logo
२०८१ बैशाख ८ शनिवार



कर्णालीमा घट्दै सङ्क्रमितः कोरोना विशेष अस्पतालमा दुई जनामात्रै उपचाररत

फिचर |
पढ्नै पर्ने |


कर्णालीमा घट्दै सङ्क्रमितः कोरोना विशेष अस्पतालमा दुई जनामात्रै उपचाररत


ललित बसेल
सुर्खेत, माघ २ गते । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितहरुको संख्या क्रमशः घट्दै गएको छ । परीक्षणको दायरा घटेसँगै नयाँ पत्ता लाग्ने सङ्क्रमितको संख्या पनि घटेको छ । साथै रोग निको भएर घर जानेहरु बढेपछि सक्रिय सङ्क्रमितको संख्यामा पनि कमी आएको छ ।

सामाजिक विकास मन्त्रालयले शुक्रवार निकालेको विज्ञप्तिमा कर्णालीमा कुल संक्रमितको संख्या सात हजार ४५३ पुगेको छ । कर्णालीमा गत जेठदेखि कोरोना सङ्क्रमण देखिँदा भारतबाट आउनेहरुका कारण पिसिआर परीक्षण दायरा बढाइएकोमा गत कात्तिकदेखि परीक्षण घटेको छ । सुर्खेतस्थित प्रदेश अस्पतालका कोरोना फोकल फर्सन डा. नवराज केसीले कोरोनालाई सामान्य रुपमा लिएका कारण परीक्षणको दायरा र सङ्क्रमितहरु पनि घटेको बताउनुभयो । उहाँले मानिसहरु पनि कोरोनाप्रति सजग भएको, दूरी अपनाएको, मास्कको प्रयोग गर्ने गरेको र सामान्यरुपमा लिँदा सङ्क्रमण दर पनि घटेको उल्लेख गर्नुभयो ।

भदौमा सबैभन्दा धेरै २१ हजार परीक्षण
मन्त्रालयका अनुसार कात्तिकमा सात हजार ७३५ परीक्षण भएको थियो भने मङ्सिरमा तीन हजार ७१४ र पुसमा घटेर दुई हजार ७३ परीक्षण गरिएको थियो । कर्णालीमा सबैभन्दा धेरै परीक्षण भदौमा २१ हजार ४०१ वटा गरिएको थियो । विहीवारसम्म कर्णालीमा ९६ हजार ६३१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमा सबैभन्दा धेरै सुर्खेतको प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ५० हजार ६५०, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ हजार २२१, रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रयोगशालामा १० हजार ६२३ र दैलेख अस्पतालमा ६ हजार ९३७ जनाको परीक्षण गरिएको छ ।

असोजमा धेरै सङ्क्रमित पुष्टि
जेठदेखि देखिन थालेका सङ्क्रमितहरुमा सबैभन्दा धेरै असोज महिनामा देखिएका थिए । असोजमा दुई हजार ११ जना सङ्क्रमित पुष्टि भएका थिए । परीक्षणको दायरा कम भएपछि सङ्क्रमितहरु पनि कम फेला परेका छन् । मङ्सिरमा ६८२ जना नयाँ सङ्क्रमित फेला परेका थिएभने पुसमा ३२२ जना मात्र फेला परेको मन्त्रालयले जनाएको छ ।

सुर्खेतमा सबैभन्दा धेरै सङ्क्रमित
हालसम्म सुर्खेतमा तीन हजार २१६ जना, दैलेखमा एक हजार ६७७ जना, सल्यानमा ६७१ जना, जुम्लामा ४०७ जना, कालीकोटमा ३३१ जना, रुकुम पश्चिममा २५७ जना, जाजरकोटमा १५८ जना, हुम्लामा ५७ जना, डोल्पामा ४४ जना र मुगुमा ४१ जना सङक्रमित भएका छन् । कर्णालीमा सबैभन्दा धेरै सङ्क्रमित सुर्खेतमा देखिएका छन् ।

कात्तिकमा सबैभन्दा धेरै निको
यस्तै शुक्रवार निको भएर आठ जना घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको कूल संख्या सात हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै कात्तिक महिनामा दुई हजार ८२ जना निको भएर घर फर्किएका छन् । परीक्षण र नयाँ सङ्क्रमित हुने घटेपछि निको भएर घर जानेहरुको संख्यामा पनि कमी आएको छ ।

२८ जनाको मृत्यु
कोरोनाका कारण कर्णालीमा हालसम्म २८ जनाको मृत्यु भएको छ । जसमा २० पुरुष आठ महिला छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै सुर्खेतका १६, दैलेखका छ, डोल्पा, कालीकोट, रुकुम पश्चिमका एक/एक जना र बाँकेका दुई तथा स्याङ्जाका एक जना छन् ।

सक्रिय सङ्क्रमित १११ जना
अव प्रदेशका विभिन्न जिल्लाका आइसोलेशनमा गरी १११ जना मात्रै सक्रिय सङक्रमित छन् । सल्यानमा ३१, सुर्खेतमा २२, डोल्पामा २५, दैलेखमा १७, हुम्लामा ११, जाजरकोटमा ३ र जुम्लामा २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

तीन जिल्लामा सङ्क्रमित शुन्य
शुक्रवारसम्म कर्णालीका तीन जिल्लामा सङ्क्रमितको संख्या शून्य छ । कालीकोट, मुगु र रुकुमपश्चिममा कोरोना सङ्क्रमितको संख्या शून्य छ । तथ्यांक हेर्दा अब जुम्ला र जाजरकोट पनि शून्य हुने अवस्थामा रहेको देखाउँछ ।

अस्पतालमा दुई जना मात्रै उपचाररत
सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा शुक्रवारसम्म दुई जना सङ्क्रमितमात्रै उपचारमा हुनुहुन्छ । अस्पतालका कोरोना फोकल फर्सन डा. नवराज केसीले ६७ वर्षीया महिला र ८० वर्षीया पुरुष मात्रै कोरोना विशेष अस्पतालमा उपचारमा रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?