logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाको जोखिम टरेको छैन, जमघट र भीडभाड बढ्दै विज्ञहरु चिन्तित

पढ्नै पर्ने |


कोरोनाको जोखिम टरेको छैन, जमघट र भीडभाड बढ्दै    विज्ञहरु चिन्तित


मुकुन्द गैरे
काठमाडौँ, पुस १७ गते । पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेको देखिन आएको छ । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी बढ्न थालेको राजनीतिक गतिविधिका कारणले पनि खतरा बढेको जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना संक्रमणको जोखिम अझैँ नटरेको बताउनुभयो । नागरिकहरुका पछिल्ला गतिविधिमा स्वास्थ्य मापदण्डलाई राम्ररी पालना नगरेको देखिएकाले नेपालमा कोरोनाको महामारी पुनः दोहोरिन सक्ने खतरा रहेको उहाँ चेतावनी दिनुहुन्छ ।

दिनप्रतिदिन संक्रमणदर घट्नु राम्रो पक्ष भए पनि जोखिम भने नटरेको उहाँ बताउनुहुन्छ ।अरु देशको तुलनामा जनसंख्याको हिसाबले नेपालमा देखापरेको संक्रमणको दर समानुपातिक रुपमा कमी नभएको उहाँले स्पष्ट पार्नुभयो । नेपालको खानपिन र हावापानी वातावरणले कोरोना लाग्दैन भन्ने केही मानिसमा भ्रम देखा परेको सुन्नमा आउँछ त्यस्तो भ्रम र खेलवाडमा नलाग्न उहाँको आग्रह छ ।

तर पछिल्लो राजनीतिक गतिविधिले कोरोनाको संक्रमण बढ्न सक्ने खतरा त्यतिकै मात्रामा रहेको उहाँको आंकलन छ । राजनीतिक गतिविधि गर्ने मानिसलाई अधिकार रहे पनि त्योसँगै जनस्वास्थ्य मापदण्डका नियम पालना गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
दोस्रो खालको कारोनाको संक्रमण बेलायतमा देखापर्न थालेको जस्तै नेपालमा पनि देखापर्न सक्ने वा आयातित हुन सक्ने भएकाले सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ ।

भाइरस आफैँमा रुपान्तरित भएर नयाँ रुपमा आउने भएकाले नेपालमै पनि उत्पन्न हुनसक्ने खतरा त्यत्तिकै मात्रामा रहेकाले चनाखो हुन आवश्यक रहेको उहाँको भनाइ छ । केही महिनामा खोप आउँछ, कोरोनाबाट मुक्त भइन्छ भन्ने खालका विश्वासमा बेवास्ता गर्नु नहुने उहाँले सुझाव दिनुभयो ।

कोरोनाको खोप लगाएका देशले पनि जनस्वास्थ्य मापदण्ड अझ कडाईका साथ पालना गरेको अवस्थामा नेपालीले त्यति सहज रुपमा लिन नहुनेमा उहाँको भनाइ छ । खोप आइहाले पनि खोपका कारण संक्रमण रोकिन्छ भन्ने प्रत्याभूत नरहेकाले सावधानी नै पहिलो कुरा रहेको उहाँ बताउनुहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व-प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. जीडी ठाकुर पनि कोरोना संक्रमणबाट बच्ने सावधानी अपनाउन लापरवाही गरे जुनसुकै बेला द्रुतगतिमा संक्रमण फैलन सक्ने खतरा रहेको उहाँ बताउनुहुन्छ । हालको अवस्थालाई हेर्ने हो भने नागरिकले कोरोनामुक्त भयो भने जसरी गतिविधि गरेकोमा यसले चिन्ताको विषय भएको उहाँ बताउनुहुन्छ ।

कोरोनाको पीडा कोरोना लागेको व्यक्ति र परिवारलाई थाहा हुने भन्दै खेलवाड गरे भयावह अवस्था आउनसक्ने उहाँको भनाइ छ । कोरोना लक्षण देखिएन भन्दैमा कोरोना छैन भन्न नमिल्ने भन्दै कतिपयलाई लक्षणविना पनि कोरोना संक्रमण देखिएकाे उहाँले स्पष्ट पार्नुभयो ।

‘कोरोना छ भन्दैमा सबैलाई ज्वरो रुघाखोकी लाग्छ नै भन्ने छैन, नागरिकहरु व्यावहारिक रुपमा जिम्मेवारी बन्ने बेला आएको छ ।’ राजनीतिक गतिविधि गर्न पाउने सबैको अधिकार भए पनि जनस्वास्थ्य मापदण्ड अपनाउन जरुरी रहेको डा. ठाकुर बताउनुहुन्छ ।
दोस्रो प्रकारको भाइरस पहिलाको भन्दा अलि असर गर्ने र छिटो फैलिने खालको रहेको सरुवा रोग विशेषज्ञ डा. ठाकुर बताउनुहुन्छ ।

विदेशबाट आउने मानिसलाई अनिवार्य कडाइका साथ क्वारेन्टाइनमा बस्ने व्यवस्थालगायत नेपाल भारतको खुला सीमानाबाट आउनेको हकमा पनि निगरानीका साथ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन आम मानिसले आफ्ना दैनिकी गतिविधि गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुहुन्छ ।

सधैँ मानिस कोरोना मात्रै भनेर बसेर मात्रै जीवन नचल्ने भएकाले संक्रमणबाट जोगिन सावधानीका उपायमा भने गम्भीर भएर लाग्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । मानिसहरुमा जुन किसिमको कोरोना हट्यो भन्ने जसरी गरेर भिडभाडमा जाँदा पनि मास्क, सेनिटाइजरको प्रयोग नगर्ने गरिएको छ, त्यो गलत भएको उहाँ बताउनुहुन्छ । सबै मिलेर सावधानीका साथ आफ्ना गतिविधि गरेमा परिवार, समाज, देशलाई नै कोरोना संक्रमणबाट बचाउन सकिनेमा उहाँको ठहर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप