logo
२०८० चैत्र ६ मंगलवार



बाँकेका किसानलाई धान बिक्री गर्न भ्याईनभ्याई (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |


बाँकेका किसानलाई धान बिक्री गर्न भ्याईनभ्याई (फोटो फिचर)


सिराज खान
नेपालगञ्ज, मङ्सिर १२ गते । बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न सुरु गरेपछि अहिले कम्पनीको कार्यालयमा धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ ।
कम्पनीले सरकारले तोकेको मूल्यमा धान खरिद गरिरहेकोले धान बिक्री गर्न जिल्लाभरिका किसानहरु त्यहाँ पुगिरहेका छन् । कम्पनीले ४० हजार क्विन्टल मात्रै धान खरिद गर्ने कोटा निर्धारण गरेपछि किसानलाई धान बिक्री गर्न भ्याईनभ्याई भएको किसानहरुले जनाएका छन् ।
कोभिड १९ का कारण व्यवस्थित तरिकाले धान खरिदका लागि यस वर्ष पहिले नै किसानलाई टोकन वितरण गरेर धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख निर्मल थापाले बताउनुभयो ।
उहाँले कम्पनीले धान खरिद सुरु गरेसँगै धान बिक्रीका लागि कार्यालयमा आउनेहरुको घुईंचो लागेको बताउनुभयो । एक जना किसानलाई एक पटकमा ५० क्विन्टलको मात्र टोकन दिइएको पनि कम्पनीले जनाएको छ ।
मङ्सिर ७ गतेदेखि धान खरिद शुरु गरिएकोमा चार दिनकै अवधिमा निर्धारित कोटा ४० हजार क्विन्टल धानको टोकन वितरण भइसकेको नेपालगञ्ज कार्यालयका प्रमुख थापाले बताउनुभयो ।
यस वर्ष उत्पादन राम्रो भएकोले अझ ैपनि धेरै किसानहरु धान बिक्रीका लागि आइरहेको हुँदा कोटा थप गर्न केन्द्रलाई आग्रह गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ ।
कम्पनीले सरकारले तोकेको मूल्य मोटा धान दुई हजार ७३५ र मध्यम धान दुई हजार ८८५ रुपियाँ क्विन्टलमा खरिद गरिरहेको छ । धान खरिद गर्नका लागि कम्पनीले शनिबारबाहेक हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय छुट्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?