logo
२०८१ बैशाख ७ शुक्रवार



गाईलाई दाना खुवाउँदै , जन्मदिन मनाउँदै

पढ्नै पर्ने |
खुला |
समाज |


गाईलाई दाना खुवाउँदै , जन्मदिन मनाउँदै
गाईसँग जन्मदिन मनाउन गौमाता संरक्षण केन्द्रमा पुग्नुभएकी जमुना जोशी । सेतो कोट रातो सुईटरमा तस्विर –अमरराज नहर्की


अमरराज नहकी
तनहुँ, मङ्सिर १३ गते । तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रमा गएर जन्मदिन मनाउनेहरु बढ्न थालेका छन् । जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई दाना खुवाउँदै जन्मदिन मनाउने बढेसँगै गाईको पालनपोषणमा मद्दत पुगेको छ । पहिला महिनामा एक जना आउने गरेकोमा हाल दुईदेखि तीन जना आउन थालेको केन्द्रले जनाएको छ ।
शनिबार एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशी आफ्नो जन्म दिन मनाउन विहानै केन्द्रमा पुग्नुभयो । गाईलाई पूजा गर्नु भयो र दाना खुवाउनुभयो । सामाजिक कामप्रति इच्छा भएको र गाई भगवानको रुप भएकोले जन्मदिन मनाउन संरक्षण केन्द्रमा आएको जानकारी जमुनाले दिनुभयो । क्लबका टोलीसहित ४ बोरा दाना र एक बोरा नुन बोकेर पुग्नुभएकी जोशी गाईसँग जन्मदिन मनाउन पाउँदा आनन्दित हुनुभएको थियो । ‘ बेलैमा ध्यान नदिने हो भने रैथाने गाई लोप भएर जाने अवस्था छ ।

समाजमा सकारात्मक सन्देश पनि जाने भएकोले गाईको साथमा जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ’ जमुनाले भन्नुभयो । जमुना जस्तै जन्मदिन मनाउन केन्द्रमा केन्द्रमा पुग्नेहरु बढी छन् । फजुल खर्च गर्नुभन्दा गाईलाई दाना खुवाउन उचित लागेर आफ्नो छोराको जन्मदिन केन्द्रमा गएर मनाएको लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले बताउनुभयो । केही दिन पहिला जन्मदिन मनाउनु भएका गायक ढुङ्गानाले छोरा खुसी भएकाले आगामी वर्ष पनि त्यसरी मनाउने सोचाई रहेको जानकारी दिनुभयो । ‘धर्म, सस्कृति प्रति रुचि बढ्नुका साथै समाजिक भावाना विकास गर्न मद्धत पु¥याउन गौमातालाई दाना, घाँस खुवाएर मनाएको हुँ ’ गायक ढुङ्गानाले भन्नुभयो ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भइरहेको र जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउने गरेकोले केही राहत मिलेको गौमाता केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो । यो वर्ष जन्मदिन मनाउनेहरुबाट ४५ बोरा दाना र पाँच बोरा नुन प्राप्त भएको उहाँले बताउनुभयो । सापकोटका अनुसार हाल सुख्यायाम भएकोले घाँसको अभावले पाल्न कठिन भएको छ । ‘खर्च अभावले जति गाईको सम्भार गर्नु पर्ने हो त्यही गर्न सकिएको छैन’ सापकोटाले भन्नुभयो । गतवर्ष व्यास नगरपालिकाले पराल खरिद गर्नको लागि दुई लाख रुपियाँ दिएको र यस वर्ष एक लाख रुपियाँ प्राप्त भईसकेको जानकारी उहाँले दिनुभयो । ‘राम्रोसँग खुवाउने हो भने दैनिक २० भारी पराल चाहिन्छ दाना र घाँससमेत गरेर वार्षिक रुपमा २० लाख खर्च हुन्छ ’अध्यक्ष सापकोटाले भन्नुभयो । दुई वर्ष अघि उक्त स्थानमा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको पाँच लाख रुपियाँको आर्थिक सहयोगमा गाईको आवासको लागि टहरो निर्माण गरिएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँ सहयोग गरेको तारबार गरिएको वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । केन्द्रमा हाल ४५ वटा गाई रहेका छन् । केन्द्र सञ्चालनको लागि करीव ३०० रोपनी सार्वजानिक जग्गा भएको वडा अध्यक्ष सापकोटा बताउनुहुन्छ । आम्दानी कम भएकोले कृषकले स्थानीय गाईलाई छाडा छाडिदिने र उन्नत जातका गाईहरु पाल्न थालेकोले रैथाने गाई सङ्कटमा पर्न थालेपछि संरक्षण गर्न केन्द्र स्थापना गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?