।
यता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कम्युटर इञ्जिनियर कल्पना ज्ञवालीले पनि दुई जना जुम्ल्याह छोरा जन्माउनुभयो । गर्भमा दुई सन्तान छन् भनेपछि यति धेरै डर भयो त्यो बयान नै गर्न सकिन ज्ञवालीले भन्नुभयो, खुसीलाई डरले नै जित्यो । अब कसरी स्वस्थ बच्चा जन्माउने भन्ने चिन्ताले मात्र पिरोलिन्थ्यो ।
गर्भवती हुँदा कार्यलयका साथीहरु, सर, म्यामहरुबाट धेरै सहयोग पाएर मैले जागिर छोड्नुपरेन । अफिस र घर परिवारको चिन्ता भन्दा पनि मलाई बच्चालाई कसरी संसारमा ल्याउने भन्ने डर थियो । जब मैले स्वस्थ बच्चालाई जन्म दिएँ धेरै खुसीको आँशु झरे, म संयुक्त परिवारमा बस्ने भएका कारण बच्चा हुर्काउन धेरै समस्या भएन, आमा बुवा, सासु ससुरा तथा नन्दले मेरो दुवै छोराहरु राम्ररी हेरचाह गर्नुभयो । सबैभन्दा ठूलो समस्या भनेको स्तनपान थियो ।
उहाँले सम्झनुभयो, म शाकाहारी हो तर मटन खाएपछि दूध आउँछ भनेपछि नाक थुनेर खाएँ । आफैले स्तनपान गराउन नपरेपछि परिवारले नै राम्ररी हेरिदिनुभएको छ । तीन महिना बिदा पछि जहिले नै कार्यलय उपस्थित भएँ । बीचबीचमा बाबुहरु बिरामी हुँदा मात्र बिदा लिने गरेको छु 
जुम्ल्याहमा सबैभन्दा ठूलो समस्या भनेको एक जना विरामी भए पछि अर्कोलाई पनि सर्ने ज्ञवालीको अनुसार एक जनालाई रुघा, खोकी लाग्यो भने अर्कोलाई जोगाउन सकिदैन ।
छुट्टै राख्न पनि नहुने एक अर्काको अति प्यारो हुने सँगै राख्दा विरामी हुने डर । विरामी भएपछि आमाको काख खोज्ने दुवैलाई एकै पटक राख्न नै गार्रो हुने उहाँले प्रष्ट पार्दे भन्नुभयो, अर्को समस्या भनेको दुबैबालकले एकैपटक नखाने एक जनालाई खुवाएको त्यसको दुई घण्टापछि अर्कोलाई खुवाउनुपर्ने ।
सानो बेला हुर्काउन, तेल लगाउन दुबैलाई सँगै लगाउने रमाइलो लाग्थ्यो उहाँले २८ महिनाको बाबुहरु राती उठेर खाना नमागे राम्ररी सुत्छु जस्तो लाग्ने बताउनुभयो ।
कसरी जन्मन्छन् जुम्ल्याहा ?
धुलिखेल अस्पतालका स्त्री रोग विशेषज्ञ भागीरथी कायस्थले सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिने बताउनुभयो ।
जुम्ल्याहा गर्भमा गर्भदानी एउटै भए पनि गर्भ भने दुइटा रहनसक्छ । यस्तो गर्भ दुई किसिमको हुन्छ, मोनोजाइगोटिक र डाइजाइगोटिक ।
डा. कायस्थ अनुसार मोनोजाइगोटिक बच्चा तब पैदा हुन्छन्, जब कुनै अण्डा स्पर्मको सम्पर्कमा आएर फर्टीलाइज भएपछि उक्त अण्डा दुई एम्ब्रिओको रूपमा विकसित हुने गर्छ ।
यस्ता बच्चाहरूको आणुवंशिक संरचना एकै किसिमको हुन्छ । त्यस्तै, मोनोजाइगोटिक बच्चा एउटै देखिने तथा आइडेन्टिकल (एउटै अनुहार भएका छोरा छोरा वा छोरी छोरी हुने गर्दछ । जब कि डाइजाइगोटिक जुम्ल्याहा हेर्दा अलग देखिने गर्दछन् ।
परिवारमा कसैको जुम्ल्याहा बच्चा छ भने उक्त परिवारमा फेरि पनि जुम्ल्याहा बच्चा जन्मिने सम्भावना धेरै हुने गर्छ । डा. कायस्थले भन्नुभयो, कसैको भाइ वा बहिनी जुम्ल्याहा छन् भने उनीहरूबाट जन्मने सन्तान पनि जुम्ल्याहा हुन सक्दछन् । यस्तो सम्भावना प्रायः आमा वा आमाको परिवारमा निर्भर गर्छ ।
उहाँको अनुसार टेष्टट्युब बेबी रआईभीएफ (इनभिट्रो फर्टीलाइजेसन) पद्धति अपनाएर पनि जुल्ल्याहा बच्चा जन्माउन सकिन्छ । आईभीएफ( इनभिट्रो फर्टीलाइजेशन प्रक्रिया अन्तर्गत बच्चा जन्माउँदा अण्डालाई बाहिर फर्टीलाईज गराएर पाठेघरमा हालिन्छ, जसका कारण बच्चा जुम्ल्याहा हुने सम्भावना अधिक हुने गर्दछ ।
चिकित्सकका अनुसार नेपालमा कति जुम्ल्याह बच्चा जन्मने कुनै तथ्याङ् नभएनि ८० जना महिलामा एक जनाले जुम्ल्याहा जनमाउने सम्भावना  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?