logo
२०८० चैत्र १५ बिहीवार



प्रभावकारी बन्दै हेलीकोप्टरबाट सुत्केरी उद्धार, आठ महिनामा १६ काे जीवन रक्षा

पढ्नै पर्ने |
प्रदेश |


प्रभावकारी बन्दै हेलीकोप्टरबाट सुत्केरी उद्धार,  आठ महिनामा १६ काे जीवन रक्षा
तस्बीर साैजन्य : प्रकाश पाैडेल


अमृतप्रसाद पौडेल
बेनी, माघ १७ गते । हिमाली जिल्ला म्याग्दीको पश्चिमको दुर्गम गाउँ धौलागिरी गाउँपालिका–४ मुदीको नेरवाङकी २६ वर्षिय सुत्केरी व्यथा लागेको महिलाको आइतबार हेली उद्धार गरी ज्यान बचाइएको छ ।आठ हजार मिटरभन्दा अग्लो धौलागिरी हिमाल रहेको दुर्गम धौलागिरी गाउँपालिका र त्यसको पनि दुर्गम गाउँ मुदीको नेरवाङकी २६ वर्षीया मिनु छन्त्याल शनिबार बिहान १० बजे देखि सुत्केरी ब्यथाले छट्पटाइ रहनुभएको थियो । नेरवाङ गाउँको पनि गोठमा रहेकी मिनुलाई नजिकको स्वास्थ्य चौकी पु¥याउन पनि तीन घण्टा भन्दा बढी समय लाग्थ्यो भने बोकाएर लैजानुपर्ने अवस्था थियो ।
शनिबार बिहानदेखि दिनभर अनि रातभरीको छट्पटीपछि बच्चा निस्कन त खोज्यो तर पानी धेरै बगेकोले वा अन्य के कारण डेलिभरि हुन सकेन । बिहान धेरै छट्पटाइरहेकी मिनुको आमा बच्चा दुवैको ज्यान अब खतरामा पुगेको थियो ।
तत्कालन धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनलाई आफन्तले खबर गरेपछि सामाजिक विकास मन्त्रालयको पहलमा प्रभु एयरको हेलिकोप्टर मार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पीटल)मा लगिएको थियो । आइतबार बिहान ९ बजे नेरवाङबाट हेलिकोप्टरमा पोखरा पठाइएकी मिनुले हस्पिटलमा पुगेपछि १० बजे छोरी जन्माउनुभएको र आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सुत्केरी व्यथा लागेर ज्यान जोखिममा परेका १६ जनाको हेलिकोप्टरबाट उद्धार गरेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभयो । पुनले भन्नु भयो अहिलेसम्म आमा र बच्चाको ज्यानै जोखिम भएको भन्ने जानकारी पाएपछि तत्काल रेस्क्यु गरेर १६ जनाको हेलि उद्धार गरिएको छ ।
धौलागिरी गाउँपालिकाबाट मात्रै चालु आर्थिक वर्षमा तीन जनाको उद्धार गरिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । यस भन्दा पहिला धौलागिरी गाउँपालिका–६ मराङ, ७ ताकम र आइतबार गाउँपालिकाको ४ नम्बर वडाको नेरवाङबाट उद्धार गरिएको अध्यक्ष पुनको भनाइ छ । अन्य दुई जनाको पनि उद्धार गर्न खोजीएको भए पनि सञ्चार समन्वयमा समस्या हुँदा एक जना सुत्केरी आमा अत्याधिक रक्तश्राव पछि मृत्यु भएको थियो भने एक जनाको मौसमको खराबीले गर्दा उद्धार गर्न नसकिएको भए पनि भाेलिपल्ट सामान्य अवस्थामा सुत्केरी भएको अध्यक्ष पुनले बताउनुभयो ।
सुत्केरी हुन नसकेर निकै जटिल अवस्थामा पुगेको भन्दै स्थानीय क्लब अध्यक्ष योगेश पुनले मलाइ फोन गरेपछि अध्यक्षलाई जानकारी गराएँ र उद्धारका लागि उहाँले पहल गर्नुभयो – उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो सुत्केरी महिला सँगै उहाँका श्रीमान थमबहादुर पुन र सासु पनि पोखरा हस्पिटलमा पुगेको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?