logo
२०८१ बैशाख ७ शुक्रवार

  नेकपामा जारी विवादकाे समाधान के ?   



नेताहरूबीचको संवादहीनता नै पार्टी समस्याको जड हो

पढ्नै पर्ने |


नेताहरूबीचको संवादहीनता नै पार्टी समस्याको जड हो


लक्की चौधरी
काठमाडौँ, मङ्सिर ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले नेताहरूबीचको आपसी छलफल र संवादहीनता नै नेकपा समस्याको जड भएको बताउनुभएको छ । गोरखपत्र अनलाइनसँग शुक्रबार संक्षिप्त कुरा गर्नुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो ।

“नेकपाभित्र चार–चार जना नेताहरूले प्रधानमन्त्री र पार्टीको नेतृत्वको अनुभव सङ्गाल्नुभएको छ, उहाँहरूसँग अनुभवको भण्डार छ, तर एकापसमा संवाद र छलफल नहुनु नै समस्या उत्पन्न हुनुको कारण हो” नेता नेपालले भन्नुभयो । “मुलुक लोकतान्त्रिक व्यवस्थामा आएपछि पार्टीको काम र सरकारको काम पनि सोहीअनुसार चल्नुपर्छ भन्ने आम बुझाइ छ” भन्नुहुँदै नेता नेपालले कुरा गराइ र व्यवहारमा समानता आए समस्या उत्पन्न नहुने बताउनुभयो ।

“पार्टी विधानले गरेको व्यवस्थाअनुसार मात्र चल्ने हो भने समस्या रहँदैन, कुन कुन समयमा बैठक बस्ने, छलफल गर्ने कुरा विधानले निर्क्याैल गरे पनि त्यसअनुसार बैठक बस्न नसक्दा नेताहरूबीच आशङ्का उत्पन्न भइरहेको छ”, नेता नेपालले भन्नुभयो, “जति संवादहीनता कायम रहन्छ, पार्टीमा समस्या त्यति नै बल्झिँदै जान्छ, समस्या समाधानको उपाय नै संवाद र छलफल हो ।“

पार्टीले सरकार सञ्चालनमा सुझाव दिन सक्ने तर हस्तक्षेप गर्न नसक्ने भन्दै नेता नेपालले पार्टी पङ्क्तिमा छलफल हुनुले सरकारलाई नै सहयोग पुग्नु हो भन्नुभयो । “प्रधानमन्त्रीलाई सरकार सञ्चालन गर्नमा हस्तक्षेप गरिनु हुन्न तर उहाँले नेताहरूसँग परामर्श र छलफल गरेर सहयोग लिन सक्नुहुन्छ” नेता नेपालले भन्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनै जनासँग सरकार सञ्चालन गरेको अनुभव छ । उहाँहरूसँग परामर्श गर्दा प्रधानमन्त्रीज्यूलाई घाटा हुँदैन।” नेता नेपालले भन्नुभयो, “तीनै जना नेताहरूसँग पार्टी नेतृत्व गरेको अनुभव पनि छ । के गर्दा राम्रो हुन्छ, के गर्दा पार्टी र देशलाई हानी हुन्छ भन्ने कुरा उहाँहरूले पनि बुझ्नु हुन्छ, प्रधानमन्त्रीज्यूले परामर्श गर्दा राम्रै हुन्छ ।”

चैतमा एकता महाधिवेशन सम्भव छैन
नेकपा केन्द्रीय कमिटीको यसअघिको बैठकले एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको भएपनि सो अवधिमा एकता महाधिवेशन सम्भव नरहेको नेता नेपालले दाबी गर्नुभयो । “पार्टीका नेताहरूको घरझगडा र काम गराइ शैली हेर्दा छर्लङ्गै छ, चैतमा एकता महाधिवेशन हुँदैन” उहाँले भन्नुभयो ।

महाधिवेशनको तयारीका लागि नियमित र निर्धारित समयमा बैठक बस्नुपर्नेमा बैठक बस्न नसकेकाले तयारी नपुग्ने भन्नुहुँदै नेता नेपालले एकता महाधिवेशन एक वर्षपछि अर्को चैतमा जाने बताउनुभयो । पार्टीका नेतृत्व तहमा असमझदारी र झगडा चले पनि पार्टी तत्काल नफुट्ने दाबी गर्नुहुँदै नेता नेपालले घरझगडाले पार्टीको गरिमा र साङ्गठनिक काममा भने ठूलो बाधा पुग्ने बताउनुभयो ।

तत्कालीन नेकपा (एमाले) ले विधानमै ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकाश लिनुपर्ने व्यवस्था गरेको स्मरण गर्नुहुँदै नेता नेपालले बुधबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले राख्नुभएको प्रस्ताव व्यवहारमा कार्यान्वयन गर्न सके समय सान्दर्भिक हुने बताउनुभयो । बैठकमा महासचिव पौडेलले पहिलो पुस्ताका नेताले समस्या समाधान गर्न नसक्ने हो भने दोस्रो पुस्ताकालाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।

“तर त्यो प्रस्ताव राख्नका लागि मात्र राखिएकाले व्यवहारमा कार्यान्वयन हुँदैन, एकले अर्कालाई धम्क्याउनकै लागि प्रस्ताव आएको हो” नेता नेपालले भन्नुभयो, “युवा पुस्तालाई नेतृत्वमा सार्न सक्ने हो भने युवाको परीक्षण हुन्छ र नेतृत्वको विकास, हस्तान्तरणमा सघाउ पनि पुग्छ ।” आफू सुरुदेखि सो अभियानको वकालत गर्दै आएपनि कसैले नसुनेको नेता नेपालले गुनासो सुनाउनुभयो ।

आगामी १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुने प्रस्तावले धेरै समस्या समाधान गर्ने नगर्ने निर्क्याैल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रस्तावमा विषयवस्तु कुन किसिमले समेटिन्छन् त्यसले पनि बैठक सहजरुपले अगाडि बढ्ने नबढ्ने प्रष्ट हुने उहाँले बताउनुभयो । “यसैगरी नियमित बैठक र संवाद गर्नु नै पार्टी एकतालाई मजबुत तथा लोकतान्त्रिक बनाउने उपाय हो” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?