logo
२०८१ बैशाख ११ मंगलवार



बिहे भोजको खर्च अपाङ्गता भएका बालबालिकालाई सहयोग

पढ्नै पर्ने |
समाज |


बिहे भोजको खर्च अपाङ्गता भएका बालबालिकालाई सहयोग



ज्ञानु पंगेनी
कावासोती, मंसिर १७ गते । कावासोतीका एक नवदम्पतीले बिहे भोजमा खर्च हुने रकमले अपाङ्गता भएकालाई खाद्यान्न सहयोग गरेका छन् । मंसिर १६ गते विवाह गर्नुभएका नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिका १३ रुदौलीका चिरञ्जीवी पौडेल र अनु सुवेदीले बिहेपछि गर्ने भोजभतेर नगरेर अपाङ्गता भएकालाई सहयोग गर्नुभएको हो । बुधबार एक कार्यक्रमका बीच नवदम्पतीका परिवारको सहभागितामा कावासोती ८ मा रहेको मौलाकालीका अपाङ्गता सेवा संस्थालाई चामल, दाल, तेल, आलु, कोदोको पिठो, हरियो तरकारी, टिमुर, जिम्मु भटमासलगायतका अर्गानिक खाद्यान्न हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समयमा विवाहमा हुने तडकभडकका कारण सामान्य र निम्नवर्गका परिवारलाई समस्या परिरहेको बताउनुभयो । ऋण काढेर अरुलाई देखाउनका लागि ठूल्ठूला भोजभतेर गर्ने परम्पराका कारण समाजमा विकृति बढिरहेकाले त्यस्तो विकृतिलाई निरुत्साहित गर्न आफूले यसरी भोजभतेरको खर्च रोकेर अशक्तलाई आफ्नो क्षमताले सहयोग गरेको बताउनुभयो । समाज र सामाजिक सञ्जालमा देखाउनकै लागि अहिले अनावश्यक रुपमा तडकभडक गर्ने प्रचलन बढेको भन्दै उहाँले यस्ता विकृतिको अन्त्य गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताउनुभयो । समाजमा केही सकारात्मक सन्देश दिनका लागि पनि आफूले परिवारसँग सल्लाह गरेर सहयोग गरेको उहाँले बताउनुभयो ।

आफूले अर्गानिक उत्पादनको बिक्री वितरण गर्दै आएकाले पूर्णरुपमा अर्गानिक खाद्यान्न सहयोग गरेको उहाँको भनाइ थियो । स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले स्थानीय जातका विभिन्न खाद्यान्न सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रश सोसाइटी कावासोती उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले नवदम्पत्तीले गरेको काम सरा¥हनीय रहेको बताउनुभयो । अहिलेका अधिकाशं युवा पुस्ताहरु मोजमस्तीमा रमाउन रुचाउने देखेको भन्दै उहाँले युवा भएर पनि पौडेल दम्पतीले गरेको सामाजिक काम अन्यका लागि उदाहरणीय रहेको बताउनुभयो । संस्थामा अहिले १५ जना अपाङ्गता भएका बालबालिका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?