logo
२०८१ बैशाख १३ बिहीवार



छात्रावासमा २४ रुपियाँमै दालभात, तरकारी !

फिचर |
पढ्नै पर्ने |


छात्रावासमा २४ रुपियाँमै दालभात,  तरकारी !


अमरराज नहर्की
तनहुँ, माघ २ गते । लमजुङको मध्यनेपाल नगरपालिकाको दुइपिप्लेकी छात्रा सिर्जना घिमिरेको अध्ययनमा लाग्ने खर्च मासिक सात हजारभन्दा बढी बचत भएको छ । तनहुँको सदरमुकाम दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासमा बसेर अध्ययन गर्ने मौका पाएपछि सिर्जनाको परिवारलाई आर्थिक भार कम पर्न गएको छ ।

सिर्जना जस्तै छात्रावासमा बस्ने २६ छात्राहरु सस्तो मूल्यमा खाना र सहज तरिकाले अध्ययन गर्न पाएपछि मख्छ परेका छन् । बीबीएस प्रथम वर्षमा अध्ययररत सिर्जनाले छात्रावासमा शान्त वातावरणमा नजिक भएकोले अध्ययन गर्न सहज र सस्तो मूल्य भएकोले आर्थिक भार कम पर्न गएको बताउनुभयो । ‘‘बाहिर कोठा लिएर बसेको भए मासिक १० हजारभन्दा बढी खर्च हुन्थ्यो अहिले तीन हजार पाँच सय पनि खर्च हुँदैन’’ सिर्जनाले गोरखापत्रसँग भन्नुभयो ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाकी छात्रा सुस्मिता तिमिल्सिनालाई छात्रावासले सस्तो मूल्यमा विज्ञान पढ्ने सपना पूरा गरिदिएको छ । सुस्मिता कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गरिरहनुभएको छ । ‘‘विज्ञान विषय पढ्नलाई जटिल छ छात्रावासमा बस्दा कामको चाप नहुने भएकोले अध्ययन गर्न सजिलाे भएको छ’’ सुस्मिताले भन्नुभयो । सुस्मितासँगै कक्षा ११ मा पढ्दै गर्नुभएकी भानु नगरपालिका–३ चाम्बासकी सुमिना कँडेल छात्रावासमा अध्ययन गर्न पाएकाले विज्ञान पढ्न पाएको बताउनुभयो । ‘छात्रावास नपाएको भए गाउँमै शिक्षा वा व्यवस्थापन सङ्कायमा पढ्नुपर्ने अवस्था आउँथ्यो’ सुमिनाले भन्नुभयो । विज्ञान विषयमा उहाँहरुसँगै अध्ययन गर्ने तनहुँको व्यास नगरपालिका–८ बाहुनपोखराकी प्रतीक्षा गुरुङ र भानु नगरपालिका–१ खहरेकी सङ्गीता रानामगरलाई छात्रावासले विज्ञान पढ्ने सपना पूरा गरिदिएको छ । घरबाट आउन जान सम्भव थिएन, छात्रावासमा बस्नको लागि नाम निस्किएपछि आफूले चाहेको विषय पढ्न पाएको छु’ प्रतीक्षाले भन्नुभयो । छात्रावासमा बस्न पाउँदा घरमै बसेर अध्ययन गरेको जस्तो अनुभूति भएको सङ्गीताले गोरखापत्रलाई बताउनुभयो ।

सहिद चन्द नेपाली छात्रावास छात्रावासमा बसेर आदिकवि भानुभक्त क्याम्पसमा पढ्ने छात्रा र अभिभावकको आर्थिक भार कम पर्दा खुसीको सीमा नै छैन । एक छाकको २४ रुपियाँमै दाल,भात र तरकारी पाउँदा छात्राहरु खुसी हुने गरेको छात्रावास प्रमुख तथा सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी दिनुभयो । ‘बिहान र बेलुका खना र चिया दिउँसो खाजा समेत गरेर दैनिक ८४ रुपियाँ खर्चमा विद्यार्थीले अध्ययन गर्न पाएका छन् यसले गर्दा अभिभावकलाई आर्थिक भार कम भएको छ’ सहायक क्याम्पस प्रमुख लम्सालले भन्नुभयो । सस्कार युक्त छात्राहरु बनाउनको लागि साताको एक दिन एक छात्रालाई खाना पकाउने पालो पर्ने र आफूले प्रयोग गरेको भाँडाकुँडा आफैले माझ्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । सहायक क्याम्पस प्रमुख लम्साललको अनुसार समूहमा खाना, खाजा बनाउँदा समय, उर्जाको वचत तथा छात्रावास परिसरबाट पनि केही तरकारीहरु उत्पादन भएकोले सस्तो पर्न गएको हो ।

गण्डकी प्रदेश सरकारले छात्रावासमा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रमको लागि ५ लाख रुपियाँ रकम हालै विनियोजन गरेको क्याम्पसले जनाएको छ । क्याम्पसका अनुसार छात्रावास निर्माणमा समेत अहोरात्र खट्नुभएका गण्डकी प्रदेश सभा सदस्य डोबाटे विश्वकर्माले पहलकदमी बाट उक्त वजेट परेको हो । देवघाट गाउँपालिकाले हालै दुई लाख रुपियाँ खर्च गरेर छात्रावासको लागि इनार खनिदिएको छ । बन्दीपुरमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा सहिद हुनुभएका चन्द्रबहादुर नेपालीको सम्झनामा छात्रावास स्थापना गरिएको हो । छात्रावास २ वर्ष अघिदेखि सञ्चालनमा आएको छ । छात्रावासको लागि आवश्यक जग्गा सोही ठाउँस्थित निर्मल माध्यामिक विद्यालयले दिएको छ । छात्रावास क्याम्पस परिशरमा रहेको छ । छात्रावास ३० जना क्षमताको  छ ।

सहिद एवं बेपत्ता परिवार, जेहेन्दार, सीमान्तकृत, भुूकम्प पीडित, अपाङ्ग, दलित, जनजाति र आर्थिक रुपमा बिपन्न छात्राहरुलाई प्राथमिकता दिएर छात्रावासमा राख्ने गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले जानकारी दिनुभयो । छात्रावासमा बस्नेले मासिक रुपमा एक हजार मात्रै शुल्क बुझाउनुपर्छ । उक्त रकम पानी, बिजुलीको शुल्क, सरसफाइ तथा एक जना कर्मचारीको लागि खर्च गरिँदैंआएको छात्रावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?