logo
२०८० चैत्र १६ शुक्रवार



नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न गर्न अहोरात्र काम

पढ्नै पर्ने |


नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न गर्न अहोरात्र काम


सञ्चिता घिमिरे

काठमाडौँ, पुस २९ गते । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ । बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्काे सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उहाँले भन्नुभयो, “समयमै काम सकिन्छ भन्ने लागेको छ ।”

सुरुङमार्गमा अहिले २०÷२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ । जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार दिनमा काम गर्ने घण्टा बढाउँदा धेरै काम अघि बढ्नेछ । उहाँले भन्नुभयो, “तोकिएको अवधि ४२ महिनामा नै सकाउने गरी काम भइरहेको छ ।”

कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ । मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उहाँले बताउनुभयो । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ । त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।” आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिनुभयो ।

नैकाप नजिकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उहाँले जानकारी दिनुभयो । सुरुङमा यसअघि मेसिनले कोतरेर खन्ने काम काम भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानिजले गर्ने काममा मेसिनबाटै बढी हुन्छ ।” कतिपयले स्थानीयवासीले पहिले विभिन्न कारण देखाएर आयोजना निर्माणमा अवरोध गर्न खाजेका थिए । अहिले त्यो समाधान गर्दै निर्माण भइरहेको प्रमुख थापाले बताउनुभयो । सुख्खा ठाउँ भएकाले सुरुङको काठमाडौँपट्टि वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । आयोजनाले सुख्खा मौसममा सर्वेक्षण गर्दा पानीको अभाव देखिएको थियो । विकल्प खोज्नुपर्छ भनेर आयोजनामा डिप बोरिङलगायत योजना रहेको उहाँले बताउनुभयो । सुरुङ खन्न बाँकी भए पनि कतिपयले यसकै कारण अभाव बढेको त कतिपयले पूरै वडासम्म र निःशुल्क पानी माग गरेका छन् । सुरुङ जमीनको एक सय मिटरमुनि हुने र माथि घर बनाउने, खेती बनाउने गर्न मिल्ने भए पनि त्यहाँका मानिसले मुआब्जा मागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुङमा घर पनि बनाउन पाउने र मुआब्जा पाउने भन्नेछ ।”

गत वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारीसाधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रिँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् ।

सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गामाटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ । जाइकाको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न प्रक्रिया शुरु भएको दुई वर्षपछि मात्रै निर्माण थालिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?