logo
२०८१ बैशाख १२ बुधवार

  भारतीय टिभी ‘जी न्यूज’सँग प्रम ओलीको अन्तर्वार्ता (भिडियोसहित)  



भूगोलमा सानो ठूलो भएपनि नेपाल–भारत सार्वभौममा समान छौंः प्रधानमन्त्री ओली

पढ्नै पर्ने |
मुख्य समाचार |


भूगोलमा सानो ठूलो भएपनि नेपाल–भारत सार्वभौममा समान छौंः प्रधानमन्त्री ओली
भिडियो साभारः ‘जी न्यूज’


लक्की चौधरी

काठमाडौँ, पुस २८ गते । काठमाडौं, पुस २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भूगोल र जनसंख्यामा नेपाल र भारत सानो ठूलो भएपनि सार्वभौम समानता बरावर भएको बताउनुभएको छ । आकारमा सानो ठूलो भएपनि देशकोरुपमा हामी समान हौं भन्नुभयो ।
भारतीय टेलिभिजन जी न्यूजका पत्रकार सुधीर चौधरीसँग सोमबार साँझ अन्तरवार्ता दिनुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । प्रधानमन्त्री अ‍ोलीले हामी दुई देश सार्वभौमसत्ता सम्पन्न देश भएको, असल छिमेकी र एउटै क्षेत्रमा भएको देश भएको बताउनुभयो । “यो पुरानो जमाना होइन, यो स्वाधिनताको युग हो, पारस्परिक सम्मानको युग हो, यसलाई सबैले मान्नुपर्छ” उहाँले भन्नुभयो । वहस जारी छ, यही वहसले सत्यलाई बाहिर ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । हाम्रो परम्परा पनि छ “जब दुनियाँ अन्धकारमा थियो, त्रेतायुगमा जनकपुरमा यज्ञमुल्क, डार्गी, अस्तबक्र लगायतका ऋषिहरु र विदुषीहरु, शास्त्रार्थहरुले शास्त्र, जीवनजगतका बारेमा विवाद गर्थे त्यहीबेला दर्शनको उत्पत्ति भयो” उहाँले भन्नुभयो ।
“युरोपियनहरुले शास्त्रको जन्म अरस्तुको पालामा भएको भन्छन् तर अरस्तु ईसापूर्व ६०० सालको मात्र हो, त्योभन्दा १५ सय वर्ष पूर्व दर्शनको बारेमा छलफल हुन्थ्यो, त्यसैले वहस हुनु राम्रो हो, वहस स्वस्थ हुनुपर्छ” प्रधानमन्त्री अ‍ोलीले थप्नुभयो, “भारत हिजोसम्म आफूलाई ‘बोस’ सम्झिन्थ्यो, व्यक्तिगत तवरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मभन्दा दुई वर्ष जेठो हुनुहुन्छ, जब हामी प्रधानमन्त्रीको हैसियतमा एक ठाउँमा बस्छौं तव ठूलो र सानोको हैसियतले होइन, दुवै सार्वभौम भूलुकको समान हैसियतको प्रधानमन्त्रीको हिसावले बस्छौं ।”
“मोदीजी उमेरको हिसावले मभन्दा जेठो हुनुहुन्छ, धेरै देशका प्रधानमन्त्री हामीभन्दा छोटो उमेरका पनि छन्, जब हामी राजनीतिमा लाग्यौं, उनीहरुको जन्मपनि भएको थिएन, तर उनीहरु पनि प्रधानमन्त्री हुन्, हामी हैसियतकै प्रधानमन्त्री हुन्” प्रधानमन्त्री ओलीले थप्नुभयो, “हरेक प्रधानमन्त्रीको बरावरको हैसियत हुन्छ, यसमा मोदीजीलाई कुनै आपत्ति छैन, तर मेरो कुरालाई लिएर मोदीजीको बरावरीको प्रधानमन्त्री भन्दा अरुले नराम्रो मान्नेहरु पनि छन् त म के गरुँ ? म देशको कुरा गरिरहेको छुँ, व्यक्तिको होइन ।”
चीन र भारत दुवै नेपालको छिमेकी हुन् र छिमेकीलाई बदल्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो लागि खुशीको कुरा हो कि दुवै देशका आफ्ना ठूला बजार छन्, उत्पादन गर्न सकेमा हाम्रोलागि राम्रो हो, गर्न सकेनौ भने हामीलाई घाटा हो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुल सन्तुलित सम्बन्ध दुवै छिमेकीबाट राख्न चाहन्छौं, एकको कार्ड दोस्रोसँग खेल्ने होइन, खेल्दा कसैको भलाई हुँदैन ।” यो ‘कार्ड प्ले’ गर्ने समय होइन, यो शैलीमा हामी नजाने उहाँले प्रष्ट पार्नुभयो ।
“गलवानसँग हाम्रो लेनादेना छैन, नेपालको भूमिसँग हाम्रो सरोकार हो, भारतले आफ्नो नक्सा प्रकाशन गरेपछि हामीले आफ्नो कुटनीतिक नोट पठायौं, वार्ताकालागि आव्हान ग¥यौं, तर भारतबाट कुनै प्रतिक्रिया आएन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “यो गर्नु उचित भएन भन्यौं, हाम्रै भूमिमा सडक बनायो भारतले, फेरि हामीले यो ठीक भएन भन्यौं, तरपनि प्रतिक्रिया आएन, गलवानसँग हामीलाई किन जोड्ने ? ।” हाम्रो राजनीति भनेको तटस्थताको राजनीति हो, दुवै छिमेकीसँग हाम्रो नीति त्यही हो उहाँले भन्नुयभो ।
“छिमेकी देशसँग वार्ता वहस भइरहेको छैन भने हामीले वार्ताका लागि प्रयास गर्न सक्छौं, अविश्वास हटाउन भूमिका निभाउन सक्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालले भारत र चीन दुवैबीच वार्ता गराउन भूमिका खेल्न सक्छ, हामी दुवै देशको साथी हौं, त्यो गराउन सक्छौं ।”
आगामी निर्वाचनमा कस्तो परिणाम आउला ? पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “आउने निर्वाचनमा हाम्रो दल नेकपाले बहुमत ल्याउँछ भन्ने हामी विश्वस्त छौं, निर्वाचनपछि पनि देशको नेतृत्व मलाई नै गर्नुपर्ने अवस्था आउला” प्रधानमन्त्री अ‍ोलीले थप्नुभयो, “निर्वाचनपछि नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन योगदान गर्न सक्छौं ।” नेपालले चीन र भारत दुवैतिर समान व्यवहार गरिरहेको, कसैप्रति बढी र कम नभएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “हात्ति यदि लड्यो भने मैदानकै नोक्सान हुन्छ, हात्ति यदि मिल्यो भने पनि मैदानकै नोक्सान हुन्छ ।” चीन र भारत दुवै ठूला देश भएकाले मिल्दा हुने नोक्सानलाई हामी छाडिदिन्छौं उहाँले भन्नुभयो ।
ठूला छिमेकी एक आपसमा लड्दा हामीलाई नोक्सान त अवश्य हुन्छ उहाँले भन्नुभयो, “हामी चाहन्छौं, यो एसियाको जमाना हो, आफ्नै बलबुतामा विकास गर्नुपर्छ, हिजोसम्म अरुको सम्पत्ति लुटेर विकास गर्ने जमाना थियो, अब त्यो रहेन ।” आफ्नै बलबुतामा विकास गर्न शान्ति चाहिन्छ, मित्रता र तनावरहित वातावरण चाहिन्छ, तवमात्र विकासलाई गति दिन सकिने उहाँले प्रष्ट पार्नुभयो । आफ्नै भित्र होस् कि छिमेकीमा शान्ति भएमात्र विकासले गति लिनसक्ने उहाँले बताउनुभयो ।
“त्यसैले हामी चाहन्छौं कि परोसी देशमा विश्वासको वातावरण होस्, सही र भरोसायोग्य मित्रता होस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “एकअर्काको मित्रता हो तर सन्देह छ भने सुतेका बेला निद्रा आउँदैन, मित्रताको नाममा खतरनाक मित्र सुतेको बहाना गर्दा कसरी निद्रा आउँछ ?” नेपाल अस्तित्वमा भएको देश हो, तटस्थताको नीति लिएको देश भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले थप्नुभयो, “हामी कुनै छिमेकीको विरुद्धमा नेपाल भूमि दुरुपयोग हुन दिंदैनौं, यो हाम्रो नीति हो ।”
यो समय एसियाको भएको र यहीबाट मानव सभ्यताको विकास भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “एसियाको सभ्यता, इतिहास गौरवपूर्ण छ तर शासकहरुको कमजोरी देखियो, खासगरी विज्ञान प्रविधिको विकास भएका औजारहरु यहाँको शासकको विरुद्धमा दुरुपयोग भयो ।” इन्जिन, इष्टिमर, औजार सबै हाम्रो खिलापमा भए, दुनियाँको मानिसका लागि सदुपयोग गर्नुपर्ने तर जति पनि औजार र अस्त्र बने सबै हामी विरुद्ध दुरुपयोग गरिए उहाँले भन्नुभयो ।
“भारत र चीनजस्तो विशाल देशमा के चिजको कमी थियो ? जो गरिब रह्यो, के भारतसँग जनसंख्या थिएन, हिमाल पहाड तराई थिएन ?” तर विज्ञान प्रविधिको जो विकास भयो, भारत र चीनको विरुद्ध दुरुपयोग भएको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । त्यसको असर नेपालमा पनि परेको उहाँले बताउनुभयो । नेपाल कसैको उपनिवेश नबने पनि त्यसकै असरले नेपाल गरिब भएको प्रष्ट पार्नुभयो । अब त्यो जमाना गएको उहाँले प्रष्ट पार्नुभयो ।
“म नेपालको बारेमा मात्र बोलिरहेको छैन, सभ्यता, इतिहास र सन्तहरुको कुरा गर्दा हिमवतखण्डको कुरा गर्नेगर्छु, यो प्रकृतिको अनुपम सौन्दर्य र खनिजको खानी हो ।” हाम्रो यहाँ तीन हजार वर्ष सालभन्दा पहिले चिकित्साशास्त्रको विकास भएको उहाँले चर्चा गर्नुभयो । “न्यूतनभन्दा पाँच–छ सय साल वर्ष पहिले सन् एघार सय पचासमा भाष्कर आचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएका थिए कि कसरी रुखबाट फल जमिनमा खस्छ भनेर, त्यो थाहा पाएपछि ग्यालिलियो अचम्मित परेका थिए” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
“हाम्रो ज्ञान विस्तार हुन पाएन, हाम्रा पूर्वजसँग अथाह ज्ञान थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी अब विशाल मन लिएर अघि बढ्नुपर्छ, कहाँ कहाँ छिद्र छन् भनेर खोज्दै जाने होइन, नेपाल र भारतबीचको तिक्तताको छिद्र खोज्दै हिड्ने होइन, सम्बन्ध सुधार गरेर अघि बढ्नुपर्छ ।” भारतमा धेरै विद्वान छन् तर हाम्रो पुराना ग्रन्थ र अविस्कारको प्रचार प्रसार हुन नसकेको उहाँले चर्चा गर्नुभयो । जवारहरलाल विश्वविद्यालयले त्यसको नेतृत्व गरेमा राम्रो होला उहाँले भन्नुभयो ।
“हिजो उपनिवेशवादको जमाना थियो, तर त्यसको अवशेषको अन्त्य भएको छैन, त्यसको अन्त्य गर्नुपर्ने छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “गायत्रीमन्त्र जो मन्त्रको पनि मन्त्र हो, त्यो कौशिकी ऋषिले नेपालको कोसी किनारमा लेखेका थिए, व्यास ऋषि नेपालमै तपस्या गरेका थिए, त्यसैले यो ज्ञानको भूमि हो ।” नेपालसँग गर्व गर्न लायक चिज छ, योगको आविस्कार यहींबाट भएको उहाँले प्रष्ट पार्नुभयो । इतिहास अब पछाडि नजाने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।
“अखण्ड भारत कहिल्यै थिएन, द्रुपद, विराट, धेरै राजाको राज्य थियो” प्रधानमन्त्री अ‍ोलीले थप्नुभयो, “चार हजार साल पहिले मेसोपोटामिया सभ्यताले ४२ सय साल पहिले गाडीको पहिया बनाएका थिए, रामका पिता दशरथसँग दश वटा रथ थियो, रानी र विद्वानका लागि ।” यसको मतलब त्यो बेलादेखि आजको मितिसम्म आइपुग्दा हेर्ने हो भने राम नेपालमै जन्मेका तथ्य रहेको उहाँले बताउनुभयो । भारत वर्षको मतलब समुच्च इलाकालाई जनाउँथ्यो, भारतवर्षमा धेरै राज्य थिए उहाँले भन्नुभयो, “आजको एकीकृत भारत कहिले बन्यो, त्यसबारे जानकारी राख्नुपर्छ, त्रेतायुग, द्वापरयुगमा पनि धेरै राज्य थिए भारतमा ।” जसले जित्यो उसकै राज्य हुने अवस्था त्यतिबेला रहेको उहाँले चर्चा गर्नुभयो ।
“भारतवर्ष एक हिमवतखण्ड हो, यसकै मातहत भारतवर्ष थियो, अहिले एक भारत बनेको हो”चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “नेपालमा १२३ भाषा र १२५ जातजाति छन्, यो विविधतायुक्त देश हो ।” चीनको बारेमा भारतको चिन्तन एक किसिमको हुनसक्ला तर नेपालको चिन्तन र बुझाई आफ्नै खालको छ उहाँले प्रष्ट पार्नुभयो । भारतसँग नेपाल र नेपालीको ऐतिहासिक सम्बन्ध छ, सांस्कृतिक र धार्मिक सम्बन्ध पनि छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “नेपालको नदीबाट पानी भारत जान्छ, माछाहरु भारत जान्छन्, चराहरु आउँछन् जान्छन्, के तिनलाई सीमा थाहा हुन्छ ?”
भारतसँग नेपाल र नेपालीको धेरै भाषा र संस्कृति मिल्नेगरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री अ‍ोलीले सच्चाई र तथ्यलाई कसैले तोड्न नहुने चर्चा गर्नुभयो । सच्चाई र तथ्य, प्रमाणमा आधारित चिजको पछि लाग्नुपर्छ उहाँले थप्नुभयो, “हामी आफ्नो भूमिलाई समेटेर नयाँ नक्सा छाप्यौं, के भारतले, पाकिस्तान, बंगलादेशले आफ्नो भूमि समेटेर नक्सा छापेको छैन ?” प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “हामी कसैसँग बढी र कसैसँग कम व्यवहार गर्दैनौं, सबैसँग समान व्यवहार गर्ने हाम्रो नीति हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?