logo
२०८० चैत्र ६ मंगलवार



गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

फिचर |
पढ्नै पर्ने |


गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने
सांकेतिक तस्बिर


काठमाडौँ, मङ्सिर १२ गते । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो ।

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा उहाँहरुबीच छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला,
ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थल नजिकको खाली रहेको जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई उपलब्ध गराउने झण्डै रु १८ अर्बमध्ये झापामा पाँच, बुटवलमा सात, पोखरामा चार र चनौटामा आठ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढिसकेको बताइएको छ । तीमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना अगाडि सारिएको मन्त्री पुनले जानकारी दिनुभयो ।


सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्ताव गरेको छ ।

बैठकमा ऊर्जामन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको बताउनुभयो । उहाँले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन पनि दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तरराष्ट्रियरुपमा समेत राम्रो सन्देश जाने र उत्तम प्रयास हुने बताउनुभयो । मन्त्री भट्टराईले विमानस्थलको निर्माण अन्तिम चरणमा रहेको भन्दै सोलार प्लान्ट स्थापनापछि यो नमूना बन्ने बताउनुभयो ।

कोरोनाका कारण चिनियाँ कामदार आउन नसक्दा केही प्राविधिक काम भने अगाडि बढ्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?