logo
२०८० चैत्र ६ मंगलवार



मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः जनस्वास्थ्य विशेषज्ञ डा. पाण्डे

पढ्नै पर्ने |


मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः जनस्वास्थ्य विशेषज्ञ डा. पाण्डे


काठमाडौँ, कात्तिक ६ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ ।
दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क खाेलेर खाना खाजा नखान पनि उहाँले सल्लाह दिनुभएको छ ।
अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।”
काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उहाँले भन्नुभयो, “घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ ।”
सरकारले के ग-यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलिन सम्भावना कम हुने देखिएको उहाँले अध्ययन गर्नुभएको छ । नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उहाँले उदाहरण दिनुभयो । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ ।”
काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलिनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घरबाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन् ।”
अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उहाँको जोड छ ।
चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिनुभएको थियो । विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए । पहिले ‘लकडाउन’ वा ‘सटडाउन’ गर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण र मास्कको प्रयोग बढाउनुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?