logo
२०८० चैत्र ६ मंगलवार



जातीय विभेद भएको भन्दै दुई वटा गाउँको नाम परिवर्तन

फिचर |
पढ्नै पर्ने |


जातीय विभेद भएको भन्दै दुई वटा गाउँको नाम परिवर्तन


शैलेन्द्र रोकाया
बझाङ, माघ ७ गते । गाउँका नामले नै जातीय विभेद झल्काएको भन्दै यहाँका दुई वटा गाउँको नाम परिवर्तन गरिएको छ । बझाङ जिल्लाको उत्तरी भेगमा पर्ने तल्कोट गाउँपालिका ६ मा रहेका दुईवटा दलित बस्ती रहेका ल्वारवाडा र भुलवाडाको नाम परिवर्तन भएर अहिले ललितपुर र भक्तपुर राखेका छन् । गाउँको नामले बर्षौदेखिको सामाजिक विभेदलाई कायमै राखेको भन्दै स्थानीयहरुले नाम परिवर्तन गरेर ललितपुर र भक्तपुर राखेका हुन् ।
गरिबी,अभाव र सामाजिक बिभेदको चरम चपेटामा परेका यहाँका बिक र ल्वारहरुको बसोबास रहेको ल्वारबाडाको नाम अहिले ललितपुर राखिएको छ भने भुल (सार्की)हरुकोहरुको बसोबास रहेको भुलवाडाको नाम अहिले भक्तपुर राखिएको छ । स्थानीय रामलाल बिकले हुन त यो ल्वार गाउँ हो, त्यो बेला माओवादीहरुले गाउँका मान्छे भेला गरेर यो गाउँ अबदेखि ललितपुर भन्नु भनेका थिए । तर आजभोलि सरकारी अभिलेखमा समेत परिवर्तन गरेको बताउनुभयो । उहाँका अनुसार तत्कालीन अबस्थामा यी दुबै गाउँको नाम माओबादीले राखिदिएको र हाल सबैले तलितपुर र भक्तपुर भनेर चिन्ने गरेको छ । ६० घरधुरी रहेको बिक जातिको यो गाउँ अहिले ललितपुरका नामले चिनिन्छ ।
तल्कोट गाउँभित्र दलितहरुको बढी बाहुल्य र बढी घरधुरी रहेको यी दुई गाँउ नै हुन् । बर्षाैदेखि उपल्लो जातिको सामाजिक बिभेदको शिकार बन्दै आएका यहाँका दलित समुदायले आफुलाई ल्वारवाडा र भुलवाडाको बासिन्दा हुँ भन्न लाज मान्ने गरेको स्थानीय करिस्मा बिकले बताउनुभयो । उहाँले भन्नुभयो पहिलेको तुलनामा यहाँ दलितलाई गर्ने सामाजिक विभेदमा केही कमी भए पनि हालसम्म पनि केही मात्रामा विभेद कायमै छ । हाल यी गाउँको नाम परिवर्तन भएसंगै विद्यालय स्वास्थ्य संस्था र वडा साथै सरकारी अभिलेखमा यी दुबै गाउँलाई ललितपुर र भक्तपुर भनेर अभिलेखीकरण गरिएको छ ।
यहाँका बाहुन तथा क्षेत्री समुदायको खलिया ,हलिया गरेर जीवन गुजारा गर्दै आएका दलितहरुको ललितपुर गाँउमा ६० परिवार लुहारजातिको बसोबास छ भने भक्तपुरमा ४० परिवार भुल (सार्की) जातिको बसोबास छ । “भुलवाडा र ल्वारवाडाका मान्छे भन्दा हामीलाई पनि अलि असजिलो जस्तो लाग्थ्यो स्थानीय हाँसु ल्वारले भन्नुभयो , तल्कोट गाउँपालिकाको ललितपुर र भक्तपुर गाउँका मान्छे हौ भन्दा अहिले हामीलाई गर्व लाग्छ” ।
दलितको बस्ती बाहुल्य रहेको यस वडामा स्थानीय तहको निर्वाचनमा दलितकै उम्मेदवारले बहुमतले विजयी हुनुभएको थियो । गाउँपालिकाको केन्द्र रहेको तल्कोट खौलाबजारबाट आधा घण्टा हिडेपछि ललितपुर र भक्तपुरमा पुगिन्छ । झण्डै एक सय भन्दा बढी परिवार रहेका यी बस्तीहरु नजिकै जोडिएका छन् । जग्गा जमिन खासै नभएका र बस्ने घर मात्र आफ्नो नाममा भएका यी दलित परिवारहरुको सार्कीहरुले छालासम्बन्धी काम र बिकहरुले फलामसम्बन्धी काम  गर्दथे । तर पछिल्लो समयमा यी पेसाबाट घर परिबार पाल्न  धौ धौ हुने भएपछि यहाँका दलित समुदायको मुख्य आम्दानीको स्रोत भनेको भारतमा चौकिदारी गर्नु हो । कमाई खाने जमिन भने छैन भने गाई गोरु चराउन र दाउरा घाँस गर्नलाई समेत बन जंगल छैन् । स्थानीय नन्दु बिकले भन्नुभयो वरपरका सबै ठाउँमा बर्षौदेखि गैरदलितहरुले वन जंगल आफ्नो बनाएका छन् , हामीलाई चलन भोग गर्न दिएका छैनन् ।
पछिल्लो समयमा पनि दलित अगुवाहरुले पुराना दलित बस्तीका नामहरु डुमवाडा , ल्वारवाडा, भुलवाडा , सुनार गाँउ , ढोलीवाडा , डुमवाडा जस्ता दलितको पहिचानका रुपमा जातिय विभेद देखिने गरी राखेका गाउँटोलका नाम अहिले परिवर्तन गरिएका छन् । तल्कोट जस्तै मष्टा गाउँपालिको भातेखोलामा रहेको भुलगाँउलाई पनि अहिले गैरीगाँउ भन्ने गरिन्छ । साथै थलारा पिखेतमा रहेको डुमवाडा लाई पनि अहिले नाम सुधार गरि नुवाघर भन्ने प्रचलन छ । त्यस्तै अन्य ठाँउमा पनि यसरी दलितका जातका नाममा राखेका गाउँटोलका नामहरु परिवर्तन गरिन थालेको छ । जिल्लामा जातीय विभेद धेरै भएकाले यस्तो गर्नु आवस्यक भएको दलित अगुवाहरुको भना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?