logo
२०८० चैत्र ६ मंगलवार



महामारी टरेको छैन, हतार नगरौँ

पढ्नै पर्ने |


महामारी टरेको छैन, हतार नगरौँ


केशवराज पौडेल
काठमाडौ, माघ ७ गते । विश्वका महामारी तीन वर्षभन्दा अघि कहिल्यै पनि नियन्त्रणमा आएका छैनन् । महामारीमा सकृय हुने भाइरसको अनुवंशमा परिवर्तन भयो भने त्यसलाई म्युटेसन भएको भनिन्छ । आफूलाई जोगाउन भाइरसले निरन्तर आफूलाई म्युटेसन गर्छ । त्यसैगरि भाइरसको आफ्नो स्वरुप परिर्वतन गरेसँगै मानिसले आफ्नो रणनितीलाई परिवर्तन गरे, आफूसँगै आफ्नो मानव समाजलाई जोगाउन सकिने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे भन्नुहुन्छ ।
नेपालको छिमेकी राष्ट्र चीनको बुहान सहरबाट सुरु भएको कोभिड–१९ नेपाल आउन निक्कै समय लाग्यो । तर बेलायतमा म्युटेसन भएको सोही भाइरस नेपाल आइपुग्न एक साता पनि लागेन । दूरी टाढा र नजिक भएर मात्रै नभएर संयमता आफूले आफैलाई गर्ने र निगरानीको बढाउने हो भने महामारीबाट जोगिन सक्ने डा.पाण्डे भन्नुहुन्छ ।
‘विश्वमा भएका महामारी नियन्त्रणमा आउन कम्तिमा तीन वर्ष लागेका छन्,हामीले एक वर्षमै हतार गर्न थालेका छौ’ डा.पाण्डे भन्नुहुन्छ यसले ठूलो दुर्घटना निम्तिन सक्छ । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो कत्तिको खतरानाक छ भन्ने बारेमा बहस सुरु भएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्टको उद्मस्थल बेलायतबाट केही दिनअघि नेपाल आएकाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानीमा राखेको र उनीहरुमा नयाँ प्रजातिको कोरोनाको पुष्टि भएको हो । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो । सो प्रजाती बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बी.१.१.७ वा २० बी(५०१ वाईभी वान रहेको पुष्टि भएको हो । नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुसमा बेलायत हुँदै नेपाल फर्किएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतबाट फर्किएकामध्ये छ जनामा गरिएको कोरोना परीक्षणमा तीन जनामा एस–जिन टार्गेट नेगेटिभ देखिएको बताउनुभयो । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै ती तीन वटा नमुना गत २७ पुसमा स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाएको थियो । नेपालमा भ्याक्सिन उपलब्ध नहुँदासम्म कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
चिकित्सकका अनुसार भाइरसको अनुवंशमा परिवर्तन भयो भने त्यसलाई म्युटेसन भएको भनिन्छ । आरएनए भाइरसको चरित्र बिस्तारै परिवर्तन एवं नयाँपन हुँदै जाने र भौगोलिक अवस्था तथा प्राणीको फरकपन अनुसार भाइरसको म्युटेसन हुन्छ ।
डा. पाण्डेले थप्नुभयो, ‘भाइरसमा उत्परिवर्तन भइरहने भएकाले आफ्नो जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ । जब भाइरस नयाँ रणनीतिसँग आउँछ, हामीले पनि भाइरसबाट बच्न थप रणनीति अपनाउन जरुरी छ ।’ डा. पाण्डेले भने, ‘नयाँ प्रजातिको कोरोना भाइरस धेरै संक्रामक भए पनि घातक प्रभाव पुरानो प्रजातिको जस्तै छ । कारण, लक्षण, उपचार तथा रोकथाम समान भएकाले आत्तिनुपर्दैन ।’
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति बेलायतसहित दक्षिण अफ्रिका, भारत, युरोपियन देशलगायत ५० भन्दा बढी देशमा फैलिसकेको छ । यो भाइरस (बी.१.१.७) यसअघिको कोरोना भाइरसभन्दा ५६ देखि ७० प्रतिशत बढी फैलिने अध्ययनहरूले देखाएका छन् ।
अहिले दक्षिण अफ्रिका म्युटेसन भएको कोरोनाको नयाँ भाइरस बेलायतको भन्दा पनि निक्कै खतरनाक रहेको जनस्वास्थ्य विज्ञ डा. पाण्डेले भन्नुभयो । त्यसको फैलने गुण र मृत्युहुने दर अहिलेको भाइरसभन्दा धेरै रहेको उहाँले स्पष्ट पार्नुभयो । अफ्रिकामा म्युटेसन भएको सो नयाँ प्रजातीको भाइरसलाई अहिलेको खोपले समेत काम नलाग्न सक्ने डा.पाण्डेले भन्नुभयो । सो भाइरस जापानसम्म आइपुगि सकेको छ । त्यो भाइरस नेपाल जति बेला पनि आउन सक्छ । त्यसको तयारीमा लाग्न ढिला भैसक्न सक्छ ।
जनस्वास्थ्यमा ख्याल राख्नुस्
भाइरसले आफ्नो स्वरुप परिर्वतन भैरहेको समयमा नेपालमा भने जनस्वास्थ्यको विषयमा ख्याल नगर्ने परिपाटीको विकास हुनु चिन्ताको बिषय भएको उहाँले भन्नुभयो ।
‘मानिसहरुमा माक्सको प्रयोग गर्न छाड्नु, अनावश्यक रुपमा भिडभाड हुने कार्यक्रमहरु संचालन हुनु राम्रो कुरा हैन’ डा.पाण्डे भन्नुहुन्छ । ‘सडक आन्दोलन, विद्यालय संचालन, सिनेमा हल सञ्चालन हुँदा संक्रमण एकै पटक घर घरमा पुग्न सक्छ जसले दीर्घरोगी र जेष्ठ नागरिकलाई समस्या पार्छ’ उहाँ भन्नुहुन्छ । ‘सरकारले समेत निगरानी बढाउने र व्यक्ति स्वयम्पनि कोरोनाबाट जोगिनको लागि व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्छ’उहाँले भन्नुभयो ।
बेलायतमा देखिएको प्रकृतिको भाइरस भारतमा आएकाले त्यो खुल्ला सीमा नाकाको कारण नेपाल भित्रिन सक्छ । त्यसका लागि सरकारी संयन्त्रले विशेष निगरानी बढाउन आवश्यक भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?