logo
२०८१ बैशाख १३ बिहीवार



स्थानीयकाे विरोधपछि ऐतिहासिक गढी दरबारको जीर्णाेध्दार रोकियो

प्रदेश |


स्थानीयकाे विरोधपछि ऐतिहासिक गढी दरबारको जीर्णाेध्दार रोकियो


राममणि दाहाल
हेटौँडा, माघ १ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक गढी दरवारको जीर्णाेध्दारको काम रोकिएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थितसेनवंशीय राजाहरुको मकवानपुरगढी दरवार जीर्ण अवस्थामा रहेकोमा भूकम्पले चर्किएर थप जीर्ण भएपछि पुरातत्व विभागले मर्मत गर्ने काम सुरु गरेको थियो ।
तर स्थानीयसँगै पुरातात्विक महत्वको गढी दरवारप्रति चासो राख्नेहरुले अव्यवस्थित र सम्पदा एवं दरवार क्षेत्रमा आउनेहरुको सुरक्षा सावधानी विना भत्काउन थालेको भन्दै आपत्ति जनाएपछि मर्मतको रोकिएको छ ।
पुरातत्व विभागले निर्माण कम्पनी आरआर÷हारतीमाता÷आरपीएस जेभीलाई मर्मतका लागि ठेक्कामा दिएपछि कम्पनीले पाँच जना मजदूर लगाएर मर्मत तथा संरक्षणको काम थालेको वडाध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिनुभयो ।
उहाँले स्थानीय र गढी दरवारको संरक्षणप्रति चासो राख्नेहरुले सार्वजनिक रुपमा पुरातत्व विभाग र निर्माण कम्पनीबाट लापरबाहीपूर्ण ढङ्गबाट काम गरेको भन्दै विरोध जनाएपछि काम रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, स्थानीय जनप्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, निर्माण व्यवसायी र सरोकारवालाहरुको छलफलपछि निर्माण प्रक्रिया अगाडि बढाउने गरी गढी दरवारको मर्मत र संरक्षणको काम रोकिएको छ ।
उहाँका अनुसार दरवारको लडेको पर्खाल, चर्केका र झर्न लागेको ढुङ्गालाई ब्यवस्थापन र पुरानै आकारमा बन्ने गरी चुनासुर्कीबाट जोडाई गरी निर्माण कार्य हुँदैछ । ७७ लाख ३९ हजार ४१६ रुपियाँको लागतमा आगामी असार १५ गतेभित्र मर्मत कार्य सम्पन्न गर्ने गरी गत मङ्सिर २९ गते निर्माण कम्पनी र विभागबीच सम्झौता भएको छ ।
आधुनिक नेपालको स्थापना पूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाएको सेनवंशीय शासनको ऐतिहासिक विरासतको रुपमा हेटौँडाबाट १६ किलोमिटरको दुरीमा रहेकोे मकवानपुरगढी दरवारलाई लिइन्छ ।
गढीमा जीर्ण अवस्थामा रहेको दरवारसँगै सिक्रीले बाँधिएको वंशगोपालको मूर्ति रहेको छ ।
दरबारका पर्खालहरु भत्किएर ढुङ्गाहरु असरल्ल बनेको र त्यहाँ जानेहरुका लागि जोखिम बढेपछि विभागले मर्मत र संरक्षणको प्रक्रिया अगाडि बढाएको हो ।
अध्यक्ष पाख्रिनले विभागसँग एक वर्ष अघिदेखि मर्मत र संरक्षणका लागि छलफल भएको भन्दै त्यसको परिणाम पुनर्निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले दरवारको पहिलेको स्वरुप कस्तो थियो भन्ने कुनै प्रमाणिक आधार र पुष्टि नभएका कारण छानो हाल्ने काम नहुने र भएको गारोको मर्मत र संरक्षण विभागकै निर्देशनमा हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?