logo
२०८० चैत्र १६ शुक्रवार



सीमासम्बन्धी समस्या दुईपक्षीय सहमतिमा टुङ्ग्याउन दुई देश सहमत

राष्ट्रिय |


सीमासम्बन्धी समस्या दुईपक्षीय सहमतिमा टुङ्ग्याउन दुई देश सहमत
तस्विरः शेखर चौलागाई



गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १२ गते । नेपाल–भारतले आफ्नो सीमासम्बन्धी विषयमा आवश्यक परामर्श गरी समस्या समाधान गर्ने सहमति जनाउनुभएको छ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेतृत्वको भारतीय प्रतिनिधि टोलीसँग भएको छलफलमा सो सहमति जनाउनुभएको हो ।

सीमामा व्यापार र बाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरुको सक्रिय कार्यान्वयनको सुनिश्चित गर्न भारतीय सरकारले खेलेको भूमिकाको नेपाल सरकारले प्रशंसा गरेको छ । नेपालस्थित भारतीय राजदूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुवै परराष्ट्र सचिवले सीमासम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमासम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे आफ्ना विचारहरु साटासाट गर्नुभयो ।”

उच्चस्तरीय दुईपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशबीचको परम्परागत रुपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन दुवै देश सहमत भएको दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । छलफलमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ, मैत्रीपूर्ण र मजबुत बनाउन दुवै देशका नेतृत्व सहमत हुनुभएको छ ।

विदेश सचिव श्रृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ, दुई देशबीचको सम्बन्धमा गति दिन जनता–जनताबीचको सम्बन्ध बढाउने विषयमा छलफल भएको छ ।

भेटकाक्रममा विदेश सचिव श्रृङ्गलाले राष्ट्रपति तथा प्रधानमन्त्रीको सन्देश सुनाउनुभएको थियो । नेपाल–भारतको आपसी हितका लागि सारतभूत एवम् रणनैतिक दुईपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको चर्चा गर्नुभएको नेपालस्थित भारतीय राजदूताबासद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?