logo
२०८० चैत्र १६ शुक्रवार

ऊनी धागाेले फेरियो मदिरा बनाउने पेशा,सासु बुहारीको राम्रै कमाइ

अर्थ |
फोटो फिचर |


2020-11-20-26809


ज्ञानु पंगेनी
कावासोती, मङ्सिर ५ गते । कुनै समय बगुवनका महिलाहरु दिन घरेलु मदिरा बनाएर बित्थ्यो । बिहानैदेखि आगो बाल्ने दाउरादेखि आवश्यक सामग्री जोहो गर्दा फुर्सद नै हँुदैनथ्यो । बगुवनका घरैपिच्छे घरेलु मदिरा बन्थ्यो । मदिरा बनाएपछि स्थानीय बजारसम्म बेच्न लैजानु यहाँका महिलाहरुको दिनचर्या थियो ।
तर, अहिले परिवेश फेरिएको छ । बगुवनमा यसअघि देखिने दृश्य पनि फेरिएको छ । पहिले घरेलु मदिरा बनाउन व्यस्त हुने महिलाहरु अहिले चर्खामा धागो कात्न व्यस्त छन् । पहिले घरैपिच्छे मदिराका बहान (भाँडो) देखिने ठाउँमा अहिले चर्खा देखिन्छन् ।
विगतमा घरेलु मदिरा उत्पादन गरेर स्थानीय बजारमा पु¥याउनुहुन्थ्यो, यानीसरा खाम्चा पनि । तर अहिले उहाँको उद्यम फेरिएको छ । अहिले धागो कातेर भएको फाइदाले निकै हर्ष बढाएको बनाएको खाम्चाले बताउनुभयो ।
“रक्सी बनाउन दाउरा खोज्ने र बोकेर बजार जानुपर्ने दुःख हुन्थ्यो । प्रहरी र प्रशासनको डर पनि त्यस्तै,” खाम्चाले भन्नुभयो, “अहिले फुर्सदको समयमा धागो कात्ने काम गर्छाैँ । सासु–बुहारी मिलेर महिनाको १०–१२ हजार कमाइ भएको छ ।”
खाम्चाको श्रीमान मिस्त्री काम गर्नुहुन्छ, छोरा विदेश हुनुहुन्छ । सासु बुहारीले फुर्सदको समयमा धागो कात्नुहुन्छ । धागो कात्ने काम गरेर हुने आम्दानीले घर खर्च चलाउन सहज भएको खाम्चाले बताउनुभयो ।
नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका–१, बगुवनका महिलाहरु अहिले यानीसरा खाम्चाजस्तै ऊनीको धागो कात्न अभ्यस्त बन्दैछन् । बगुवनका १८१ घरमध्ये झण्डै १४१ घर परिवारले धागो कात्ने काम थालेका छन् । यी परिवारका महिलाहरुको फुर्सदको समय ऊनीको धागो कात्ने काममै बित्छ । जसबाट प्रत्येक परिवारले सरदर मासिक दश हजारदेखि १२ हजार रुपियाँ आम्दानी गर्ने गरेका छन् ।
धागो कात्नको लागि यस क्षेत्रका स्थानीयलाई काठमाडाँैका गार्मेन्ट कम्पनीहरुले ऊन उपलब्ध गराउँछन् । कम्पनीले ल्याइदिएको ऊनलाई चर्खामा कातेर धागो बनाउने काम यहाँका स्थानीय महिला गर्छन् । ऊनबाट धागो बनाएबापत कम्पनीले प्रतिकेजी १६० रुपियाँ दिने गरेको महिलाहरु बताउँछन् ।
एक परिवारले फुर्सदको समयमा दैनिक तीनदेखि पाँच किलोसम्म धागो कात्ने गरेको उनीहरु बताउँछन् । सुरुमा कम्पनीले जोखेर ऊन उपलब्ध गराउँछ । महिलाहरुले धागो बनाएपछि कम्पनीले धागो कातेको रकम उपलब्ध गराई धागो लैजाने गरेको छ ।
बगुवनकै मानु कुँवरलाई पनि धागो कात्ने कामबाट भएको आम्दानीले घर चलाउन निकै सजिलो भएको छ । ‘अरु काम गर्ने ठाउँ छैन, घरेलु रक्सी बनाउन छाड्यौँ, त्यसबाट कमाउने पैसा यसैबाट कमाएका छौँ ।’ कुँवरले भन्नुभयो ।
घरेलु मदिरा बनाउनभन्दा धागो कात्ने काम सजिलो रहेको उहाँले सुनाउनुभयो । तर, अझै यस्ता अन्य सहज खालका आयमुलक कामहरुसँग जोडिन पाए यहाँका महिलाहरुको आर्थिक अवस्था पनि सुध्रने कुँवरले बताउनुभयो । यसका लागि स्थानीय सरकारले पनि सीपमूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ ।