logo
२०८० चैत्र १६ शुक्रवार



ट्राफिक अनलाइन सेवा प्रभावकारी   

खुला |
समाज |


ट्राफिक अनलाइन सेवा प्रभावकारी   
तस्विर-फाइल


काठमाडौँ, कात्तिक १२ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।    
    
सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गत असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो । प्रमुख ढकालका अनुसार हराएको लाईसेन्स, विलबुक र अनुमितको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए । दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइनमार्फत एक हजार ३८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले विलवुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका माहशाखाले जनाएको छ ।    
    
त्यसमध्ये एक हजार ७१० जनालाई अनलाइनबाटै सिफारिस दिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकरी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७९० निवेदन फिर्ता गरिएको छ । महाशाखाले असोज १८ बाट हराएका सवारी साधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । अनलाइनबाट दुबै सेवा लिन महाशाखाको वेभसाइट ट्राफिक डट नेपालपुलिस डट जीओभी डट एनपी मा गएर अनलाइन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सनमा गएर आफ्नो समस्या अनुसारको निवेदन दिन सकिने छ ।    
     
उपत्यकामा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ । सोही अभियान अन्तरगत विगत नौ वर्षदेखि बिग्रिएर बसेको यहाँको २४ स्थानका ट्राफिक बत्ती सञ्चालनमा छ । यस्तै सर्भिलेन्स भेइकल्स, राडर गन, बे्रथलाइजरकोसमेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही चलाइएको महाशाखाले जनाएको छ । सिसी क्यामरालाई अधिकतम प्रयोग गर्दै कारवाही तिब्र पारिएको महाशाखाले जनाएको छ । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ ।    
    
महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । यस्तै दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको समेत उपयोग भइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?