logo
२०८० चैत्र ६ मंगलवार



कोरोनाले हल बन्द, युट्युबमा प्रशंसा बटुल्दै चलचित्र

पढ्नै पर्ने |


कोरोनाले हल बन्द, युट्युबमा प्रशंसा बटुल्दै चलचित्र


यलु जोशी
काठमाडौँ, मङ्सिर १२ गते । नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान नपाएपछि युट्युब तथा अन्य डिजिटल माध्यममा मनोरञ्जन लिइरहेका छन् । कोरोना भाइरस सङक्रमण (कोभिड १९) का कारण गत आठ महिनादेखि हलहरु बन्द भएपछि दर्शकले युट्युबमार्फत विभिन्न नेपाली चलचित्र हेरिरहेका छन् । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भन्नुभयो, ‘हल बन्द भएपछि दर्शकले घरमा नै बसेर चलचित्र हेर्नु स्वाभाविक हो ।’
‘अहिले समय बाहिर भिडभाड गर्ने पनि होइन । त्यसैले चलचित्रहरु युट्युबमा हेर्नुको विकल्प पनि छैन ।’ उहाँले थप्नुभयो । अधिकारीले हलमा असफल भएको चलचित्रले पनि युट्युबमा धेरै दर्शकको प्रशंसा बटुलेको बताउनुभयो ।
चलचित्र निर्माता किरण नेपाली अहिले युट्युबमा चलचित्र प्रदर्शन गर्नको लागि उत्तम समय भएको जानकारी दिनुभयो । उहाँले बन्दाबन्दीको समयमा दर्शकलाई मनोरञ्जन दिनको लािग युट्युबमा राखिएको बताउँदै अहिले सबै फुर्सदमा भएकाले चलचित्रको भ्युज राम्रो जाने लोभमा पनि चलचित्र हालेको बताउनुभयो ।
अहिले प्रर्दशन भएका धेरै चलचित्रले राम्रो भ्युज पाउनुको साथै प्रतिक्रिया पनि राम्रो रहेको उहाँको अनुभव छ । ‘पोई प-यो काले’, पासवर्ड, यात्रा, वीरविक्रम २, क्यापटेन लगायत चलचित्रले युट्युब ट्रेण्डिङको शीर्ष स्थान ओगट्न सफल भएको थियो । अहिले यी चलचित्र युट्युबको ट्रेण्डिङबाट हटे पनि चलचित्रको भ्युज बढ्ने क्रम रोकिएको छैन ।

नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ दश दिनभन्दा बढी समय युट्युब ट्रेन्डिङको १ नम्बर स्थानमा रह्यो । सार्वजनिक भएको १९ दिनमै चलचित्रले एक करोड भ्यूज पाएको थियो । अहिले पनि यो चलचित्र युट्युबको १० नम्बर ट्रेन्डिङमा छ । यसैगरी हलमा दर्शकको मन जित्न नसकेको चलचित्र सेल्फि किङ पनि युट्युबमा प्रदर्शन भएपछि ट्रेन्डिङमा रहेको थियो । नायक विपिन कार्कीको अभिनयले निकै प्रशंसाका कमेन्टहरु प्राप्त गरेको छ ।

निर्माता किरण नेपाली चलचित्रको भ्युज र प्रतिक्रियाबाट दङ्ग हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘चलचित्रको भ्युज छोटो समयमा नै झण्डै करोड नजिक पुगेको छ । हलमा असफल भएको चलचित्र ‘साइँली’ युट्युबको सातौँ नम्बर ट्रेन्डिङमा छ ।’ दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रलाई दुई सातामा ४१ लाख  भ्यूज मिलेको छ ।

सार्वजनिक भएको पाँच दिनमै २१ लाख भ्यूज बटुलेको चलचित्र ‘प्रसाद’ नेपालको युट्युब ट्रेन्डिङ नम्बर १ मा छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।
युट्युबमा सार्वजनिक भएको १३ दिनमा १४ लाख भ्यूज बटुलेको चलचित्र ‘कुम्भ करण’ युट्युबको २० नम्बर ट्रेन्डिङमा छ । चलचित्रलाई २० हजारभन्दा बढी लाइक प्राप्त भएको छ । भोलाराज सापकोटा, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको यो चलचित्रले पनि दर्शकको मन जितिरहेको छ । पछिल्लो समय सार्वजनिक भएका सबै नेपाली चलचित्रले युट्युबमा राम्रो वर्चस्व कायम गरेका छन् भने दर्शकको उल्लेख्य साथ पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?