logo
२०८० चैत्र १६ शुक्रवार



खोलामा काम गरेर जीवन चलाउने माझी समुदाय अब सामूहिक खेतीमा

खुला |
समाज |
पढ्नै पर्ने |


खोलामा काम गरेर जीवन चलाउने माझी समुदाय अब सामूहिक खेतीमा
काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० बाँसगेडीमा चक्लाबन्दी तथा सामुहिक खेती गरिने इन्द्रावती बगरमा रहेको माझी समुदायको खेत



केदार तिमल्सिना
बनेपा, मंसिर १० गते । खोलामा बालुवा झिक्ने कामबाट दैनिकी चलाउँदै आएका काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० बाँसगेडीका माझी समुदाय सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आल्ु सुपरजोन) काभ्रेमार्फत् सञ्चालित चक्लाबन्दी खेती प्रणालीमार्फत् उनीहरु सामूहिक खेती गर्न अग्रसर भएका हुन् । मङ्गलबार पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले बाँसगेडी माझी बगर चक्लाबन्दी तथा सामूहिक खेतीको शुभारम्भ गर्नुभएको छ ।
‘हामी माझी समुदाय छ महिना आफुसँग भएको खेतमा फलाएको अन्नले गुजारा चलाउँथ्यौँ, छ महिना खोलामा सावेल चलाएर गुजारा चलाउँदै आएका छौँ अब आर्थिक समृद्धितिर जानुपर्छ भनेर चक्लाबन्दी सामुहिक खेतीतर्फ अग्रसर भएका हौँ’ स्थानीय राजकुमार माझीले बताउनुभयो । उहाँले इन्द्रावती बगरमा रहेको माझी समुदायको २ सय रोपनी खेतमा सामूहिक रुपमा आलु उत्पादन गरिने बताउनुभयो । ‘हामी सामूहिक रुपमा खेती गछौँ, यसमा लाग्ने खर्च र आम्दानी र गर्नुपर्ने श्रमसमेत समान हिसाबले गछौँ’ राजकुमारले थप्नुभयो । उहाँले यसअघि विदेशबाट आएका साथीहरुसँग मिलेर सामुहिक तरकारी खेती लगायतका काम गर्न बैँकहरुमा ऋण लिन जाँदा ऋण नपाएको र अहिले आलु सुपरजोनले चक्लाबन्दी खेती गर्न प्रस्ताव गर्दा आफुहरु धेरै खुसी भएको बताउनुभयो ।
स्थानीय च्यामे माझीले चक्लाबन्दी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनले चक्लाबन्दी खेतीका लागि ७५ प्रतिशत रकम व्यहोर्ने बताउनुभयो । उहाँले खेतीका लागि स्ुरुमा गर्नुपर्ने खेत सम्याउने, जोत्ने र बीउहरु समेत परियोजनाले नै उपलब्ध गराउने बताउनुभयो । माझी समुदायले सामुहिक खेतीबाट उत्पादन गरेका कृषि उपजहरु स्थानीय चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाले लिमिटेडले बजारीकरण गर्ने भएको छ । ‘पहिला माझीहरु इन्द्रावती नदीमा ढुङुगाा तार्ने, इन्द्रावती खोलामा माछा मारेर घर परिवार, चाडवाड मान्ने गर्थे तर अहिले त्यो अवस्था छैन’ राजकुमारले थप्नुभयो–‘पहिला जस्तो अहिले छैन बालबच्चा पढाउनु प¥यो, घर खर्च चलाउनुपर्ने भएकोले आधुनिक तरिकाले यान्त्रिकरणको माध्यमबाट सामूहिक खेतीमा लागेका हौ’ ।
चक्लाबन्दी तथा सामुहिक खेती शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्र्रीय सदस्य बाँस्कोटाले नेपालीहरुको लागि आवश्यक पर्ने खाद्यान्नहरु नेपालमा नै उत्पादन भएको खण्डमा खाद्यान्न आपूर्ति गर्दा बाहिरी देशमा जाने रकम बच्ने र नेपाली किसान धनी बन्ने बताउनुभयो । उहाँले सहकारीको माध्यमबाट यान्त्रीकरणको प्रयोग गर्दै सामुहिक खेतीमा लाग्दा उत्पादन खर्च कम र उत्पादकत्व बढ्ने बताउनुभयो । बाँस्कोटाले माझी समुदायलाई सामुहिक खेतीका साथै बंगुर, माछापालन गरेर आर्थिक समृद्धितर्फ अघि बढ्न सुझाव समेत दिनुभयो ।
मङ्गलबार नै पूर्वमन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका वडा नम्बर २ मा पनि चक्लाबन्दी खेतीको उद्घाटन गर्नुभएको थियो । काभ्रेको पाँचखाल, मण्डनदेउपुर, बेथानचोक, नमोबुद्ध, बनेपा, धुलिखेललगायतका स्थानीय तहमा १६ सय रोपनी जमिनमा चक्लाबन्दी खेती हुने भएको हो । चक्लाबन्दी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइले ५० प्रतिशत अनुदान सहयोगसम्बन्धी स्थानीय तहको २५ प्रतिशत सहयोग उपलब्ध गराउनेछ भने खेती गर्ने सम्बन्धित किसान, सहकारी तथा फर्मले २५ प्रतिशत खर्च व्यहोर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?