logo
२०८० चैत्र १५ बिहीवार



दसैँ मनाउन गण्डकीका मुख्यमन्त्री जन्मगाउँमा, कुखुराको कलेजो र पित्त हेरेर यो वर्षको भविष्यवाणी गरियो

फिचर |
प्रदेश |


दसैँ मनाउन गण्डकीका मुख्यमन्त्री जन्मगाउँमा, कुखुराको कलेजो र पित्त हेरेर यो वर्षको भविष्यवाणी गरियो


बेलिना थापा
लमजुङ, कात्तिक ११ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दसैं मनाउन आफ्नो जन्मगाउँ पुग्नुभएको छ । लमजुङको क्व्होला सोंथर गाउँपालिका ९, गिलुङ टक्सारको घरमा श्रीमती कुमारीमुनी गुरुङसहित उहाँ दसैं मनाउन पुग्नुभएको हो । यसअघि पनि छोराछोरीलाई साथ लिएर आउने गरेका दम्पतीले यसबर्ष भने ल्याउनुभएन । मुख्यमन्त्री गुरुङले यसबर्ष टीका नलगाउने र नलगाइदिने भएकाले छोराछोरी नआएका हुन् । दसैंमा गाउँ जानुभएका मुख्यमन्त्री गुरुङले गाउँलेसंग भेटघाट गरी गाउँको समस्या र आवश्यकताबारे छलफल गर्नुभएको छ । उहाँले गाउँका बृद्धबृद्धादेखि साना बालबालिकासंग भलाकुसारी गर्नुभएको छ ।
महाअष्टमीका दिन गाउँ आउनुभएका उहाँले राती मौलाघरमा आयोजित कालरात्री पूजामा सहभागिता जनाउनुभएको थियो । भोलिपल्ट (नवमी) मौलाघरमा बलि दिएपछि आफ्नो घरमा बलि कार्यक्रम राख्नुभएका उहाँले कुलपूजा गर्नुभएको छ । नवमीको दिन बिहान घरघरमा बलि दिने प्रचलन मुख्यमन्त्री गुरुङको गाउँमा छ । तर, कालरात्रीको रात भीडभाडका साथ पूजापाठ हुने र नाचगान कार्यक्रम यसबर्ष कोरोना संक्रमण जोखिमका कारण उहाँ आफैंले बन्द गर्न लगाउनुभएको थियो ।
गुरुङ टक्सारगाउँमा यसबर्षको राम्रो नराम्रो समय हेर्न दुई वटा कुखुरा बलि दिएर गरिएको चैंदीपूजामा सहभागि हुनुभएको छ । गाउँकै चैंदी चौतारी नजिकै दोबाटोमा एउटा भाले र अर्को पोथी कुखुराको बलि दिएर कुखुराको पित्त र कलेजो हेरी यसबर्षको समयको भविश्यवाणी गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत सहभागी उक्त पूजामा गाउँले सवै भेला भएका थिए । पूजारी बिनासिंह गुरुङले पूजापाठ गर्नुभएको थियो । उहाँले गाउँको रीतिथिति र व्यवस्थापनलाई छोड्न नहुने बरु यसलाई परिस्कृत गर्दै लानुपर्नेमा जोड दिनुभएको थियो ।
जन्मगाउँ आउनुभएका उहाँले दुरी कायम गरी सौहार्दपूर्ण वातावरणमा दसैं मनाउन आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण जोखिमकाबीच चाडबाड मनाउनुपर्ने अवस्था रहेको र चाडबाडभन्दा ज्यान ठूलो भएकाले सुरक्षित र सुसंस्कारित तवरले दसैं मनाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो–‘ज्यान रहेमा दसैंपर्व अर्को बर्ष पनि आउँछ । पहिले ज्यानको माया गरौं र त्यसपछि चाडपर्व मनाऔं ।’ अहिले कोरोना संक्रमण जोखिम कायमै रहेकाले कोरोना संक्रमणबाट बच्न उहाँले आग्रह गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले कोरोना संक्रमित विरामीलाई निःशुल्क आइसोलेशनमा उपचार गराइरहेको समेत बताउनुभयो । प्रधानमन्त्रीसंगको भेटमा सरकारले यसअघि कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गर्ने निर्णयलाई यथावत राख्न अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘गण्डकी प्रदेशमा हामी कोरोना संक्रमित विरामीको निःशुल्क उपचार गरिरहेका छौं । केन्द्रीय सरकारलाई अनुरोध गरेका छौं ।’
मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित भएर आइसोलेशनमा भए पनि नआत्तिन अनुरोध गर्नुभयो । आइसोलेशनमा रहनुभएका कोरोना संक्रमितलाई कोरोना संक्रमणबाट मुक्त हुन प्रयास गर्नुपर्ने र यसमा सवैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले दसैंको समय गाउँमा सहरका मानिस गएकाले कोरोना संक्रमण जोखिम हुनसक्ने भन्दै दुरी कायम राख्न सवैलाई सुझाव दिनुभएको छ । नागरिकले दुरी कायम गरी कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सहयोग गरेमा गण्डकी प्रदेशबाट कोरोना संक्रमितको संख्यामा न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?